PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भाइरल भिडियोले भेला गर्‍यो खेलाडी, अनि १७ खेलपछि हात पारियो पहिलो जित...



मुकुन्द घिमिरे

भाइरल भिडियोले भेला गर्‍यो खेलाडी, अनि १७ खेलपछि हात पारियो पहिलो जित...

काठमाडौं : मुलपानी क्रिकेट स्टेडियम। खाली रंगशाला। त्यहाँ चलिरहेको थियो नेपाल र भारतबिचको स्ट्याण्डिङ क्रिकेट सिरिज। उसो त भारतले लगातार सिरिजका दुई खेल जितिसकेको थियो। तेस्रो खेलमा आएर नेपालले भारतमाथि १ विकेटको संघर्षपूर्ण जित निकाल्यो। अनि बन्यो नेपालको इतिहास। स्ट्याण्डिङ क्रिकेट टोलीले १७ औं खेलमा आइपुगेर पहिलो अन्तर्राष्ट्रिय जित निकालेको थियो। अझ क्रिकेटको महाशक्तिराष्ट्र भारतसँगको पाँचौ खेलमा आएर जित। त्यसैले सोमवार नेपाली स्ट्याण्डिङ क्रिकेट टोली (फिजिकल्ली च्यालेन्ड) का लागि ऐतिहासिक दिन बन्यो।

जितसँगै खेलाडीहरु दौडिएर मैदान प्रवेश गरे। खुशी साटे। गोलो घेरा हालेर करिब १० मिनेट त नाचिनै रहे। सपना साकार भएको दिन जुन थियो।

नेपाली टोलीका कप्तान रामप्रसाद खरेलको हर्षको सीमा थिएन।  

'अन्तर्राष्ट्रिय सिरिजमा कुनै पनि अन्तर्राष्ट्रिय टोलीलाई हराउन सकेका थिएनौ। आज भारतलाई हराउन सकेर इतिहास बनाइएको छ। नेपाली फिजिकल च्यालेन्ज्ड क्रिकेटमा। राष्ट्रको लागि जित निकाल्न सक्दा निकै खुशी लागेको छ,' मैदानमा भेटिएका उनी भन्दै थिए।

सिरिजको पहिलो खेलमा नै नेपालले जितको नजिक पुगेर पराजय ब्यहोरेको थियो। त्यो खेललाई सम्झँदा सिरिज नै पो जित्न सकिन्थ्यो कि भन्ने लाग्छ खरेललाई।

'सिरिजमा हामीले ट्रफी नै जित्ने पनि सम्भावना थियो। पहिलो खेलमा जितेको म्याच पनि तालमेल नमिल्दा हार्न पुग्यौं,' उनले भने, 'तर, अन्तिममा आएर एउटा खेल जित्न सफल भयौं। यही कमीकमजोरीलाई सुधार्दै हामी अघि बढ्नेछौं।'

यसअघिको सिरिज बंगलादेशमा केही महिनाअघि खेलेको थियो नेपालले। त्यतिबेला खरेलको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो। तर, यसपालाको टोलीमा धेरै परिवर्तन छ। नयाँ अनुहारहरु टिममा आएका छन्। जसको कारण हो : सामाजिक संजाल।

'बंगलादेशमा भन्दा धेरै परिवर्तन छ। बंगलादेशमा हामीले खेल्दा मलगायत एकजना खेलाडीको भिडियो भाइरल भयो। धेरै साथीहरु त्यो भिडियोमार्फत हामी पनि जोडिन चाहन्छौं भनेर आउनु भयो,' उनले भने, 'समाजिक संजालकै माध्यमबाट उहाँहरुले जानकारी पाउनु भयो। यही सिलसिलामा तपाईंहरुले खेल्नु हुन्छ भने साथीहरु मार्फत कन्ट्याक्ट गरेर जिल्लास्तरीय छनोट गराएर दोस्रो चरणको छनोटचाहीँ काठमाडौंमा गराइएको थियो। सकेसम्म नयाँ खेलाडी उत्पादनको योजना थियो। राम्रो टिम बनाउँ भन्ने थियो।'

***

खरेल गुल्मीमा जन्मिए। २ वर्षको हुँदा नवलपरासी बसाइ सरे।

नवलपरासीमा भएको घटनाले नै हो उनको यात्रा यतातिर डोरिएको।

धन कुट्ने मेसिनमा नजिकै सानो चुम्बक लिएर खेलेको सम्झन्छन् उनी। त्यही बेला उनको हात फलामले तानेछ।

'धान कुट्ने मिलमा खेल्दा खेरी दुर्घटना भएको हो। धान कुट्ने मेसिनमा बाहिर आइरन रड निकालेको हुन्थ्यो। भित्र मेसिन चल्दा बाहिरको त्यो रड पनि घुम्थ्यो। हामी चार पाँच जना साथीहरु चुम्बकको टूक्रा लिएर खेलिरहेका थियौं,' उक्त घटनाबारे खरेल सम्झन्छन्, 'त्यो घुमिरहेको रडमा चुम्बक फाल्ने अनि तान्ने गरिरहेका थियौं। त्यो हुलमुलमा ठेलियो कि टाइमिङ मिलेन। त्यसपछि डन्डी समात्न पुगियो होला अनि हड्डीले थामुन्जेल चाही घुमाइराख्यो फनफनी। त्यहाँ पड्याङपुङ छालसाला गएपछी हुत्याइदिएछ।'

म ६/७ वर्षको थिएँ होला।

'मेरो ६/७ वर्षको उमेरमा यस्तो भएपछि मलाई शिक्षादीक्षाका लागि काठमाडौं नै पठाउनु भयो। अहिले स्नातक तहको पढाइ चलिरहेको छ,' आफ्नो पृष्ठभूमिबारे खरेलले सुनाए।

खेलसँगसँगै उनी अपांगता भएका व्यक्तिहरुलाई स्वरोजगार गराउने काममा पनि संलग्न छन्।

'अहिले म स्पाइनल इन्ज्युरी संघ अन्तर्गत भोइस प्रोजेक्ट संचालनमा छु। जसले अपाङ्गता भएका व्यक्तिहरुलाई सीपमुलक तालिमद्वारा स्वरोजगार गराउने कामहरु गर्छन्। त्यसका केस म्यानेजमेन्ट अफिसरका रुपमा काम गर्छु,' उनले सुनाए।

उनी अपांगता भएका व्यक्तिहरुलाई समाजले गर्ने गरेको सबै खालका व्यवहारबाट परिचित छन्। त्यसैले सबै भन्दा ठूलो कुरा इच्छा शक्तिलाई मान्छन्।

'म जहिले पनि के भन्ने गर्छु भने मुख्य कुरा भनेको हामी शारीरिक अपांगता भएका व्यक्तिहरु सेल्फ मोटिभेटेड हुनुपर्छ। तपाईंभित्र भएका कुराहरु, जस्तै अपांगता हुँदै सबै कुराहरु सकिएका छैनन्,' उनी भन्छन्, 'इच्छाशक्तिले काम गर्ने हो। इच्छा शक्ति दरिलो भयो भने समाजका अन्य व्यक्तिहरुले तपाईंलाई तल गिराउन सक्दैनन्।'

उनको बुझाइ छ : आफ्नो काम देखाउन समय लाग्ला। आफ्नो काममा अडिग रहनु र पेशा जे अँगालिएको छ त्यसलाई अगाडि बढाएर एउटा लक्ष्य चाहीँ लिएर हिँड्नुपर्छ।

***

फिजिकल्ली च्यालेन्ड क्रिकेटका लागि चुनौती पनि त्यतिकै छन्। एक त खेलाडी भेला पार्न। अर्को खेलाडी टिकाउन। अझ टिममा मापदण्ड भित्र पर्ने खेलाडी राख्न। यद्यपि, यो क्रिकेटमा कडिकडाउ स्वास्थ्य मापदण्ड भने हुँदैन।

'टिममा कस्तो खेलाडी राख्ने भनेर कोटा नै चाहीँ हुँदैन। शारीरिक अपांगता भएका व्यक्तिहरुलाई लिने गरिन्छ। जो समान्यत हिँडडुल गर्न सक्ने, क्रिकेट नर्मल्ली खेल्न सक्ने,' खेलका बारे खरेल भन्छन्, 'यही अपांगता भनेर चाहीँ छैन हाम्रो। कोहीको हातको समस्या। कोहीको खुट्टाको समस्या। कोहीको अन्य शारीरिक समस्या। त्यतिभित्र कोही क्रिकेट खेल्न सक्छ भने हामी टिममा समावेश गर्छौं।'

'यसो गर्दा टिम असन्तुलित हुँदैन? यो वर्गका यति खेलाडी भन्ने केही मापदण्ड हुँदैन?' भन्ने हाम्रो प्रश्न।  

'यसमा अन्तर्राष्ट्रिय मापदण्ड केही छैन। दौडन नसक्ने खेलाडीका लागि छुट्टै रनर राख्न मिल्छ। बाँकी सबै आइसीसीको नियमअनुसार खेल्छौं। त्यो अनुसार ब्याटिङ बलिङमा प्रदर्शन देखाउनु हुन्छ,' उनले सुनाए, 'अहिलेसम्म विशेष वर्गीकरण नगरेको कारणले यसरी नै अघि बढी रहेको छ।'

टिममा सबैभन्दा कठिन कुरा खेलाडी टिकाउनु रहेको उनको बुझाइ छ।

'खेलाडी टिक्न एकदमै मुस्किल छ। किनभने खेलाडीलाई मोटिभेट गर्न हामीसँग अहिले केही स्रोत साधन नै छैन। बाहिरबाट खेलाडी बोलाउन पर्‍यो। व्यवस्थित तरिकाले होटलमा राख्न पर्‍यो,' उनी भन्छन्, 'आन्तरिक ट्रान्सपोर्टका कुरा भए। खेल्ने सामाग्री। मैदानको उपलब्धता। यी कुराहरुको समस्या छ। त्यसलगायत खेलाडीले आफ्नो खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यो गाह्रो छ। सधैँ आउने, खेलिरहने। खेलाडीले योगदान दिने। संस्थाले त्यो लेभलमा फड्को मार्न नसक्दा खेलाडीलाई जोगाइराख्न र टिकाइ राख्न मुस्किल छ।'

नेपालमा ह्विलचेयर क्रिकेट संघले नै स्ट्याण्डिङ क्रिकेट आयोजना गर्छ। तर, स्ट्याण्डिङ क्रिकेट र व्हिलचेयर क्रिकेट फरक भएको खरेल बताउँछन्।

***

कुनै पनि खेलकुदमा लक्ष्य हुन्छ : यो स्तरसम्म पुग्ने या त यो उपाधि जित्ने भन्ने। स्ट्याण्डिङ क्रिकेटमा भने त्यस्तो ठोस केही नभए पनि विश्वकप खेल्ने सपना देखेका छन् खेलाडीहरुले। उसो त यसअघि भएको विश्वकपमा पनि नेपालले सहभागिता जनाउने अवसर पाएको थियो। तर आर्थिक अभावका कारण त्यो अवसरको प्रयोग गर्न सफल भएनन्।

'हाम्रो सिरिजहरु चलिरहेको छ। २०२३ मा विश्वकप छ। पहिला पनि इङ्ग्ल्याण्‍डमा भएको थियो। आर्थिक अभावले नेपाल समावेश हुन सकेन। हवाई उडानको खर्च धेरै ब्यहोर्नुपर्ने भन्ने कुरा आयो। खर्च धेरै लाग्ने भएर समावेश हुन सकिएन,' उनले भने।

त्यसबाहेक भारतमा फ्रेन्चाइज लिगको अवधारणाले मूर्त रुप लिँदै जाँदा सम्भावनाका ढोका खुल्दै जाने उनको बुझाइ छ।

'आईपीएल जस्तै दिब्यांग प्रिमियर लिग (डीपीएल) हुँदैछ। पछिल्लो पटक दुबईमा भयो। यसपाला पनि हुँदैछ। यस्तै सिरिज आउँदै गयो भने समावेश हुन पाइयो भने बिस्तारै खेलाडी प्रोफेसनल हुँदै जान सक्नुहुनेछ भन्ने सोच हो,' उनले भने।

भारतलगायतका देशमा हुने फ्रेन्चाइज लिगले नेपाललाई के फाइदा? नेपाली खेलाडीको सम्भावना कति होला? भन्ने प्रश्नमा उनले भने, 'त्यस्तो इन्टरनेसनलमा सम्भावना राम्रै छ। उहाँहरुसँग निरन्तर संवादमै छौं हामी। प्रोफेस्नल्ली अघि बढिनसकेको हुँदा हाम्रो क्रिकेट पनि विकास हुँदै गइरहेको छ। हामीलाई पनि त्यो प्लेटफर्म चाहिन्छ। सबैलाई समेटेर प्लेटफर्म चाहिन्छ भन्ने कुरा गरिरहेका छौं,' उनले भने।

उनी राष्ट्रिय टोलीलाई बलियो बनाउन धेरै भन्दा धेरै खेलाडीको आवश्यकता देख्छन्। त्यसैले उनी शारीरिक रुपमा अशक्त भए पनि खेल्न रहर भएका सबैलाई आफूहरुसँग जोडिन आह्वान गर्छन्।

'नेपाल भरि छरिएको साथीलाई तपाईंहरु खेल्नुहुन्छ भने नहिच्किचाइ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ भन्न चाहन्छौँ,' उनले भने, 'हामी सबै मिलेर राष्ट्रको राम्रो टिम बनाउन चाहन्छौं। अपांगता छ भनेर लुकाउने भन्दा अघि आउनुस् हामी सँगै बसेर छलफल गरेर अघि बढ्न सक्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell