PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

माओवादी केन्द्रका नेता देव गुरुङले भने : नारायणकाजी श्रेष्ठ र केपी ओलीबिचको भेट स्वाभाविक



पहिलोपोस्ट

माओवादी केन्द्रका नेता देव गुरुङले भने : नारायणकाजी श्रेष्ठ र केपी ओलीबिचको भेट स्वाभाविक
फाइल फोटो।

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गरेका छन्। पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता गुरुङले पार्टी पदाधिकारीको चयन आवश्यकता अनुसार केन्द्रीय कमिटी बैठक बसेर उपयुक्त समयमा निर्णय लिने विषय भएको पनि बताए।

सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले पदाधिकारी नियुक्ती कहिले हुन्छ? भनि गरेको प्रश्नमा उनले आगामी असार १५ गते बस्ने बैठकले त्यसबारे आवश्यक निर्णय लिन सक्ने जवाफ दिएका थिए।

नेता गुरुङले भने, ‘पदाधिकारीको विषयमा पार्टीले आवश्यकता अनुसार केन्द्रीय कमिटीको बैठक बसेर उपयुक्त समयमा निर्णय गर्न सक्छ। अब असारको १५ गते केन्द्रीय कमिटीको बैठक बस्ने भनेर भनिएको छ। सम्भवतः त्यो बैठकमा पनि हुन सक्दछ।’

नेता गुरुङले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटलाई स्वाभाविकै रुपमा लिइएको प्रतिक्रिया दिए। उनले राष्ट्रिय स्वाधिनताको सवालमा निकट रहेको पार्टीसँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गरेर जान सकिने धारणा राखे।

विगतमा संसद् विघटन गरेर प्रतिगमनतिर एमाले गएकाले आफ्नो पार्टीले कांग्रेससँग सहकार्य गरेर स्थानीय तह निर्वाचनमा जानु परेको नेता गुरुङले दोहोर्‍याए।

‘एमाले अध्यक्ष ओली र नेता नारायणकाजीबिचको भेटघाट एउटै सदनमा, एउटै प्रक्रियामा रहेपछि नहुने प्रश्नै भएन। राष्ट्रिय स्वाधिनताको प्रश्नमा जोसँग विचार मिल्छ हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौँ। विगतमा एमालेले संसद् विघटन गरेर प्रतिगमनतिर गएकाले कांग्रेससँग सहकार्य गरेर स्थानी तह निर्वाचनमा जानु परेको हो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell