PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जीर्णोद्धारको पर्खाइमा त्रिचन्द्र कलेजको त्यो भवन जहाँ पढेका थिए प्रधानमन्त्री देउवा

जीर्णोद्धारको पर्खाइमा त्रिचन्द्र कलेजको त्यो भवन जहाँ पढेका थिए प्रधानमन्त्री देउवा

प्रवीण रानाभाट/पहिलोपोस्ट


‘डियर प्रधानमन्त्री, तपाईं पढेको कलेज पुनर्निर्माण कहिले?’ लेखिएको ब्यानर बोकेर विद्यार्थीहरु २०७८ भदौ २० गते त्रिचन्द्र कलेजमा भेला भएका थिए। उनीहरुको एउटै माग थियो : घण्टाघरसमेत रहेको कलेजको भवन पुनर्निर्माण वा जीर्णोद्धार।

२०७२ साल बैशाख १२ गतेको भूकम्पले सो खण्ड चर्कियो। केही समय भवनमा कक्षाहरु भए। तर, जब बर्खा लाग्यो भवनबाट पानी चुहिन थाल्यो। कक्षाकोठामा पढ्न असुरक्षित भएपछि त्यहाँ भइरहेको कक्षालाई पारीपट्टीको सरस्वती भवन सारियो।

तर, भूकम्प गएको ७ वर्ष भइसक्दा पनि सो भवन पुनर्निर्माण हुन सकेको छैन। भवन थप जीर्ण बनेको छ। पर्खालहरु झाडीले घेरिएका छन्। वर्षाले कक्षा कोठालाई थप मक्काएको छ। कहिलेकाहीँ विद्यार्थीहरु त्यहाँ ‘रिफ्रेस’ हुन पुग्छन् तर भवनको हाल देखेर आजित हुन्छन् पनि।

विसं १९७५ भदौ १२ गते त्रिचन्द्र कलेजको स्थापना भएको थियो। यो कलेज साक्षी बन्यो राणा शासनविरुद्धको आन्दोलनदेखि पंचायतविरुद्धको आन्दोलनसम्म। अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा यही कलेजमा पढेका थिए। देशलाई थुप्रै नेता दिएको यो अग्रणी शैक्षिक संस्था खोलिएको १०४ वर्ष पूरा भएको छ। घण्टाघर बेलाबेलामा पुनर्निर्माण भएर ठडिइरहे पनि सँगैको कलेज भने अहिले लथालिङ्ग अवस्थामा छ।

त्यसैले गत वर्ष देउवालाई कलेजको अवस्थाबारे जानकारी गराउन विद्यार्थीहरु सडकमा उत्रिएका थिए। त्यसको नेतृत्व लिएका थिए कांग्रेसी युवा विद्यार्थीहरुले। त्यो आन्दोलनको ९ महिनापछि फेरि कांग्रेसको भातृ संगठन सडकमा उत्रियो। माग उही : कलेजको भवन पुनर्निर्माण।

विद्यार्थीहरुले भवन पुनर्निर्माण नहुँदा कक्षा संचालन हुन नसकेको भन्दै आज विरोधमा उत्रिएका थिए। उनीहरुले फेरि प्रधानमन्त्री देउवालाई नै लक्षित गर्दै लेखे : प्रधानमन्त्रीज्यू तपाईं पढेको कलेज कहिले बन्ने?

सरकारले त्रिचन्द्र कलेज पुनर्निर्माणको लागि बेलाबेला योजना अघि पनि सारेको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हुँदा यो क्षेत्रको सबलीकरणको योजना बनाउनेबारे छलफल पनि भएको थियो। तर, त्यसले मूर्तरुप लिन सकेन। प्राधिकरण खारेज भएपनि शिक्षा मन्त्रालयले सो भवन बनाउने जिम्मा पाएको थियो। तर, भवन निर्माणबारे आश्वासन बाहेक केही नपाएको विद्यार्थीहरुको गुनासो छ।



ट्रेन्डिङ पोस्ट

Ncell