PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नजिकबाट घटना 'बुझेका' एआइजी सुवेदीले सुल्टाउलान् चार वर्षअघिको निर्मला प्रकरण?



सविन ढकाल

नजिकबाट घटना 'बुझेका' एआइजी सुवेदीले सुल्टाउलान् चार वर्षअघिको निर्मला प्रकरण?

काठमाडौं :  'उत्तमले  केही मानिसलाई शंका गरेको छ। उ त केस सल्टिने सम्मको कुरा गरिरहेको छ,' तत्कालिन प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री भनिरहेका थिए। उनले यस्तो भनिरहँदा केही अनलाइन मिडियामा तत्कालिन सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले दिन नै तोकेर घटनाको अभियुक्त सार्वजनिक गर्ने समाचार आइरहेको थियो।

कुरा २०७७ चैततिरको। जेठ २३ गते अतिरिक्त महानिरिक्षक (एआइजी)मा बढुवा भएका उत्तमराज सुवेदीले तत्कालिन महानिरीक्षक थापालाई प्रहरी प्रधान कार्यालय नक्सालमा भेटेर निर्मला प्रकरणको ब्रिफिङ् गरेका थिए।

२०७७ माघ २१ गते बिहान ८ बजे विद्यालय गएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा ७ चडेपानीकी १२ कक्षामा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको दोस्रो दिन गाउँ नजिकैको लवलेक सामुदायिक वनमा शव फेला पर्‍यो। देशभर यो घटनाको चर्चा हुन थाल्यो। डीआइजी सुवेदी आफैँ घटनाको अनुसन्धान गर्न बैतडी पुगे। जिल्लाका प्रहरी प्रमुखसमेत कमै सामेल हुने यस्ता घटनामा डीआइजी आफैँ बसेर अनुसन्धान गर्नुले सुवेदीको चर्चा हुन थालिसकेको थियो।

झन्डै दुई सातापछि प्रहरीले भागरथीको हत्यामा संलग्न एक अभियुक्तलाई पक्राउ गर्‍यो। घटनासँगै डीआइजी सुवेदी पनि सफल साबित भए। त्यसपछि उनलाई झनै ऊर्जा मिल्यो - तीन वर्षदेखि नसुल्टिएको निर्मला पन्त प्रकरण। त्यसमा चासो देखाउन थाले सुवेदीले। त्यसो त महानिरीक्षक क्षेत्रीले तत्कालिन डीआइजी सुवेदीले निर्मला प्रकरणमा देखाएका अभियुक्त र अनुसन्धानमा खासै धरातल देखनन्।

अनुसन्धानको कुरा बाहिर नदिन र अझै सबुत प्रमाणसहित अनुसन्धान गर्न निर्देशन दिए। निर्मला प्रकरणको नजिक पुग्न लागेको भन्दै डीआइजी सुवेदीले तत्काल सरुवा नगर्नसमेत प्रहरी महानिरीक्षकसँग अनुरोध गरेका थिए।

देशमा बढ्दो कोरोना महामारी र सरकारको नेतृत्व गरिरहेको नेकपाभित्रको कलहले तत्काल गर्नुपर्ने डीआइजी सरुवा पर धकेलियो। तर बाँकी अवधिमा डिआइजी सुवदीले निर्मला प्रकरणमा अभियुक्तसम्म पुग्ने कुनै प्रभावकारी काम गर्न सकेनन्। वा उनको अनुसन्धान बिचैमा टुङ्गियो। केही समयपछि डिआइजी सुवेदीको सरुवा भयो। २०७८ असारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भए।

समय बित्दै गयो। निर्मला प्रकरण टुङ्गिएन। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालमा भएको १३ वर्षीया निर्मला पन्तको घटनाको अनुसन्धान तीन जना प्रहरी महानिरीक्षक फेरिसक्दा पनि ज्यूँका त्यूँ नै छ। फेरिएका हरेक प्रहरी महानिरीक्षको पहिलो प्राथमिकतामा निर्मला प्रकरण पर्ने गरेको छ। तर त्यसको अनुसन्धान फेरिएका महानिरीक्षकले टुङ्ग्याउन सकेका छैनन्। हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पनि निर्मला प्रकरण आफ्नो प्राथमिकतामा परेको बताएका छन्। प्रहरी महानिरीक्षकमा नियुक्त भएको एक महिना पुगेको अवसरमा पत्रकार भेटघाट कार्यक्रममा महानिरीक्षक सिंहले पुराना जघन्य अपराधका घटनाको अनुसन्धानमा प्रहरी लागेको दाबी गर्दै उनले निर्मला पन्त प्रकरणलाई प्राथमिकतामा राखेर काम भइरहेको बताएका हुन्।

प्रहरी महानिरीक्षक सिंहले निर्मला प्रकरणमा अनुसन्धानको काम तीव्र रुपमा अघि बढिरहेको बताइरहेका छन्। उनले विगतका जघन्य प्रकृतिका अपराधहरुको अनुसन्धान पनि तीव्र रुपमा भइरहेको बताए। १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पुग्न लागेको छ।

अब प्रहरी महानिरीक्षक सिंहसँगै निर्मला प्रकरणको जिम्मेवारी एआइजी उत्तमराज सुवेदीको काँधमा सरेको छ। एआइजीमा बढुवा भएपछि अहिले सुवेदी केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) मा सरुवा भएका छन्। सोमवारबाट उनले सिआइबीको जिम्मेवारी सम्हालेका छन्। सिआइबीलाई देशभरका जघन्य प्रकृतिका अपराधको अनुसन्धान गर्ने अधिकार रहेको हुन्छ। प्रत्यक्ष प्रहरी महानिरीक्षकसँग सम्पर्कमा रहेक सिआइबीले काम गर्ने छ।

सुदूरपश्चिम प्रहरी प्रमुख हुँदा एइआइजी सुवेदीले निर्मला घटनलाई नजिकबाट हेर्न मौका पाएका छन्। त्यसमाथि घटनाको नजिक नजिक पुगेको दाबी गरे। सरुवाको कारण अनुसन्धानमा बाधा पुगेको भए सुवेदीको लागि यो अवसर हुनसक्ने छ। अहिले पनि सिआइबीबाट डिएसपीको नेतृत्वमा निर्मला प्रकरणको अनुसन्धान गर्न टोली कञ्चनपुरमा बसेर अनुसन्धान गरिरहेको छ।

एआइजी सुवेदी पनि अहिले निर्मला प्रकरण आफ्नो पहिलो प्राथमिकतामा परेको दाबी गर्छन्। 'यो संगठनको प्राथमिकताको घटना पनि हो त्यसमाथि हाम्रो झनै प्राथमिकतामा परेको छ,' एआइजी सुवेदीले भने।

सुवेदी सुदुरपश्चिम प्रहरी प्रमुख हुँदा निर्मला प्रकरण सुल्टाउन समय माग्दा संगठनभित्र सिआइबीमा सरुवाको लागि 'चलेको चाल' हो भन्ने आरोपसमेत लगाएका थिए। सुवेदीको हालको सरुवा उनीमाथि लागेको आरोपलाई असत्य सावित गर्न र सबैको चासोको घटना निर्मला प्रकरण सुल्टाउन अवसरसमेत रहनेछ। तर  निर्मला प्रकरणले प्रहरीले बेलाबेला गर्ने 'फण्डा'  र गलत व्यक्तिलाई दबावमा अभियुक्त सार्वजनिक गर्ने हत्कण्डबाट टाढै बसेर निष्पक्ष अनुसन्धान गर्न सुवेदीले सक्ला कि नसक्ला? चुनौती अझै बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell