PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम परराष्ट्र नीति विपरित : महासचिव पोखरेल



पहिलोपोस्ट

अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम परराष्ट्र नीति विपरित : महासचिव पोखरेल

बुटवल : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)प्रति असहमति जनाएका छन्। उनले पञ्चशिलको परराष्ट्र नीति विपरित गरिने कुनै पनि सम्झौता मान्य नहुने बताए।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले असंलग्नताको नीति विपरित कुनै सैन्य संगठनको अंग बन्ने कुरा एमालेले स्वीकार नगर्ने बताएका हुन्। नेपालको असंलग्न परराष्ट्र नीतिलाई प्रतिकुल बनाउने गरी सम्झौता गर्ने गरिएको प्रस्तावको एमालेले विरोध गरेको बताए।

‘नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत अमेरिकी सैन्य रणनीतिमा देशलाई पुर्‍याएर गलत काम भइरहेको छ। कुनैपनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले छैन,’ उनले भने।

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि बलियो शक्तिको आवश्यकता रहेको बताए। उनले गठबन्धनको राजनीति नीतिगत अस्थिरता र बैदेशिक चलखेललाई आमन्त्रण गर्ने राजनीति भएको टिप्पणी गरे।

एमालेलाई सिध्याउने गरी गठबन्धन गर्दा पनि आफूहरुले जनमत राम्रो पाएको बताउँदै आगामी चुनावमा पनि एक्लै लड्न सक्ने उनले बताए। गठबन्धनले सफलता हासिल गरेको स्वीकार गर्दै उनले एमालेले विगतको परिणाम गुमाएपनि जनताको लोकप्रिय मत बढि पाएको बताए।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका पोखरेलले गठबन्धनको सरकार स्वार्थबाट सिर्जना भएको बताउँदै नेपाली कांग्रेसले विकास र समृद्धिलाई ओझेलमा पारेर सत्ता स्वार्थका लागि गठबन्धन गरेको बताए। उनले १० महिनाको अवधिमा मुलुक असाधारण संकटमा गएको समेत औँल्याए।

‘मूल्यवृद्धि अत्यधिक बढेको छ। रेमिटेन्स वैध बाटोबाट आउन छाडेको छ। बैंकमा समेत रकम छैन। लगानी गर्ने क्षमता बैंकले गुमाईसकेका छन्। नेपाली रकम कालो धनवालाको ढुकुटीमा थन्किएको छ। मूल्यवृद्धि एमालेको सरकार हुँदा ३.७ प्रतिशत थियो अहिले ७ प्रतिशत भन्दा बढी छ। तर, कांग्रेसको ध्यान सत्ता टिकाउनेमा मात्र छ,’ उनले भने।

त्यस्तै, लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीका बारेमा आएका टिप्पणीबारे सरकार बेखबर हुन नपाउने उनले बताए। कानुन हातमा लिने अधिकार कसैलाई नभएको उल्लेख गर्दै उनले सरकारले यसबारे यथोचित जवाफ दिनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell