PahiloPost

Oct 1, 2024 | १५ असोज २०८१

एमाले प्रमुख सचेतक विशाल भट्टराईको आरोप : सरकारले खासामा आएको मल पनि काठमाडौं ल्याउन सकेन



पहिलोपोस्ट

एमाले प्रमुख सचेतक विशाल भट्टराईको आरोप : सरकारले खासामा आएको मल पनि काठमाडौं ल्याउन सकेन

काठमाडौं : नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले मल आपूर्तिको सवालमा सरकार बेखवर भएको आरोप लगाएका छन्। प्रतिनिधिसभामा आज अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न ‘स्थगन प्रस्ताव’ दर्ता गर्दै भट्टराईले अधिकांश सांसदले संसद्मा यसबारे कुरा उठाइरहँदा र संचारमाध्यममा आइरहँदा सरकार बेखवर भएको आरोप लगाएका हुन्।

देशभर मल अभाव हुँदा जनप्रतिनिधि हुनुको नाताले आफूहरु चुपचाप बस्न नमिल्ने बताउँदै उनले भने, ‘सरकारले यसवर्ष धान उत्पानमा ३० प्रतिशत बढाउने र आयात घटाउने भनेर नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। हामीले किसानलाई एक दाना पनि मल दिन नसकेको अवस्थामा के आधारमा उत्पादन बढाउँछौँ, के आधारमा आयात घट्छ? कहीँ कतै जवाफ सुन्न पाइदैन सरकारको।’

यत्रो ठूलो अभाव भएर जनता रोइरहेका भन्दै उनले उत्पादनमा गिरावट आउने घतराको घणटी बजिरहेको बताए। यस्तो अवस्थामा पनि सरकार मौनधारण गरेर बसिरहेको भट्टराईको आरोप छ।

‘सरकार मुकदर्शक भएर बसेको छ। हामीले सरकारको ध्यानाकर्षण गर्न खोज्यौँ आज मात्रै खवरदारी गरेका होइनौँ, धेरै भयो, तर पनि कहीँ कतै यसको जवाफ पाइएन,’ उनले भने।

‘सरकार भनेको जनतालाई राहत दिन बनेको हो, नत्र सरकार किन चाहियो र? सरकार हुनु र नहुनुको के अर्थ हुन्छ?’ उनले प्रश्न गरे।

मल कुन दिन आउँछ, कहिले किसानले पाउँछन् र कहाँबाट सरकारले ल्याउँछ यी सबै कुराको जवाफ आफूहरुले खोजेका उनले बताए।

उनले भने, ‘अहिले हामीलाई ४ लाख मेट्रिक टन मल चाहिनेमा हामीसँग कति मल छ भनेर सोध्दा ७ हजार मेट्रिक टन मात्रै छ रे। त्यो पनि कहाँ छ भन्दा नाकामा छ, किसानका घरघरमा पुग्ने गरी कुनै डिपोमा होइन।’

केही दिन पहिले कृषिमन्त्री मल खोज्न गएको आफूले सुनेको भन्दै उनले मन्त्री आउँदा मल पनि आउने आफूहरुले अपेक्षा गरेको बताए।

‘उहाँ आउँदा मल आउँछ भन्ने लाखेको थियो, ठूला ठूला कन्टेनरहरु मन्त्रीज्यूको गाडी पछाडि आएर किसानहरुले लाइन पनि लाग्नु नपर्ला, सजिलै गरी मल पाउनुहोला भनेर सोचेका थियौँ। तर, आज हामी के सुन्दै छौँ भने केही समय अघि खासासम्म आएको मल पनि त्यहाँबाट काठमाडौंसम्म पनि ल्याउन सकिएन रे।’

बेलामा मल ल्याउन नसक्नेले सरकार कस्तो हुन्छ भनेर देखाउन खोजिएको हो भन्दै उनले प्रश्न समेत गरे।

‘एक जना सांसदले भन्नुभाथ्यो सरकार कस्तो हुन्छ अब हामी देखाइदिन्छौँ भनेर’, उनले व्यङ्ग्य गर्दै भने, ‘सरकार कस्तो हुन्छ आज हामीले झलझली देख्न पाएका छौँ। सरकार कस्तो हुन्छ देखाइदिन्छौँ भन्ने माननियज्यूको अनुहार अलिअलि सम्झना भएजस्तो लाग्छ, तर आज उहाँ यहाँ देखिरहेको छैन। यस्ता यस्ता बेला उहाँ देखिनुपनि हुन्न।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell