PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

मल आउनै बाँकी छ, झापामा सुरु भइसक्यो रोपाइँ



रासस

मल आउनै बाँकी छ, झापामा सुरु भइसक्यो रोपाइँ
फाइल फोटो।

झापा : मनसुन सक्रिय भएसँगै झापामा धान रोपाइँ सुरु भएको छ। रोपाइँसँगै किसानलाई चाहिने डीएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्ट ड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ।

कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डीएपी मल विराटनगरबाट आउने बताए। उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश नम्बर १ को कृषि मन्त्रालयले नै प्रमाणित गरेर सो मात्रामा विर्तामोड कार्यालयलाई मल पठाउने पत्रचार गरेको जानकारी दिए।

उनले भने, ‘यही हप्ताभित्रमा आउँदैछ।’

उनले झापाका लागि ८५०, इलामलाई १००, पाँचथरमा ७० र ताप्लेजुङका लागि ३० मेट्रिक टन मल आउने जानकारी दिए। प्रमुख भट्टराईले कार्यालयमा आएको मललाई कुन पालिकामा कति र कसरी पठाउने भन्नेबारे कृषि ज्ञान केन्द्रसँगको परामर्शमा वितरण गरिने बताए। १५ वटा पालिका रहेको झापामा भने एउटा पालिका बराबर एक हजार १३० बोरा मल मात्र भागमा पर्ने उनको भनाइ छ।

झापामा कृषियोग्य जमिनमध्ये ८८ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती हुँदै आएको छ। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले हाल जिल्लामा नौ हजार मेट्रिक टन डीएपी मल आवश्यक रहेको बताए।

उनले भने, ‘रोपाइँ सुरु भइसक्यो, यही बेला किसानलाई डीएपी मल चाहिएको छ। झापाका लागि तोकिएको मात्राले त एउटा पालिकालाई पनि पुग्दैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell