काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद झपट बहादुर रावलले संसद भित्रै विवादित अभिव्यक्ति दिएका छन्। प्रतिपक्षी दलका सांसदहरुले लिएर गएको माग पत्र मन्त्रीले च्यातेको भन्दै उनले मन्त्रीको मुख नै च्यात्ने भन्दै विवादित अभिव्यक्ति दिएका हुन्।
‘गठबन्धनका केही मन्त्री यस्ता छन, जो प्रतिपक्षका सांसदहरुले जनताको माग लिएर आफ्नो लेटरप्याडमा मन्त्रालयका पेश गरेका मागहरु यो प्रतिपक्षको हो भनेर, गैर जिम्मेवार भएर च्यात्ने काम गरिरहेका छन। त्यस्ता मन्त्रीहरुको म विस्तृत विवरण लिएर यही सदनमा भण्डाफोर गर्ने वाचा गर्छु,’ उनले भने, ‘यस्ता अराजक मन्त्रीलाई यहीबाट जनताको तर्फबाट चुनौती दिन चाहन्छु। खवरदार, हाम्रा लेटरप्याड च्यात्ने मन्त्रीहरु, जनताले तपाईका हात, तपाईको मुख च्यात्न नपरोस् भन्ने कुरा पनि यहीबाट म खवरदारी गर्न चाहन्छु।’
उनले मन्त्रीहरुको भण्डाफोर गर्ने भन्दै किसान मलको अभावमा छटपटाईरहेका बेला विदेश भ्रमणमा भएको भन्दै कृषिमन्त्री महिन्द्रराय यादवप्रति खेद व्यक्त गरेका थिए।
‘यतिबेला जनता सरकार खोजिरहेका छन। यो सरकार बनेको करिव एक वर्षभन्दा बढि हुन लागिसक्यो। सरकार कुम्भकर्णको निन्द्रामा छ। हामीले यही संसद भित्र पनि सम्बन्धित विभागीय मन्त्री धेरै दिन खोज्यौं। मन्त्रालयमा पनि गइयो। मन्त्रीजी किसानहरुको जल्दोबल्दो समस्यामा बेखवर हुनुहुन्छ। उहाँ विदेश सयरमा हुनुहुन्छ भन्ने कुरा मन्त्रालयबाटै सुन्यौं।’