PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई लिएर सत्तारुढ र विपक्षी सशंकित, माधव नेपालको प्रश्न : नेपालमा कुनकुन देशका सेना बसिरहेका छन् ?



पहिलोपोस्ट

प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई लिएर सत्तारुढ र विपक्षी सशंकित, माधव नेपालको प्रश्न : नेपालमा कुनकुन देशका सेना बसिरहेका छन् ?

काठमाडौं : अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ। सोमवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन्।

उनले समितिको बैठकमा परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफलको सुरुवात गरेको बताइन्। सभापति खरेलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण लगायतका विषयमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई समितिको बैठकको छलफलमा बोलाउने बताइन्।

उनले भनिन्, ‘आज हामीले अत्यन्तै गम्भीर छलफल गर्‍यौँ र केही विषय टुङ्गोमा पुग्न सकेको छैन। हाम्रो सुरुवात हो। परराष्ट्र नीति कार्यान्वयनको सन्दर्भमा बैठक सुरुवात गरेका छौँ। यो विषयमा सबै सदस्यहरुले स्पष्ट पार्नु भएको छ। आगामी दिनमा परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई निमन्त्रणा गर्ने भएका छौँ। समितिको बैठकमा बोलाएर समितिले व्यापक छलफल गर्नेछ।’

रावलको आरोपैआरोप

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठकमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेका थिए।

सो क्रममा प्रतिपक्षी एमालेका सांसद डा भीम रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबोरमा संसद्लाई जानकारी दिनु पर्ने बताए। उनले नेपालको असंग्लन र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिहरुले उल्लघंन गरेको आरोप समेत लगाए।

रावलले नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको प्रति आपत्ति जनाए। अमेरिकी जर्नेलले स्थलसेना भरपर्दो भन्नु स्थल समूहमा काम गर अथवा अमेरिकाले सञ्चालन गरेको राज्य साझेदारी कार्यक्रमको अंग भएको हो की भन्ने आंशका उत्पन्न भएको रावलले बताए।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री पनि छलफलको लागि आउनु पर्ने माग राखेका थिए। उनले प्रधानमन्त्रीको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नु गम्भीर रहेको बताए। रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाह लिन भारत गएको दाबी समेत गरे। उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा 'स्टेट पार्टनरसिप' कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी भइरहेको पनि आरोप लगाए।

प्रधानमन्त्री पत्नी आरजु अहिले स्टेट पार्टनरसिप कार्यक्रममा हस्ताक्षर परामर्शकै लागि भारत गएको रावलको दाबी थियो। रावलले अमेरिकी सेनाको युटा नेशनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसिप सम्झौताको तयारी हो भने निकै गम्भीर कुरा भएको भन्दै प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्ने बताएका थिए।

उनले अमेरिका भ्रमण र हस्ताक्षरका विषयमा समितिलाई परराष्ट्र मन्त्रीले जानकारी दिएर नहुने बताए। गठबन्धनका नेतालाई समेत थाहा नदिई अमेरिकी सेनाको युटा नेशनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसिप सम्झौताको तयारी गरेको बताए।

कहाँ छन् विदेशी सेना ?

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पनि प्रधानमन्त्री देउवाले अमेरिका भम्रणबारेमा संसद्, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताए। उनले भ्रमणमा देशलाई उचित हुने भन्दा बाहेक अन्य कुनै पनि गतिविधिहरु सरकारले गर्न नहुने बताए।

अध्यक्ष नेपालले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताए। उनले परराष्ट्र नीतिको विषयमा कुनैपनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने पनि बताए।

नेपालले सरकारका परराष्ट्रमन्त्री अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफलमा वर्तमान सरकारको अन्तर्राष्ट्रिय नीतिको विषयमा जानकारी गराउनु उपस्थिति जनाउनुपर्ने बताए। पहिलोपटक नेपालमा विदेशी सेना रहेको सुनेको पनि उनले बताए। नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे।

उनले भने, ‘विदेशी सेना नेपालमा छन्। मैले भर्खरै पहिलो चोटी सुनेँ। त्यो हो भने गम्भीर कुरा हो। कहाँ छन्। कुन-कुन देशका छन्। कुन क्याम्पमा राखिएको छ। त्यसमा बारेमा समितिको ध्यान जानुपर्छ। सरकारको ध्यानाकर्षण गराउनुपर्छ। हाम्रो वैदेशिक ऋण साहयता लिने कुराहरुमा धेरै त्रुटीहरु छन्। यसको पनि परिर्वतन गर्नपाए हुने थियो।’

ज्ञवालीले भने : देउवा कुन हैसियतले अमेरिका जाँदैछन् ? 

यसैगरी, एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको बताए। उनले वर्तमान गठबन्धन सरकार बन्दै गर्दा नेपाली जनताको हित र राष्ट्रको हितमा काम गर्ने भन्दा पनि अन्य देशको लागि कम्फर्टेबल बन्ने गरी अगाडि बढेको आरोप लगाए।

ज्ञवालीले सरकारले पछिल्लो समय केही निर्णयहरु 'कम्फर्टेबल' बन्ने किसिमले गरेको पनि बताए। उनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा गरेका गतिविधिको कारण नेपालको परराष्ट्र सम्बन्धमा विचलन आएको बताए। सरकारले सुरुमा नै चीनसँग कृत्रिम सीमा विवादको विषय निकालेर गल्ती गरेको बताए।

उनले भने, ‘अघिल्लो सरकारले सिङ्गो सदन एक भएर कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नक्शा पास गर्‍यो। यो सरकारले कुटनीतिक तहबाट पहल गरेर भोगचलनमा ल्याउनुपर्ने हो तर सरकार त्यो काम नगरेर विवाद नै नभएको चीनसँग सीमा समस्या देखाउने काम गर्‍यो। सरकारले अध्ययन पनि गर्‍यो तर सदनलाई जानकारी गराएको छैन।’

उपमहासचिव ज्ञवालीले सरकारले एउटा छिमेकी राष्ट्रलाई खुशी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको आरोप लगाए। ज्ञवालीले सरकारलाई विदेशी ऋण लिँदा नेपालको हित र राष्ट्रिय आवश्यकतालाई हेरेर लिन सुझाव दिए। उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण रक्षामन्त्री, कांग्रेसको सभापति वा गठबन्धनको प्रधानमन्त्री कुन हैसियतले हुन लागेको हो भन्ने जानकारी दिन माग गरे। 

त्यस्तै, बैठकमा सांसद शेख चाँदताराले सरकारले गरेका अन्तर्राष्ट्रिय गतिविधिको विषय देखेर दिक्क लागेको बताए। उनले प्रतिपक्ष दलका भीम रावल एकजना मात्रै राष्ट्रवादी भएर नहुने बताए।

सांसद चाँदताराले सत्तापक्ष तथा सबै सांसदहरुले बोल्नुपर्ने बेला आएको बताए। देशमा अन्तर्राष्ट्रिय मुलुकबाट प्रतिनिधिहरु आउने तर समितिलाई जानकारी नहुने, समितिका सांसदहरु तलव र भत्ता खानलाई मात्रै नभएको बताए। उनले पनि प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे समितिलाई लिखित रुपमा जानकारी दिन माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell