PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एसीसी टी-२० च्याम्पियनसिपमा सहभागी हुँदै नेपाली महिला क्रिकेट टोली, कप्तान भन्छिन् : जितेर आउँछौँ



पहिलोपोस्ट

एसीसी टी-२० च्याम्पियनसिपमा सहभागी हुँदै नेपाली महिला क्रिकेट टोली, कप्तान भन्छिन् : जितेर आउँछौँ

काठमाडौं : मलेसियामा आयोजना हुने एसीसी महिला टी-२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलवार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलवार एक कार्यक्रमको आयोजना गरेर एसीसी महिला टी-२० च्याम्पियनसिपमा सहभागी हुन बुधवार मलेसिया प्रस्थान गर्न लागेको टोलीलाई बिदाइ गरेको हो।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले बिदाइ गरेका हुन्। बिदाइपछि बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले एशिया कपमा छनोट भएर फर्किने बताइन्। अन्तर्राष्ट्रिय सहभागितामा खासै उपलब्धि हात पार्न नसकेको भन्दै कप्तान रुबिनाले महिला टोलीले यो संस्करणमा इतिहास रचेर स्वदेश फर्किने बताइन्।

उनले भनिन्, ‘हामीले धेरै वर्षदेखि खेलिरहेका छौँ, दबाब छैन। तर, हामीले पनि नतिजा दिन नसकिरहेकाले यसपाली त्यसका लागि प्रयास गर्नेछौँ। विदेश यात्रा गर्दा हामीले हार्ने सोचेर जाँदै छैनौँ। हामी च्याम्पियन बनेर फर्किने लक्ष्य लिएर बाहिर जाँदैछौँ।’

एशिया कप छनोट हुने लक्ष्यका साथ नेपाली टोलीले कीर्तिपुर स्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा महिना दिन यता अभ्यास गरेको थियो। युगाण्डासँगको श्रृंखलामा भएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टोलीले अभ्यासलाई निरन्तरता दिएको थियो।

च्याम्पियनसिप मलेसियामा जुन १७ गतेदेखि २५ जुनसम्म हुँदैछ। प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एशिया कपका लागि छनोट हुनेछन्।

सोही लक्ष्य लिएर नेपाली टोली मलेसिया प्रस्थान गर्न लागेको हो। नेपालले प्रतिष्पर्धा गर्ने समूहमा आयोजक मलेसियासहित, हङकङ, भुटान, बहराईन र कुवेत रहेका छन्।

कार्यक्रममा मुख्य प्रशिक्षक जगत टमाटाले टोलीको लक्ष्य भनेको च्याम्पियन भएर स्वदेश फर्किने रहेको र सोही अनुसार नेपाल मौसम प्रतिकुल भएपनि तयारी गरेको बताए।

उनले भने, ‘हामी सबैको एउटै गोल च्याम्पिन भएर आउने हो। र, हाम्रो अभ्यास र मिहिनेतले हामी च्याम्पियन हुन्छौँ भन्ने विश्वास छ। कति मिहिनेत गरेको छ भन्ने खेलाडीहरूलाई थाहा छ, अब नतिजा उनीहरुले खेल्नेमा भर पर्छ। अभ्यासको प्रगति हेर्दा नतिजा हाम्रो पक्षमा आउने र नेपाल च्याम्पियन हुने आशा गरेको छु।’

बिदाइ कार्यक्रमपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपालले राम्रो खेल पस्किनेमा विश्वस्त रहेको बताए। उनले खेलाडी र प्रशिक्षकलाई शुभकामनासमेत दिए।  नेपाली टिमले जुन १७ मा भुटान, १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २० मा हङकङसँग खेल्ने तालिका रहेको छ। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell