काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताएकी छिन्। राजधानीमा आयोजित आयोगको ७२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विज्ञान र प्रविधिमा भएको विकास तथा चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्नुपर्ने बताएकी हुन्। उनले यसबाट आम नागरिकलाई आयोगका सेवाहरू प्राप्त गर्न सरल र सहज हुने अपेक्षा लिएको बताए।
ठूलो राजनीतिक परिवर्तनपश्चात् मुलुक क्रमशः आर्थिक रूपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको सन्दर्भ जोड्दै राष्ट्रपति भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामतीसहितका सरकारी संयन्त्रको रहेको र सोही अनुरूपको जनशक्ति छनोट गर्नु अत्यावश्यक भएको बताइन्।
राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रणालीमा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको थप ध्यान जाने अपेक्षा लिएकी छिन्।
समारोहमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी छनोटका लागि लिइने परीक्षाको उत्तरपुस्तिका परीक्षण विधि र प्रविधिमा निरन्तर सुधार गर्दै आएको जानकारी दिएका थिए। उनले उत्तरपुस्तिका परीक्षण प्रणालीलाई थप विश्वसनीय बनाउन सहसचिव, उपसचिव वा सो सरहका पदहरुमा दुईजना विज्ञबाट अलग अलग रुपमा दोहोरो परीक्षण गर्ने शाखा अधिकृत वा सो सरहको पदका उत्तरपुस्तिका तथा सङ्गठित संस्थातर्फका नवौं वा सोभन्दा माथिका पदका परीक्षाका उत्तरपुस्तिका आयोगमा नै विज्ञद्वारा परीक्षण गराउने पद्धतिको विकास गरिएको जानकारी दिएका थिए।