काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साँढे १० अर्ब बजेट कटौति गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन्।
बुधवार विनियोजन बजेटमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक-पटक आग्रह गर्दापनि अर्थमन्त्री शर्माले सो बजेट कटौति गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौति गर्नुपर्दा आफूलाई अति दुःख लागेको प्रतिक्रिया समेत दिए।
उनले बजेटको आकार भने ९ दशमलव ८ प्रतिशत बढ्ने तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौति भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिएको स्पष्ट पारे। अर्थ मन्त्रालयले बजेट कटौति गरेका कारण सांसदहरुको निर्वाचन क्षेत्रमा रहेका आयोजनाहरुलाई निरन्तरता दिन नसकेको विषयलाई आफूले सहज रुपमा लिएको पनि मन्त्री आलेले बताए।
उनले भने, ‘बजेट गत वर्षको भन्दा ९ दशमलव ८ प्रतिशत वृद्धि भएको छ। तर, मैले यो रोष्टममा उभिएर भनिरहँदा मेरो मन्त्रालय मात्र साँढे १० अर्ब बजेट कटौति भएको अवस्था छ। मैले पटक-पटक अर्थमन्त्रीजीलाई बजेट कटौति गरिदिनु भएन भन्दाखेरी कतिपय हामीले स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रमहरु पनि कटौति भएका छन्। मैले भन्नैपर्छ दुःखका साथ। त्यसो भएको हुनाले तपाईहरुले मलाई राखेको जिज्ञासालाई मैले सहज रुपमा लिएको छु।’
मन्त्री आलेले ६ महिना भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताए।