PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

आठ वर्षअघिको घटनामा समातिएका मनोज पाण्डेविरुद्ध अदालतमा मुद्दा दायर, १८ वर्षसम्म जेल सजाय माग



पहिलोपोस्ट

आठ वर्षअघिको घटनामा समातिएका मनोज पाण्डेविरुद्ध अदालतमा मुद्दा दायर, १८ वर्षसम्म जेल सजाय माग

काठमाडौं:  आठ वर्षअघि १६ वर्षकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध  बुधबार अदालतमा अभियोग पत्र दायर भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले अभियोगपत्र दर्ता गराएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार नै अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

दुईवटा घटनामा १८ वर्षसम्म जेल सजाय माग गरिएको सरकारी वकिल कार्यालय काठमाडौंका महान्यायाधिवक्ता गङ्गाप्रसाद पौडेलले जानकारी दिए। मानव बेचबिखन तथा ओसारपसारमा र बाल यौनदुर्व्यवहारमा मुद्दा दर्ता भएको हो।

सौन्दर्य प्रतियोगिताको नाममा सक्सेस पार्टी भनेर होटेलमा बोलाएर बेहोस बनाउँदै बलात्कार गरेको आरोप लागेपछि पाण्डे जेठ ७ गते पक्राउ गरेका थिए। नेपाल प्रहरीको अनुसन्धान महाशाखाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो। २२ दिनसम्म अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकिल कार्यालयमा बुझाएको हो। प्रहरीले घटनासँग सम्बन्धितको बयान, पीडितको बयान लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ।

टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एक जना युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि अनुसन्धान सुरु भएको थियो। २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेशनल नामक ब्युटी प्याजेन्टका क्रममा होटेलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विभिन्न तहका मानिसले कारबाही गर्न दबाब दिएका छन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

आठ वर्ष अगाडिको घटना भएकाले हदम्याद लाग्ने भएपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा म्याद थप गरी अनुसन्धान गरेको थियो। अर्की एक जना किशोरीले पनि पाण्डेविरुद्ध उजुरी दिएकाले प्रहरीले बाल यौन शोषणविरुद्ध पनि अनुसन्धान गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell