PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

राजेशको हत्यामा प्रहरी हवाल्दार नै सहयोगी! घटना नियोजित भएको लखपतिको आरोप



राधेश्याम पटेल

राजेशको हत्यामा प्रहरी हवाल्दार नै सहयोगी! घटना नियोजित भएको लखपतिको आरोप
मृतक राजेशकी श्रीमती लखपति देवी।

वीरगंज : पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–२ वैरियाविर्ता बस्ने ३६ वर्षीय राजेश रामको हत्या नियोजित भएको उनको परिवारले आरोप लगाएका छन्। मृतक राजेशकी पत्नी लखपति देवीले यस्तो आरोप लगाएकी हुन्।

केही दिनदेखि भिनाजु पर्ने पर्सा जगरनाथपुर गाउँपालिका–६ औराहाका हीरामन महरा र निजका भाइ रामबालक महराले रिसइबी साँध्दै आएको र घटनाको दुई दिनअघि फोन गरेर घरमा बोलाएको दाबीसमेत उनले गरिन्।

'जेठ २६ गते बिहान फोन गरेर औराहा आउन भिनाजुले भन्नुभएको थियो। त्यसपछि उहाँ जानुभयो,' लखपतिले भनिन्, 'घटनाको अघिल्लो साँझ जेठ २७ गते राति मेरो पति, भिनाजु र निजका भाइसँगै मासु पकाएर दारू पनि खाएको सुनेको छु।'

राजेशकी बहिनी शान्ति देवीले पनि प्रहरीले भनेअनुसार राजेशको आचरण नरहेको दाबी गरिन्। पर्सा प्रहरीले भिनाजुकै परिवारको एक महिलासँग अनैतिक सम्बन्ध प्रकाशमा आएपछि त्यो घटना भएको आशंकामा शान्तिको भनाई थियो, 'हामीलाई बाल्यकालदेखि उसको चालचलन थाहा छ। गाउँमा कसैसँग बोल्दैन, काठमाडौंमा पेन्टको ठेकेदारी गर्नुहुन्थ्यो। वैशाख २९ गते उनी काठमाडौंबाट घर आउनुभएको थियो। उनले यदि केही गल्ती गर्नुभएको थियो भने ज्यान लिनुपर्ने कारण कसरी आयो? आवश्यक कारबाइको लागि परिवारजन, प्रहरी प्रशासन, समाज छ कि छैन?'

राजेश रामको हत्यामा पर्सा प्रहरीले ज्यान मुद्दामा निजका भिनाजु ४५ वर्षीय हीरामन महरा, ३५ वर्षीय रामबालक महरा, हीरामनकी पत्नी एवं राजेशकी दिदी वसन्ती देवी, रामबालककी पत्नी सुनीता देवी र हीरामनको बुहारी रिङ्कु देवी गरी पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

जेठ २८ गते बिहान सवा ११ बजे औराहा नजीकै नारा खोलाबाट घाँटीमा गम्छा बेरिएको अवस्थामा राजेशको शव भेटिएको थियो। घाँटीमा बेरिएको गम्छा राजेशको भिनाजुको रहेको पुष्टि भइसकेको छ। राजेशका दुईजना भाइहरू सुनेश र मुन्ना राम काठमाडौंमैं पेन्ट र सिलाइको काम गर्छन्। तीन कट्ठा जग्गा रहेको उक्त परिवारमा राजेशको पत्नी लखपति देवीसँगै तीनवटा छोरी र एउटा छोरा गरी चारवटा सन्तान छन्। अहिले उनको क्रिया बुबा चन्द्रदेव रामले गरेका छन्।

घटनामा पक्राउ परेका रामबालक महरा प्रहरी हवल्दार हुन् र उनको अहिले दरबन्दी जिल्ला प्रहरी कार्यालय धादिङमा छ। रामबालकले हत्यामा सहयोगी भूमिका निर्वाह गरेको बताइएको छ। पर्सा प्रहरीले राजेशको अनैतिक सम्बन्ध कुन महिलासँग थियो भन्नेबारे अहिले खुलाउन नमिल्ने जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell