PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

आठ वर्षअघिको यौन प्रकरणः सरकारी वकिलको समय नमिल्दा फाइल अदालतमा पुगेन



पहिलोपोस्ट

आठ वर्षअघिको यौन प्रकरणः सरकारी वकिलको समय नमिल्दा फाइल अदालतमा पुगेन
फाइल फोटो

काठमाडौं: आठ वर्षअघि १६ वर्षकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्धको अभियोग पत्र मंगलबार पनि अदालतमा पुगेन। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार नै अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गर्ने तयारी भए पनि समय अभावको कारणले दर्ता नगरिएको सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले जानकारी दिए।

'समय अभावको कारण आज अध्ययन गरेर सकिएन। हाम्रो म्याद भरिमा अध्ययन गरेर अदालतमा अभियोग पत्र लैजान्छौं,' पौडेलले भने।

सौन्दर्य प्रतियोगिताको नाममा सक्सेस पार्टी भनेर होटेलमा बोलाएर बेहोस बनाउँदै बलात्कार गरेको आरोप लागेपछि पाण्डे जेठ ७ गते पक्राउ गरेका थिए। नेपाल प्रहरीको अनुसन्धान महाशाखाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो। २२ दिनसम्म अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकिल कार्यालयमा बुझाएको हो। प्रहरीले घटनासँग सम्बन्धितको बयान, पीडितको बयान लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ।

टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एक जना युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि अनुसन्धान सुरु भएको थियो। २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेशनल नामक ब्युटी प्याजेन्टका क्रममा होटेलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विभिन्न तहका मानिसले कारबाही गर्न दबाब दिएका छन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सरकारी वकिल कार्यालय प्रहरीले बुझाएको अनुसन्धान फाइल चित्त नबुझेको खण्डमा पुनः अनुसन्धान गर्न भनेर पठाउन पनि सक्छ। त्यस्तै मुद्दा नचल्ने देखिएमा नचलाउने अधिकार पनि सरकारी वकिल कार्यालयलाई हुने गर्छ। तर यस घटनामा फाइल अध्ययन गर्ने समय नभएर आज अदालतमा मुद्दा नलगिएको हो।

आठ वर्ष अगाडिको घटना भएकाले हदम्याद लाग्ने भएपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा म्याद थप गरी अनुसन्धान गरेको थियो। अर्की एक जना किशोरीले पनि पाण्डेविरुद्ध उजुरी दिएकाले प्रहरीले बाल यौन शोषणविरुद्ध पनि अनुसन्धान गरेको थियो। सरकारी वकिल कार्यालयका अनुसार अदालतमा मानव बेचबिखन कसुरमा नै मुद्दा दर्ताको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell