PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

सांसदहरुलाई कृषिमन्त्री यादवको जवाफ : असारको अन्तिम हप्तादेखि मल आउने सम्भावना छ



पहिलोपोस्ट

सांसदहरुलाई कृषिमन्त्री यादवको जवाफ : असारको अन्तिम हप्तादेखि मल आउने सम्भावना छ

काठमाडौं : कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उत्तारचढावका कारण समयमै मल ल्याउन नसकिएको बताएका छन्। सोमवारको प्रतिनिधिसभा बैठकमा संसद्को कार्यसूचीलाई स्थगन गरी किसानलाई मल उपलब्ध गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन्।

उनले नेपाली किसानलाई मल उपलब्ध गराउने विषय सबै राजनीतिक दलहरु समेतको साझा भएको बताए। उनले कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरेपनि समयमै ल्याउन नसकिएको बताए।

मन्त्री यादवले दुई लाख २२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामा नै रहेपनि समयमै आपूर्ति हुन नसक्दा बजारमा अभाव भएको जिकिर गरे। उनले समयमै मल आपूर्ति गर्ने ठेकेदारले मल ल्याउन नसकेकाले सरकारले ठेकेदारको ठेक्का रद्द गरी आवश्यक कारबाहीको प्रक्रियासमेत सुरु गरिएको बताए।

मन्त्री यालवले साल्ट ट्रेडिङ कम्पनीले ल्याएको २० हजार मेट्रिक टन डीएपी, २२ हजार मेट्रिक टन युरिया असारको अन्तिम हप्तादेखि प्राप्त हुने सम्भावना रहेको दाबी गरे। उनले जीटुजीको माध्यमबाट भारतबाट मल खरिद गर्नको लागि अहिले डेढ लाख मध्येमा ५० हजार मेट्रिक टन युरिया, ३० हजार मेट्रिक टन डिएपी असारको अन्तिमसम्म आउने दाबी गरे।

युरिया, डीएपी र पोटास मल किसानलाई सुलभ मूल्यमा उपलब्ध गराउन सरकारले १५ अर्ब अनुदान दिएको र थप मल आयात गर्न २ पटक गरी १२ अर्ब ७२ करोड रुपैयाँको श्रोत सुनिश्चितता गरेको बताए।

उनले भने, ‘मल खरिद गर्ने साल्ट ट्रेडिङ कम्पनीले २० हजार मेट्रिक टन डीएपी मल प्राप्त भएको छ। २२ हजार मेट्रिक टन युरिया असारको अन्तिम हप्तादेखि प्राप्त हुने सम्भवना छ। कृषि सामग्रीले ३० हजार मेट्रिक टन युरिया असारको दोस्रो हप्तादेखि प्राप्त हुनेछ। २० हजार मेट्रिक टन डीएपी असारको तेस्रो हप्तादेखि प्राप्त हुने सम्भवना छ।’

मन्त्री यादवले भारतसँग भएको जीटुजी प्रक्रिया पूरा गरेर असार मसान्तसम्म सरकारले मल उपलब्ध गराउने तयारीमा रहेको बताए। उनले नेपालमा नै मल उत्पादन गर्ने उद्योग स्थापनाको लागि  सरकारले अध्ययन गरिरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell