PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सडकमै किताब पढेर त्रिचन्द्रका विद्यार्थीले सोधे : प्रधानमन्त्री पढेको कलेज पुनर्निर्माण कहिले हुन्छ?

सडकमै किताब पढेर त्रिचन्द्रका विद्यार्थीले सोधे : प्रधानमन्त्री पढेको कलेज पुनर्निर्माण कहिले हुन्छ?

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : घण्टाघर रहेको त्रिचन्द्र कलेजको भवन परिसरको संरक्षण र जीर्णोद्वारको माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्। सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको हो।

२०७२ सालको भूकम्पपछि जीर्ण बनेको उक्त खण्ड पुनर्निर्माणमा सरोकारवालाले कुनै ध्यान नदिएको भन्दै विद्यार्थीहरुले पटकपटक आवाज उठाइरहेका छन्। विद्यार्थीहरुले त्रिचन्द्र कलेजमा कक्षा कोठाको अभाव भएको समेत बताएका छन्। उक्त भवन संचालमा रहँदा त्यहाँ २ हजार देखि ४ हजार सम्म विद्यार्थी पढ्ने गर्थे। उनीहरुले अस्थायी कक्षा कोठाको व्यवस्थाको माग समेत गरेका छन्।

नेविसंघले तत्काल उक्त भवन खण्डको पुननिर्माणको काम सुरु गर्नुपर्ने माग गरेको छ। हाल त्रिचन्द्र पुनर्निर्माणको काम शिक्षा मन्त्रालयको जिम्मेवारीमा भए पनि काम नै सुरु नभएको भन्दै विद्यार्थीले आक्रोश व्यक्त गरेका छन्।

'बर्खामा भवन भत्केर मानव क्षति हुने अवस्थामा पुगेपछि अहिलेलाई भवनलाई बन्द गरिएको छ। अहिले त्यहाँ पढने विद्यार्थी सरस्वती भवनमा पढनुपरेको छ। कक्षा कोठाको समस्या भएको छ। लाइबेरीको समस्या भएको छ। विद्यार्थीले पढ्न नपाएकोमा यो प्रदर्शन भएको हो,'नेवीसंघका गोविन्द कोइरालाले भने।

आज नेविसंघका विदयार्थीहरुले सडकमै आएर किताब पढेका थिए। उनीले कक्षा कोठा खोज्नका लागि सडकमा आएको बताएका छन्।

त्रिचन्द्र कलेजमै पढेका विद्यार्थीहरु अहिले देशको राजनीतिक नेतृत्व गर्ने स्थानमा पुगेको तर तिनैले त्रिचन्द्रलाई भुलेको भन्दै विद्यार्थीहरुले नारा लगाएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा त्रिचन्द्र कलेजमै पढेको भन्दै विद्यार्थीहरुले 'प्रधानमन्त्रीज्यू, तपाईं पढेको कलेजको पुनर्निर्माण कहिले', 'धरहरा बन्यो, त्रिचन्द्र कहिले', 'त्रिचन्द्र कलेज विद्यालयमात्रै होइन, इतिहास हो सम्पदा हो', 'भ्यू टावर बन्ने त्रिचन्द्र नबन्ने' भन्दै ब्यानर समेत प्रदर्शन गरेका थिए। गत भदौमा पनि विद्यार्थीहरुले प्रधानमन्त्री देउवालाई प्रश्न सोध्दै प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell