बुटवलः लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभद्र व्यवहारमा जाहेरी परेको छ।जाहेरी दर्ताको प्रक्रियामा छ।
राज्यमन्त्री वलीले मंगलबार बिहान आफू र छोरीलाई कुटपिट गरेको भन्दै दाङको तुलसीपुर उपमहानगरपालिका ५ कि मीना भण्डारी बस्नेतले प्रहरीमा जाहेरी दिएकी हुन्। जाहेरीमा बस्नेतले राज्यमन्त्री वली आफ्नो घरमा प्रवेश गरी नाबालिका छोरी एञ्जिलासहित आफूलाई गालीगलौज, हातपात र अभद्र व्यवहार गरेको उल्लेख गरेकी छन्।
तत्काल बर्खास्त गर्न एमालेको माग
लुम्बिनी प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले स्वास्थ्य राज्यमन्त्री वलीलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेको छ। प्रदेश सभा संसदीय दलका उपनेता बैजनाथ चौधरीले वलीले अनुशासनहीन कार्य गरेको भन्दै बर्खास्त गर्न माग गरे।
‘उहाँले प्रदेश सभा, सरकार र प्रदेशवासीकै बेइज्जत हुने काम गर्नुभयो। मन्त्रीको यस्तो व्यवहार आपत्तिजनक र निन्दनीय छ’, नेता चौधरीले भने, ‘उहाँले हामी सबैको शिर निहुराउने काम गर्नुभयो। यस्तो गम्भीर विषयमा सरकारले तत्काल निर्णय गर्नुपर्छ।’
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राज्यमन्त्री वलीको विषयमा अध्ययन गरेर प्रदेश सरकारले निर्णय गर्ने बताए।
मन्त्री वलीले मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित प्रेमी भनिएका एकराज बस्नेतको घरमा पुगेर श्रीमती मीना भण्डारी र उनकी छोरीमाथि हातपात गरी तोडफोडमा उत्रिएकी थिइन्।
बस्नेतको घरमा आफ्नो निजी सुरक्षा गार्डसहित प्रवेश गरेर आतङ्क मच्चाएकी उनलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो। अहिले वलीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको छ।