PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

कुनै बेला विश्वकै फोहोर शहर थियो न्यूयोर्क, अहिले कसरी हुन्छ दैनिक १२ हजार टन फोहोरको व्यवस्थापन?



पहिलोपोस्ट

कुनै बेला विश्वकै फोहोर शहर थियो न्यूयोर्क, अहिले कसरी हुन्छ दैनिक १२ हजार टन फोहोरको व्यवस्थापन?
Shabazz Stuart/ The New York Times

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अहिले राष्ट्रिय मुद्दा बनेको छ। स्थानीय निर्वाचनपछि काठमाडौं महानगरमा आएका नयाँ मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनलाई चासो दिएका छन्। अन्य स्थानीय तहले पनि फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा महानगर र शहरी विकास मन्त्रालयसँग सहकार्य गरिरहेको छ।

काठमाडौं जिल्लामा मात्र दैनिक १५ सय टन फोहोर जम्मा हुन्छ। ललतिपुर र भक्तपुरबाट पनि यही अनुपातमा फोहोर जम्मा हुन्छ।

दैनिक जम्मा हुने करिब ३ हजार टन भन्दा बढी फोहोर व्यवस्थापन अहिले चुनौतीको विषय बनेको छ। ल्यान्डफिल साइटमा मात्रै फोहोर फालेर यो समस्या समाधान नहुने र वैकल्पिक माध्यम खोज्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।

काठमाडौं मात्र होइन, विश्वका अधिकांश शहरमा फोहोर व्यवस्थापन चुनौतीको विषय हो। अमेरिकाको न्यूयोर्क शहर धेरै शानदार चीजहरूको लागि चिरपरिचित छ। तर, यो शहर यसको अन्तहीन फोहोरको थुप्रोको लागि पनि परिचित छ।

शहरका बासिन्दा र व्यवसायहरूबाट यहाँ हरेक वर्ष १४ मिलियन टन भन्दा बढी फोहोर उत्पादन हुन्छ। न्यूयोर्कको फोहोर संकलन संसारका अन्य कुनै पनि प्रणाली भन्दा विल्कुल फरक छ। यो शहरका कामदार र निजी कम्पनीहरूको एक शानदार ‘सिम्फोनी’ हो। र, यसको इतिहास महामारी, हड्ताल तथा वातावरणीय प्रभावको विवादसँग पनि जोडिएका छन्।

सन् २०१९ मा सरसफाइको काम अमेरिकामा सबैभन्दा खतरनाक कामको सूचीको पाँचौं नम्बरमा पर्थ्यो। धरैजसो दुर्घटनाहरु फोहोरको ढुवानी गर्ने क्रममा हुने गर्थ्यो। न्यूयोर्कको डिपार्टमेन्ट अफ स्यानिटेसन (सरसफाइ विभाग) अमेरिकाकै सबैभन्दा ठूलो पालिकास्तरको फोहोर व्यवस्थापन अपरेसन हो। यसमा ७ हजार भन्दा बढी सरसफाइ कर्मचारीहरू छन् भने यो अपरेसन १.७ बिलियन डलर वार्षिक बजेटबाट संचालन हुन्छ।

विभागसँग हरेक दिन १२ हजार टन फोहोर संकलन गर्न २१ सय वटा ट्रक छन्। हिमपात भएको बेलामा सडकबाट हिउँ सफा गर्ने जिम्मेवारी पनि विभागकै हो। जाडो याममा विभागले १० हजार किलोमिटर भन्दा बढी लम्बाइको सडक सफा गर्ने गर्छ। यो एक विशाल प्रणाली हो जसको निर्माण गर्न करिब तीन शताब्दी भन्दा बढी समय लागेको थियो।

डचहरूले पहिलो पटक स्थापना गरेको यो शहर सन् १६२४ मा न्यूयोर्क बनेको थियो। त्यतिबेला यहाँका बासिन्दाहरूले फोहोरलाई तल्लो म्यानहाट्टनको ‘कलेक्ट पोन्ड’ जस्तै नजिककै रहेका जलमार्गहरूमा फाल्ने गर्थे।

तर, म्यानहाट्टनको किनारमा जब धेरै मानिसहरू बसोबास गर्न थाले तब फोहोर थुप्रिँदै गयो। त्यसपछिको २०० वर्षमा शहरमा तीव्र रुपमा विकास हुँदै गयो र फोहोर व्यवस्थापनलाई पूर्ण रुपमा बेवास्ता गरियो। त्यसपछि मलेरिया, स्मलपक्स, दादुरा, टाइफाइड, हैजा र एल्लो फिभरको प्रकोपले हजारौँको ज्यान लियो।

सन् १८४० को दशकतिर अवस्था यति भयानक भइसकेको थियो कि किनारदेखि ६ माइल परबाटै शहरको गन्ध आउने पानीजहाजका चालकहरुले बताउँथे। त्यसबेला न्यूयोर्क संसारकै सबैभन्दा फोहोर शहर बनेको थियो। सन् १८५० मा यहाँको जनसंख्या ५ लाखले बढेको थियो। जुन सन् १८०० को भन्दा १० गुणा बढी थियो।

अन्ततः १८८१ मा न्यूयोर्कले सडक सफाईको लागि आधिकारिक रुपमा विभाग स्थापना गर्‍यो। त्यसकै देन स्वरुप अहिले न्यू योर्कमा विभागका गाडीहरु दैनिक सडकमा कुद्छन्।

कामदारहरुले शहरको चक्कर लगाएपछि फोहोरले भरिएका ट्रकहरु ट्रान्सफर स्टेशनमा जान्छन्। नजिकै ल्यान्डफिल साइट वा इन्सिनेरेटर नभएकाले स्टेशनबाट फोहोरलाई शहरबाहिर लगिन्छ।

ठूला कन्टेनरमा खाँदिएका फोहोरलाई जलमार्ग हुँदै न्यू जर्जी लगेर खसालिन्छ। त्यसपछि ति कन्टेनरहरुलाई रेलमा राखेर अन्तिम गन्तव्यतिर लगिन्छ।

त्यहाँ पुगेको फोहोरमध्ये एक तिहाइ इन्सिनेरेटर (फोहोरलाई जलाएर विद्युत निकाल्ने ठाउँ)मा पुग्छन् भने बाँकीलाई सेन्ट्रल न्यू योर्क स्टेट, पेन्सिलभेनिया, भर्जिनिया र साउथ क्यारोलिनाका ल्यान्डफिल साइटमा लगिन्छ। विभागसँग फोहोरको ढुवानी गर्नको लागि मात्रै ४३२ मिलियन डलर बजेट हुन्छ।

म्यानहाट्टनदेखि २० मिनेटको दुरीमा रहेको नेवार्क न्यू जर्जीस्थित ‘कोभान्टा’ कम्पनीले न्यू योर्कसहित नजिकेको एसेक्स काउन्टीको पनि फोहोर लिन्छ। ‘कोभान्टा’ले फोहोरलाई जलाएर विद्युत निकाल्ने गर्छ।

कम्पनीले हाल ७० मेघावाट विद्युत उत्पादन गरिरहेको छ। कसैलाई आवश्यक नभएको फोहोरलाई लिएर उसले सबैलाई आवश्यक हुने कुरामा परिवर्तन गरिरहेको छ। अर्को अर्थमा उसले फोहोरबाट मोहोर कमाइरहेको छ।

दिगोपनका लागि वकालत गर्ने एक समूह ‘इन्स्टिच्युट फर लोकल सेल्फ-रिलायन्स’का अनुसार इन्सिनेरेटरहरूले यसको वरपरका सीमान्तकृत समुदायहरूमा पर्यावरणीय मानव स्वास्थ्य जोखिमहरू खडा गरेको छ। इन्सिनेरेटरहरू कम आय भएका घरपरिवारको बसोबास नजिकै रहेको उसले बताएको छ।

यो इन्सिनेरेटर नेवार्कको ‘आइरनबाउन्ड’को लागि बोझ बनेको छ, जहाँ वातावरणीय न्यायको लागि लडाइँ गर्न दशकौँको विरोध र प्रदर्शनलाई प्रेरित गरेको छ। ति विरोध र प्रदर्शनहरु आजसम्म पनि जारी छन्। यही कारणले पनि न्यू योर्कले ‘वान एनवाइसी प्लान’अन्तर्गत शून्य फोहोर नीतिलाई आफ्नो लक्ष्य बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell