
वीरगंजः पर्सा बहुदरमाई नगरपालिका २ का राजेश रामको हत्यामा संलग्न भएको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार राजेशको हत्यामा उनकै भिनाजुको परिवार संलग्न भएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो।
पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालका अनुसार हत्यामा भिनाजुको परिवारका ५ जना सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका ६ का हिरामन महरा, रामबालक महरा, वसन्ती देवी, सुनिता देवी र रिङ्कु देवी रहेका छन्।
जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेठ २८ गते बिहान सवा ११ बजे जगरनाथपुर ६ स्थित नारा खोलाको खोल्सामा घोप्टो परेको र घाँटीमा गम्छाले कसिएको अवस्थामा राजेशको शव फेला परेको थियो। राजेश जेठ २४ गते दिदीको घर गएका थिए।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा घटनाको कारण यौनजन्य क्रियाकलाप जोडिएको छ। राजेश उक्त क्रियाकलापमा संलग्न भएको पाएपछि परिवारका सदस्यले कुटपिट समेत गरेको प्रहरीको भनाई छ।
मृतक राजेशको घाँटीमा बाँधिएको गम्छा समेत भिनाजु हिरामनकै पुष्टि भएको प्रहरीले जनाएको छ।