PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

सांसदको प्रश्न : काठमाडौंको फोहोर कहिलेसम्म उठ्छ ? मन्त्री झाँक्रीको उत्तर :असार मसान्तसम्म बञ्चरेडाँडा ल्यान्डफिल साइट बन्छ



पहिलोपोस्ट

सांसदको प्रश्न : काठमाडौंको फोहोर कहिलेसम्म उठ्छ ? मन्त्री झाँक्रीको उत्तर :असार मसान्तसम्म  बञ्चरेडाँडा ल्यान्डफिल साइट बन्छ

काठमाडौं : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले फोहोरमैला प्राविधिक सहायता केन्द्र स्थापना गरिएको जानकारी दिएकी छिन्। आज प्रतिनिधिसभामा सांसदहरुले उठाएको मन्त्रालयसम्बन्धि प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले सो केन्द्रबाटै फोहोरमैला व्यवस्थापनको लागि प्राविधिक सहायता प्रदान गरिने बताइन्।

उनले भनिन्, ‘संघीयतापछि फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई छ कानुनतः। तर, काठमाडौंको फोहोरको समस्या विकराल थियो। काठमाडौं मात्रै होइन विराटनगर जनकपुर वीरगंज लगायतका सबै ठूला सहरहरुमा फोहोरमैलाको समस्या ज्यूँका त्यूँ छ। स्थानीय विकास मन्त्रालय खारेज भएपछि त्यहाँ रहेको फोहोरमैला व्यवस्थापन प्राविधिक स्रोत केन्द्र पनि खारेज भयो। फोहोरमैला बढी भएका शहरहरुमा व्यवस्थापनको लागि केन्द्रीय निकाय नभएको भन्ने कुरा आएपछि मन्त्रीस्तरीय निर्णयले हामीले फोहोरमैला प्राविधिक सहायता केन्द्र भनेर मन्त्रालयस्तरमा गठन गरेका छौँ।’

यसलाई संस्थाको रुपमा विकास गरेर यसबाट प्राविधिक सहायत दिने, पूर्वाधार बनाउनुका साथै कुन प्रकारको फोहोरलाई कसरी विसर्जन गर्ने भन्ने सम्बन्धमा प्राविधिक सहायता दिने उनको भनाइ थियो।

‘फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले त्यसलाई स्वीकृत गर्दै संस्थाको रुपमा विकास गरेर प्राविधिक सहायत दिने, पूर्वाधार बनाइदिने, त्यतिमात्रै होइन कुन प्रकारको फोहोरलाई कसरी विसर्जन गर्ने भन्ने सम्बन्धमा प्राविधिक सहायता दिन केन्द्रले काम गर्नेछ। आगामी आर्थिक वर्षको बजेटमार्फत यसको संरचना बन्नेक्रममा छ,’ उनले भनिन्।

प्रतिनिधिसभामा सांसदहरुले मन्त्री झाँक्रीलाई काठमाडौंको फोहोर व्यवस्थापनबारे प्रश्न गरेका थिए। फोहोर कहिलेसम्म उठ्छ देखि ल्यान्डफिल साइट कहिलेसम्म बन्छ भनेर सांसदहरुले प्रश्न गरेका थिए।

जवाफमा सिसडोलमा २ वर्षको लागि ल्यान्डफिल साइट बनाइएको भन्दै उनले त्यहाँ १७ वर्ष फोहोर खसालिएको उनले बताइन्।

उनले भनिन्, ‘त्यसको विकल्पमा बञ्चरेडाँडामा स्थायी स्यानीटरी ल्यान्डफिल साइट रिकभरी सेन्टर बनाउने भन्ने योजना थियो। विविध कारणले त्यो भएन। म शहरी विकास मन्त्रालयको नेतृत्व लिएर आउँदै गर्दा बञ्चरेडाँडामा काम भइरहेको स्थानमा काम रोकियो, काम हुने अवस्था थिएन। स्थानीयले तमाम अवरोधहरु गरेका थिए। स्थानीयसँग सबै पक्षले सम्झौता गरेको थियो तर यो सम्झौता कार्यान्वयन भएको थिइन। त्यही कारणले साइटमा काम गर्न डिस्टर्ब थियो।’

आफूहरुले स्थानीयसँग सम्झौता गरेर त्यसलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराएको उनले जानकारी दिइन्। अब बञ्चरेडाँडा ल्यान्डफिल साइटलाई असारमसान्तसम्म सक्ने र त्यहाँ जाने बाटोको स्तरोन्तति गर्ने तथा आगामी दिनमा फोहोरमैला बोक्ने छुट्टै बाटो बनाइने उनले बताइन्।

उनले भनिन्, ‘त्यहाँ वैज्ञानिक विसर्जनको काम गर्ने योजना छ।’

फोहोरलाई स्रोतमै व्यवस्थापन गर्न सके ८० प्रतिशत फोहोर ल्यान्डफिल साइटमा लैजान नपर्ने उनको भनाइ थियो।

काठमाडौंको फोहोर नउठ्दा लामो समयसम्म शहर दुर्गन्धित भएको थियो। साथै, सुरुवा रोग फैलिन सक्ने चेतावनी विज्ञहरुले दिएका थिए। केहीदिन अघि शहरी विकास मन्त्रालयको संयोजनमा भएको वार्तामा फोहोर फाल्न दिने सहमति भएको थियो। यस्तै, काठमाडौं महानगरपालिका र स्थानीयबिच पनि फोहोर फाल्नेबारे सहमति भएको थियो। महानगर प्रमुख बालेन्द्र साहले फोहोर व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell