
काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले ओमनलाई हराएको छ। मूसा क्रिकेट मैदानमा आजराति सम्पन्न खेलमा नेपाली टोलीले ओमनमाथि ७ विकेटको सानदार जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको ओमनले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १६३ रन बनाएको थियो। ओमनका लागि कप्तान जेशन मक्सुदले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५२ रन बनाउँदा सन्दीप गौडले ४७ तथा जतिन्दर सिंहले २३ रन बनाएका थिए।
बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिँदा कप्तान सन्दीप लामिछानेले ३ विकेट तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। केसीले ९ ओभर बलिङ गर्दै ३३ रन दिएर ५ विकेट लिएका हुन्। त्यस्तै कसिलो बलिङ गरेका मोहम्मद आदिल आलमले २ मेडन राख्दै १० ओभर बलिङ गरेर २२ रन दिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। सानदार ब्याटिङको सुरुवात गरेको नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ६२ रन बनाउँदा कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय पारि खेले। त्यस्तै रोहित पौडेल २६ र दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहँदा देव खनालले १० रन बनाए।
जितसँगै नेपालले लिग २ को तालिकामा नामिबियालाई पछि पारेको छ। १५ खेलबाट १५ अंक जोड्दै नेपाल पाँचौ स्थानमा उक्लिँदा नामिबिया १४ खेलबाट १४ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ। सातौ स्थानमा नामिबिया २ अंक जोडेर रहेको छ। शीर्षस्थानमा ४४ अंक जोडेको ओमन, दोस्रो स्थानमा २८ अंक जोडेको स्कटल्याण्ड, तेस्रो स्थानमा २६ अंक जोडेको यूएई र चौथो स्थानमा २१ अंक जोडेको अमेरिका छन्।
नेपाली टोलीले त्रिदेशीय सिरिजको अन्तिम खेलमा भरे राति अमेरिकासँग खेल्नेछ।