PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

भारतीय भन्सार कार्यालयले सिस्टम अपडेट नगर्दा दुई दिनदेखि भारतमै रोकिए इन्धन बोकेका ट्यांकर



पहिलोपोस्ट

भारतीय भन्सार कार्यालयले सिस्टम अपडेट नगर्दा दुई दिनदेखि भारतमै रोकिए इन्धन बोकेका ट्यांकर

बुटवल : भारतीय भन्सार कार्यालयले समयमै सिस्टम अपडेट नगर्दा पेट्रोलियम पदार्थ बोकेर नेपाल आउने ट्यांकर शनिवारदेखि भारतमै रोकिएका छन्। भारतीय भन्सार कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्ने भने पनि समयमै नगर्दा नेपाल आउने पेट्रोलियम पदार्थको आयात रोकिएको नेपाल आयल निगमको भलवारी डिपोले जनाएको छ।

भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि नेपालका लागि ल्याइएको पेट्रोलियम पदार्थ सीमा पारीनै रोकिएको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीका प्रमुख नव बिनोद पोखरेलले जानकारी दिए।

‘भारतीय आयल कर्पोरेशनले एडी कोड राख्नु पर्छ, शुक्रवारदेखि लागू भएको नयाँ व्यवस्था अनुसार कर्पोरेशनले कोड राख्न ढिला भएको भन्ने जानकारी आएको छ,’ पोखरेलले भने।

अहिले नेपाल भारत सिमानामा ईन्धन बोकेका गाडीहरुको लाम लागेको छ। नेपालमा भारतीय आयल कम्पनी (आइओसी)मार्फत ईन्धन आउने गर्छ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले ट्यांकर शनिवारदेखि भारतमै रोकिएको भएपनि सोमवार बिहान मात्रै जानकारी पाएको बताए।

‘आइओसीको सिस्टममा केही परिवर्तन भएकोले आयात रोकिएको रहेछ। तत्काल इन्धन आयात सहज बनाउन समन्वय गरिरहेका छौँ,’ उनले भने।

भैरहवा भन्सार हुँदै दैनिक २०/३० वटा इन्धन बोकेका ट्यांकर नेपालमा आउँछन्। बेलहिया नाका हुँदै आउने इन्धन लोड भएका ७० वटा ट्यांकर सीमापारि नै रोकिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell