
काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले बजेटको गोपनीयता भंग नगरेको अर्थमन्त्री जनार्दन शर्माको भनाईलाई चुनौती दिँदै जेठ १४ गते रातिको मन्त्रालयको सिसिटिभी फुटेज सार्वजनिक गर्न चुनौती दिएको छ। गोपनीयता भंग भएको दाबी गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले तथ्य र आधारले अर्थमन्त्रीले गल्ती गरेको जिकिर समेत गरे।
अर्थमन्त्री शर्माले प्रतिपक्षको मागअनुसार प्रतिनिधि सभामा जवाफ दिएपछि एमालेले यस्तो माग गरेको हो। जवाफप्रति चित्त नबुझाएको एमालेले बैठक समेत अवरुद्ध गरेको छ। एमालेकै आग्रहमा मंगलबार विनियोजन विधेयकमा अर्थ मन्त्रालय शीर्षकमा भएको छलफलको जवाफको कार्यसूची पनि हटाइएको थियो। छानबिन समिति नबनेसम्म संसद् अवरुद्ध गर्ने चेतावनी एमालेले दिएको छ।
प्रमुख सचेतक भट्टराईले सिसिटिभी फुटेज संसदमा सार्वजनिक रुपमा देखाउन चुनौती दिएका हुन्।
‘म चुनौतीका साथ भन्न चाहन्छु। सभामुखलाई निर्देशन दिन आग्रह गर्छु। आदेश गर्नुस्, त्यस दिन १४ गतेको रातिको बेलामा अर्थ मन्त्रालयको बजेट बनाउने ठाउँमा रहेको सिसिटिभीको फुटेज यहाँ ल्याएर देखाउनुस्। सार्वजनिक रुपमा देखाउनुस्। त्यहाँ को मान्छे प्रवेश गरेका थिए?’, प्रश्न गर्दै भट्टराईले अगाडि भने, ‘अर्थमन्त्रीज्यूले यहाँ हैन भन्नुभएको छ, हो भन्न त उहाँले मिल्दै मिल्दैन। उहाँले हैन नै भन्नुहुन्छ। हामीलाई पहिले नै थाहा थियो जवाफ यही आउँछ भन्ने। दुनियाँमा कहिल्यै बदमासी गर्नेले हो भनेर भनेको रेकर्ड छैन। इतिहासमा त्यस्तो हुँदैन। हो भन्ने कुरा तथ्य, आधार र काम क्रियाकलापले बताउँछन्। निरन्तरका क्रियाकलापले भन्छ त्यहाँ अनधिकृत व्यक्ति प्रवेश गरेका छन्।’
बजेट निर्माण गर्दा खास-खास व्यवसायिक घरानाका व्यक्तिसँग बसेर परामर्श गरेर बनाइएको आशंका पहिल्यै एमालेलाई रहेको भट्टराईको तर्क थियो। निश्चित घरानाको व्यापार प्रवर्द्धन र हित हुनेगरि सेटिङ भएको आरोप पनि उनको छ।
व्यापारिक घरानाका खास प्रतिनिधि बसेर बजेटमा करका दर तय भएको आरोप भट्टराईको छ। मन्त्रालयले नचिनेका व्यक्तिलाई करका दर हेरफेर गर्न दिनु देशप्रतिको गद्दारी भएको उनको आरोप छ।
शर्माको स्पष्टीकरण, आरोप झुटो कथा
अर्थमन्त्री शर्माले भने बजेटको गोपनीयता कायम नभएको भन्ने आरोप झुटो कथा भएको बताए। प्रतिपक्षले निरन्तर जवाफको माग गरेपछि विशेष समय लिएर वक्तव्य दिँदै शर्मा आफूमाथिको आरोपको खण्डन गरे। प्रकाशित समाचार कपोलकल्पित भएको शर्माको जिकिर छ।
शर्माले बजेट तर्जुमाको सिद्धान्त अनुसार नै आफूले काम गरेको बताए। अर्थ सचिव, राजस्व सचिव, मातहतका कर्मचारी र सरोकारवालाको सुझावका आधारमा बजेट तर्जुमा गरिएको उनले बताए।