PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

काठमाडौंमा १५ वटा नयाँ पोखरीहरु बनाउने योजना छ : मेयर बालेन्द्र साह



पहिलोपोस्ट

काठमाडौंमा १५ वटा नयाँ पोखरीहरु बनाउने योजना छ : मेयर बालेन्द्र साह

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंमा नयाँ पोखरीहरु बनाउने बताएका छन्। आज महानगरको कार्यालयमा नेवा: देय् दबू, काठमाडौं जिल्लाबाट प्रतिबद्धता पत्र बुझ्दै उनले १५ वटा नयाँ पोखरी बनाउने योजना बताएका हुन्।

‘निजी क्षेत्रसँग सहकार्य र खाली ठाउँहरुको सदुपयोग गरेर हामी काठमाडौंमा नयाँ पोखरीहरु बनाउँछौं। १५ वटा पोखरी बनाउने बारे हाम्रो योजना छ। धेरै भयो हाम्रो शहरमा नयाँ पोखरी नबनेको,’ उनले भने।

नेवा: देय् दबू, काठमाडौं जिल्लाकी अध्यक्ष शोभा महर्जनले महानगरसँग सहकार्य गरेर आफूहरु अघि बढ्न तयार रहेको बताएकी थिइन्। त्यसक्रममा उनले हेरिटेज वाक, पार्किङ, भित्री शहरमा सवारी व्यवस्थापन, सम्पदा र जात्रा संरक्षण लगायतका बुँदा समेटिएको प्रतिबद्धता पत्र प्रमुख साह र उपप्रमुख सुनिता डंगोललाई पेस गरेकी थिइन्।

त्यसक्रममा प्रमुख साहले प्रतिबद्धता पत्रमा समेटिएका सबै कुरा आफ्नो योजनामा रहेको भन्दै जात्राहरुलाई ‘कोर सिटी’मा मात्र सीमित नगर्ने र प्रचारप्रसार गर्ने बताएका थिए। उनले सम्पदा संरक्षण र प्रवर्द्धनमा महानगरको साथ निरन्तर जाने रहने प्रतिबद्धता समेत व्यक्त गरे। यस्तै, सुनधारा ब्युँताउन पनि महानगर लागि रहेको उनले बताए।

‘सुनधारामा टुंडिखेलबाट प्राकृतिकरुपमा पानी ल्याउने हामी योजना बनाउँदैछौं। अरु हितिहरु पनि ब्युँताउछौं,’ उनले भने।

उक्त कार्यक्रममा उपप्रमुख डंगोलले नेवा: देय् दबूले खोजेको प्रतिबद्धता अध्ययन गरेर सहकार्य गरेर अघि बढ्ने बताएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell