PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

गुमनामभन्दा ‘बदनामी चर्चा’मा रमाउने मन्त्री वली : अर्काको निवासमा प्रवेश गरेर किन उत्रिइन् कुटपिटमा?



रमेश पराजुली

गुमनामभन्दा ‘बदनामी चर्चा’मा रमाउने मन्त्री वली : अर्काको निवासमा प्रवेश गरेर किन उत्रिइन् कुटपिटमा?

बुटवल : विभिन्न कारणले बेलाबेलामा विवादमा तानिएर चर्चामा आइरहने लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली पुनः चर्चामा आएकी छिन्। यस पटकको चर्चाको कारण भने ‘कुटपिट’ रहेको छ।

मंगलवार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर मन्त्री वलीले बस्नेतकी श्रीमती मीना भण्डारी र उनकी छोरीमाथि हातपात गरेकी हुन्। प्रेमी भनिएका वाईसीएल कार्यकर्ता बस्नेतको घरमा आफ्नो निजी सुरक्षा गार्डसहित प्रवेश गरेकी उनले आतंक मच्चाएकी हुन्।

मन्त्री वली एकराजको घरमा पुगेर बाहिरबाटै ‘गेट खोल’ भन्दै चिच्याएको मीनाले जानकारी दिइन्। आफूले गेट खोलेपछि भित्र प्रवेश गरेकी उनले एकराजसँग मेरो सम्बन्ध छ, खोइ एकराज भन्दै आफू र छोरीलाई कुटपिट गरेको उनले बताइन्। विमलाको कुटाइबाट मीनाको अनुहार र छातीमा चोटपटक लागेको छ भने कपडा च्यातिएको छ।

घटनापछि मीनाले आफ्नो जेठाजुलाई खबर गरेकी थिइन्। एकराज र मीनाका एक छोरा र एक छोरी छन्। विमलाका पनि दुई छोरा छन्। मन्त्री वली हातपात र तोडफोडमा उत्रिएपछि स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

गत वर्षको भदौमा विमला र एकराजको व्यक्तिगत गोप्य तस्विर सार्वजनिक भएपछि खैलाबैला मच्चिएको थियो। तस्विरमा विमलाले बस्नेतलाई चुम्बन गरेकी थिइन्। बस्नेतको फेसबुक स्टोरीमा देखिएको तस्बिर केही समयमा हटाइएको थियो।

तस्बिर बाहिर आएपछि एकराजले विमला र आफूबिचको सम्बन्ध बताउन चाहेका थिएनन्। उनीहरुले एडिट गरिएको तस्बिर भनेर खण्डन गरेका थिए।

विमला दाङको क्षेत्र नम्बर ३(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्। २०७४ मा यो क्षेत्रबाट नेकपा (एमाले)का उत्तर कुमार वली निर्वाचित भएका थिए। वली विमलाका पति थिए। सवारी दुर्घटनामा वलीको निधनपछि उपनिर्वाचन भएको थियो। कांग्रेसका केशव आचार्यलाई पराजित गर्दै विमला प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित वलीले सर्वोच्चले नेकपा खारेज गरेपछि माओवादी केन्द्र रोजेकी थिइन। लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले एमाले त कहिले माओवादी बनेर पनि चर्चामा आएकी थिइन्।

त्यो बेला विमलाले आफूलाई तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले अपहरण गरेर मुख्यमन्त्री निवासमा राखेको भन्दै पत्रकार सम्मेलन समेत गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell