A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.697f388bf19190.72570163): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.697f388bf19190.72570163,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

बद्लिएको सुदूरपश्चिम, फेरिएकी स्वस्तिमा
PahiloPost

Feb 1, 2026 | १९ माघ २०८२

बद्लिएको सुदूरपश्चिम, फेरिएकी स्वस्तिमा



लक्ष्मी बलायर

बद्लिएको सुदूरपश्चिम, फेरिएकी स्वस्तिमा

कुर्ता सुरुवाल बाहिर चोलो, गलामा पोते र चाप्की, नाकमा फुली। बाजुराको एक घरमा जब स्वस्तिमा तयार हुँदै थिइन्, त्यहाँका महिलाले उनलाई देखेर भने - हिरोनी पनि हामैजसा त हुँदा रहेछन्।

सुटिङ सुरु हुनअघि नै ‘चिसो मान्छे’को टिमसँगै बाजुरा पुगेकी थिइनँ स्वस्तिमा। कथाको पात्रसँग भिज्नु थियो उनलाई। परिवेशलाई नजिकबाट नियाल्नु थियो। सुरुमा बाजुरा पुग्दा स्थानीयले उनीसँग बोल्न अफ्ठ्यारो मानेका थिए। पछि सबै घुलमिल हुन थाले। यसरी बोल्न आउनेमा धेरै महिला नै हुन्थे। जसकारण स्वस्तिमा उनीहरुसँग बोल्न हौसिइन्।  

‘सुरूमा बाजुरा जाँदा स्थानीयहरूले बोल्न निकै गाह्रो मानेको पाए। सायद फिल्मको सुटिङ गर्ने आएका हुन् भनेर पनि होला। तर पछि महिलाहरु चाँडै घुलमिल भए’, उनले भनिन्।

सुदूरपश्चिम जानुअघि त्यहाँका बारेमा धेरै सुनेकी थिइन् उनले। छाउपडी, कम उमेरमा विवाह र सानैमा बच्चा पाउने त्यहाँको प्रचलन झै लाग्थ्यो उनलाई। राजधानीभन्दा निकै टाढाको विकट सुदूरमा सहनै नसक्ने पिडाहरू होलान्, उनले त्यहाँ जानु अघि सोचेकी थिइन्।

तर बाजुरा पुगेसँगै उनले देखेको र सुनेको सुदूरपश्चिमभन्दा त्यहाँको परिवेश फरक पाइन। सुदूरपश्चिम परिवर्तन हुँदै गइरहेको भान भयो उनलाई। महिलाहरु खुलेर बोल्न र आफ्ना कुरा सुनाउन सक्ने भएको उनले देखिन्।

‘सुदूरपश्चिम परिवर्तनको चरणमा रहेछ। त्यहाँ बिस्तारै छाउपडी कुप्रथाहरू कम हुँदैछन्। केटी मान्छेहरू कति धेरै फरवार्ड। बरू केटा मान्छेहरू बोल्न लजाए तर केटीहरू बोल्न आए। कुरा र हाँसोमजाक गरे। उहाँहरूको खुलदुली पनि उस्तै। यी कुराले मलाई निकै छोयो। त्यताका मानिसहरूको व्यवहार पनि उत्तिकै राम्रो,’ उनले सुनाइन्।

नेपाली फिल्म क्षेत्रमा महिला केन्द्रीत फिल्म कमैमात्र बनेका छन्। जति बनेका छन् अधिकांश आर्थिक रुपमा सफल हुन सकेका छैनन्। स्वस्तिमाले नै अभिनय गरेको फिल्म बुलबुल अपवाद थियो। सो फिल्मको कथा जति उत्कृष्ट थियो त्यति नै सफल बक्स अफिसमा पनि भएको थियो। त्यही फिल्मबाटै स्वस्तिमाको अभिनय कलालाई दर्शकले थप रुचाउन थालेका थिए। यसपटक सुदूरपश्चिम शैलीमा प्रस्तुत भइरहेकी स्वस्तिमासँग दर्शकको अपेक्षा पनि बढी छ।

‘होस्टेल रिटर्न्स’ बाट अभिनय यात्रा सुरू गरेकी स्वस्तिमा महिला केन्द्रीत फिल्ममा कथा पनि बलियो हुनुपर्ने बताउँछिन्।

‘महिला पात्रलाई सशक्त रूपमा देखाउन महिला केन्द्रीत फिल्म नै हुनुपर्छ भन्ने लाग्दैन। फिल्मको सुरूदेखि अन्तिमसम्म महिला नै देखिनुपर्छ भन्ने हुँदैन,’ उनले  भनिन्, ‘तर फिल्ममा महिला पात्रलाई राम्रोसँग देखाउनुपर्छ भन्ने कुरा चाँहि म मान्छु। जहाँ उसको आफ्नै कथा होस् र पात्रलाई न्याय दिइयोस्। महिला पात्रले सोच्ने तरिका फिल्ममेकरले बुझेर देखाइयोस भन्ने सधैँ चाहना हुन्छ।’

कसरी रह्यो पात्रको नाम?

करियरको सुरुवाततिर फिल्म हेरून्जेल दर्शकले मनोरञ्जन पाउनु र तारिफ गर्नुलाई राम्रो अभिनय गरेको महसुस गर्थिन् उनी। तर, अहिले उनी मनोरञ्जनभन्दा आफ्नो अभिनयले र आफूले निर्वाह गरेको पात्रले दर्शकको भावनसँग जोडिदियोस् भन्नेमा केन्द्रीत छिन्।

‘पहिला करिअर सुरु गर्दा नाच्नुपर्छ, दर्शकलाई २ घण्टासम्म मनोरञ्जन दिनुपर्छ भन्नेमात्र हुन्थ्यो। तर, अहिले सानो कुरामा कसरी दर्शकहरूको इमोसन छुन सकिन्छ भन्ने लाग्छ। कसरी दर्शकहरूको वर्षोसम्म पात्रलाई सम्झिने अभिनय गरू भन्ने लाग्छ। भावनालाई छुन सक्नु नै कलाकारको सफलता हो लाग्छ,’ उनी भन्छिन्।

‘चिसो मान्छे’ को छायांकन सुरू भइसकेको थियो। तर स्वस्तिमाले निर्वाह गर्ने पात्रको नाम राखिएको थिएन। फिल्ममा स्वस्तिमाले खेल्ने पात्रको नाम भनिरहनु आवश्यकता ‘स्क्रिप्ट’मा थिएन। तर, बाजुरा पुग्दा स्वस्तिमाको पात्रले नाम पायो।

सुदूरपश्चिमतिरको पहिरनमा देखेपछि एकजना वृद्धा आमाले स्वस्तिमालाई आफ्नी नातिनी थानेर भनिन् : पुष्पा, मैले त पुष्पा आइ मान्याको।

ती वृद्धा आमाकी नातिनीको नाम पुष्पा रहेछ। जो शहर पसेपछि बाजुरा फर्किनन्। स्वस्तिमालाई ती आमाले पुष्पा भनेर बोलाउन थालेपछि सबै गाउँलेले नै उनलाई पुष्पा भन्न थाले। कथाले नाम नमागे पनि गाउँलेले पुष्पा भनेर बोलाउन थालेपछि पात्रको नाम नै ‘पुष्पा’ राखेको उनले सुनाइन्।

सुदूरपश्चिमको पात्र बन्ने रहर

‘तपाईंलाई कस्तो चरित्रमा अभिनय गर्ने मन छ?’ पत्रकारहरुले फिल्मी कार्यक्रममा जहिलै प्रश्न गर्थे। जवाफमा स्वस्तिमाको रेडिमेड उत्तर हुन्थ्यो : सुदूरपश्चिमको पात्र बन्ने रहर छ।

सुदूरपश्चिमको भाषा र रहनसहनले आफूलाई पहिलेदेखि नै तान्ने गरेको उनी बताउने गर्थिन्।

एकदिन निर्देशक दीपेन्द्र के खनालले स्वस्तिमालाई फोन गरेर भनेछन् - मसँग सुदूरपश्चिमको एउटा कथा छ। काम गर्ने हो?

स्वस्तिमाले त्यो दिन सम्झिँदै भनिन् : मनले चाहेको कुरा कायनाथले पूरा गर्छ भनेझै भयो। मैले केही सोचिन र, फ्याट्ट हुन्छ भनिदिएँ।

छायांकनमा जानुअघि दीपेन्द्रले अभिनय गर्ने पात्रबारे बेलिविस्तार लगाएका थिए। बाजुराको विपन्न गाउँको २०-२२ वर्षीया युवतीको भूमिका निभाउनुपर्ने थियो उनले। आफ्नो भूमिकाबारे थाहा पाएसँगै उनी बझाङ र बाजुरातिरका ‘डकुमेन्ट्री’ हेर्न थालिन्। डोटेली भाषा बोलेर अभ्यास गर्न थालिन्। डोटेली बोल्न कोसिस गर्दा खिचेको भिडियोहरू निर्देशक खनाललाई पठाउन थालिन् उनले। स्वस्तिमाको सुदूरपश्चिमप्रतिको चासो देखेर दीपेन्द्र अचम्ममा परे। त्यसपछि स्वस्तिमाका लागि भाषाको कक्षा दिन शिक्षक नै राखिदिए उनले।

भाषाको कक्षा एक हप्तासम्म चल्यो। स्वस्तिमाले बाजुराको ठेट भाषा र लवज टपक्क टिपेको देख्दा सबै निकै खुसी भए। ट्रेलरमा उनले बोलेको भाषाको तारिफ रंगकर्मीहरुले गर्न थाले। सुदूरपश्चिमबाट पनि सन्देश आयो : हामीले भन्दा राम्रो बोल्ने रहेछौं।

आगामी दिनमा पनि सुदूरपश्चिमका कथामा काम गर्न मन छ स्वस्तिमालाई। सुदूरपश्चिमको मौलिक भाषा, रितिरिवाज र संस्कृतिले छुट्टै छाप छोडेको उनले बताइन्।

समाजमाथि प्रश्न

असार ३ गतेदेखि ‘चिसो मान्छे’ सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ। फिल्मको ट्रेलरमा स्वस्तिमाको डोटेली बोली जति चर्चामा छ त्यति नै चर्चा छ फिल्मले देखाउन खोजेको नेपाली समाजको परिवेश।

रातो बाकसमा फर्किएका श्रीमानलाई बाजुराबाट काठमाडौंसम्म लिन आउँछिन् पुष्पा र उनका ससुरा। काठमाडौंबाट बाजुरासम्म गाडीमा श्रीमानको शव राखेर सुरु हुन्छ उनीहरुको यात्रा। जुन सहज हुँदैन। त्यहीबिच पुष्पा र शव बोकेको गाडीको चालकबिच सामिप्यता बढ्छ। श्रीमानको शव लिएर फर्किरहेकी श्रीमती कसरी अर्को युवासँग नजिकिन सक्छ?

‘गाडीमा श्रीमानको लास बोकेर हिडेकी महिला कसरी अर्को पुरूषसँग आकर्षण हुन सक्छे र?’ ट्रेलर हेर्दा यो प्रश्न उठ्नु जायज नै भएको बताउँछिन् स्वस्तिमा।

‘यो प्रश्न उठ्नु जायज पनि हो। किनकी हाम्रो समाजको छुट्टै आइडोलोजी हुन्छ। जुन सीमाभित्र हामी बाँधिएका छौँ। मैले पनि त्यो चरित्रमा काम नगरेको भए र पृष्ठकथा बुझेकी थिइनँ भने त्यस्तै सोच्थे होला’, उनले भनिन्, ‘श्रीमानको लास गाडीमा लगिरहेकी महिला अर्को पुरूषसँग नजिक हुनु फिल्मको लागि चुनौती पनि हो। किनकी यसलाई दर्शकले गलत मान्न सक्छन्। तर फिल्म हेरेपछि किन त्यस्तो अवस्था आयो भनेर दर्शक आफैँ सोच्न बाध्य हुनेछन्।’

फिल्म ‘चिसो मान्छे’ काम गरेपछि आफ्नो सोच्ने तरिका नै परिवर्तन भएको उनको अनुभव छ।

‘यसमा काम गरेपछि मेरो सोच निकै परिवर्तन भएको छ। कसैलाई जज गर्नुअघि त्यसको पृष्ठभूमि के हो भनेर बुझ्नुपर्ने रहेछ भन्ने लागेको छ। हामीले स्वतन्त्र बसेर पनि सोच्नुपर्ने रहेछ। समाजले राखेको नैतिकताका मापदण्डभित्र बसेरमात्रै होइन, त्यो भन्दा बाहिर बसेर पनि हेर्नुपर्ने रहेछ भन्ने कुरा महसुस गरेकी छु,’ उनले सुनाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell