_(1).jpg)
काठमाडौं : आठ वर्षअघि १६ वर्षकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे विरुद्धको अनुसन्धान सकिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो।
सरकारी वकिल कार्यालयले रायसहितको प्रतिवेदन अध्ययन गरेर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गर्ने तयारी गरेको छ। कार्यालयले आज नै मुद्दा अदालत लिएर जाने तयारी गरिरहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका महान्यायाधिवक्ता गङ्गाप्रसाद पौडेलले जानकारी दिए।
‘आज नै दर्ता गर्ने तयारी भएको छ। समय नमिलेको खण्डमा भोलि दर्ता गर्ने छौँ,’ महान्यायाधिवक्ता पौडेलले भने।
सौन्दर्य प्रतियोगिताको नाममा सक्सेस पार्टी भनेर होटेलमा बोलाएर बेहोस बनाउँदै अभियुक्तले बलात्कार गरेको आरोप उनीमाथि लागेपछि पाण्डे जेठ ७ गते पक्राउ गरेका थिए। नेपाल प्रहरीको अनुसन्धान महाशाखाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो।
टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एक जना युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि त्यसमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो। २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेशनल नामक ब्युटी प्याजेन्टका क्रममा होटेलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विभिन्न तहका मानिसले कारबाही गर्न दबाब दिएका छन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
आठ वर्ष अगाडिको घटना भएकाले हदम्याद लाग्ने भएपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा म्याद थप गरी अनुसन्धान गरेको थियो। अर्की एक जना किशोरीले पनि पाण्डेविरुद्ध उजुरी दिएकाले प्रहरीले बाल यौन शोषणविरुद्ध पनि अनुसन्धान गरेको थियो। सरकारी वकिल कार्यालयका अनुसार अदालतमा मानव बेचबिखन मुद्दामा नै केस दर्ता गर्ने भएको हो।