PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

पाँच वर्षदेखि कारागारमा रहेका गुन्डा नाइके समीरमान सिंहलाई भेट्न डिएसपी केसी पुगेपछि अनुसन्धानमा तानिए



पहिलोपोस्ट

पाँच वर्षदेखि कारागारमा रहेका गुन्डा नाइके समीरमान सिंहलाई भेट्न डिएसपी केसी पुगेपछि अनुसन्धानमा तानिए

काठमाडौं: महानगरीय प्रहरी वृत स्वयम्भुका डिएसपी मिलन केसी छानबिनमा तानिएका छन्। निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकारमा दोषी ठहर भएपछि कारागारमा रहेका समीरमान सिंह बस्नेतलाई कारागारमा भेट्न गएपछि उनी अनुसन्धानमा तानिएका हुन्। गत आइतबार केसीले बस्नेतलाई भेटेका थिए। 

केन्द्रीय कारागार सुन्धारामा रहेका सिंहलाई भेट्न डिएसपी केसी पुगेको घटना बाहिरिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले  छानबिन समिति बनाएर अनुसन्धान सुरु गरेको छ। परिसरका एसपी दिनेशराज मैनालीको नेतृत्वमा छानविन समिति बनाइएको हो। डिएसपी केसीले कुनै पनि प्रहरी निकायलाई जानकारी नै नदिइ विवादास्पद एक व्यक्तिलाई लिएर समीरमानलाई भेटेको खुलेको छ।

२०७४ असोज २३ गते गौचनको राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानी हत्या भएको थियो। प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ। मुख्य योजनाकार समीरमान सिंह भएको खुलेपछि केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले २०७४ मंसिरमा बस्नेतलाई भारतबाट पक्राउ गरेको थियो। बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए।

बस्नेत ५ वर्षदेखि कारागारमा रहे पनि कारागारबाट नै अपराधिक गतिविधि समेत गर्ने गरेको खुल्दै आएको छ। पूर्व गृहमन्त्री रामबहादुर थापाका भाई नरेश थापासँग पनि सिंहको कनेक्सन देखिएको थियो। २०७६ भदौमा थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको थियो। गृहमन्त्रीका भाई नरेशले शैलेश प्रजापति र पवन खड्कामार्फत समीरमानसँग सम्पर्क बढाएको प्रहरीको अनुसन्धानमा खुलेको थियो। शैलेश समीरमानका सहयोगी हुन्।

जेलबाटै आपराधिक गतिविधि बढाएको भन्दै बस्नेतलाई २०७५ असोजमा नख्खु कारागारबाट केही समय मुस्ताङ कारागार समेत लगिएको थियो। केही समयपछि पुनः उनलाई काठमाडौं नै ल्याइएको थियो। अहिले फेरि बस्नेतलाई भेट्न गएको कारण डिएसपी केसी अनुसन्धानमा तानिएका हुन्। 

'हामीले यस विषयमा छानबिन सुरु गरेका छौँ। के कारणले गएको हो त्यसपछि खुल्ने छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले भने।

परिसरले मैनालीको नेतृत्वमा तीन सदस्य छानविन समिति बनाएको हो। समितिलाई तीन दिनमा छानबिन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। बस्नेत २०७३ साल पुस ४ गते रुपन्देही देवदह नगरपालिका खैरहनीमा एमालेको भ्रातृ संगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको मुख्य योजनाकार भएको पनि खुलिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell