यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा समूह 'ए' को खेलमा क्रोएसियाले फ्रान्सलाई हराएको छ। स्टेड डी फ्रान्समा सम्पन्न खेलमा घरेलु टोलीमाथि क्रोएसियाले १-० गोलअन्तरको जित निकालेको हो।
क्रोएसियाको जितमा लुका मोड्रिचले निर्णायक गोल गरे। फ्रान्सका इब्राहिमा कोनटेले क्रोएसियाका एन्टे बुदिमिरलाई खेलको सुरुवातमै फउल गरेपछि क्रोएसियाले पेनाल्टीको अवसर पाएको थियो। जसलाई सदुपयोग गर्दै खेलको पाँचौ मिनेटमा मोड्रिचले गोल गरे। त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा उनको गोल नै क्रोएसियाको जितका लागि निर्णायक बन्यो।
समूह 'ए' कै अर्को खेलमा डेनमार्कले अस्ट्रियालाई २-० गोलअन्तरले हरायो। डेनमार्कको जितमा जोनास विन्ड र आन्द्रेस स्कोभ ओल्सेनले गोल गरे।
योसँगै ४ खेलबाट ९ अंक जोडेको डेनमार्क तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा ७ अंक जोडेको क्रोएसिया रहँदा अस्ट्रिया ४ अंक जोडेर तेस्रो स्थानमा छ। २ अंक जोडेको फ्रान्स भने तालिकाको पुछारमा छ।