
काठमाडौं : श्रम अदालतले यस आर्थिक वर्षको जेठ महिनासम्ममा १६८ थान मुद्दा दर्ता भएको जानकारी दिएको छ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अदालतले यसबारेमा जानकारी गराएको हो।
श्रम अदालतकी सूचना अधिकारी रत्ना घिमिरेले गत वर्षदेखि बाँकी रहेको र यस वर्ष दर्ता भएका श्रमसम्बन्धि ३९७ मुद्दामध्ये २०४ वटा मुद्दाको फर्छ्योट भएको बताइन्। उनले आर्थिक वर्ष २०७७/०७८ मा वार्षिक लागत जिम्मेवारीतर्फ ११५, नयाँ दर्तातर्फ १९९ गरी कुल ३१४ रहेको बताइन्।
त्यस्तै, फर्छ्योटमा फर्छ्योट लक्ष्य १८३, फर्छ्योट ८५ र फर्छ्योट प्रतिशत ४६ रहेको बताइन्। गत आर्थिक वर्षमा फर्छ्योट प्रतिशत ६७ थियो।
यस्तै, आर्थिक वर्ष २०७७/०७८ को मासिक लागत लक्ष्य साउनमा १६, भदौमा ३०, असोजमा ३०, कात्तिकमा १२, मंसिरमा २८, पुसमा २८, माघमा ३०, फागुनमा २५, चैतमा ३३ र २०७९ को बैशाखमा २९ र जेठमा ३२ वटा मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेकोमा क्रमशः साउनमा २, भदौमा १४, असोजा १७, कार्तिकमा ४, मंसिरमा ९, पुसमा १२, माघमा ५, फागुनमा ३०, चैत मा१७ र २०७९ मा बैशाखमा २५ र जेठमा ५६ वटा मुद्दा फर्छ्योट गरेको छ।
सूचना अधिकारी घिमिरेले कार्यालय भाडामा सञ्चालन भइरहेको र कोठाको अभाव रहेको, पार्किङ स्थलको अभाव, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानरको न्यून उपलब्धता, सदस्यहरुको सवारी साधन पुरानो भएको र कार्यालयमा आवश्यक पर्ने आधारभुत सवारीसाधन पर्याप्त नभएको बताइन्। आर्थिक वर्ष २०७८/०७९ मा रेडियो नेपाल विपक्षी भएको तीन थान मुद्दा मिलापत्र भएको छ।
त्यस्तै, सञ्चारसम्बन्धि ४ वटा मुद्दाहरु पुनर्वहाली भएको छ, जसमा टि.बि. आई विपक्षी भएको मुद्दामा पुनरावेदक विजय देवकोटाको पुनर्वहाली, शिलापत्र मिडिया विपक्षी भएको मुद्दामा पुनरावेदक कृष्णराज गिरीको पुनर्वहाली, विपक्षी बीबीसी वर्ल्ड सर्भिस भएको मुद्दामा पुनरावेदक अनुज कुँवरको पुनर्वहाली भएको छ भने विपक्षी नेपाल ब्रोडकास्टिङ प्रालि भएको मुद्दामा पुनरावेदक निरज खतिवडाको पुनर्वहाली भएको छ। हिमालय टिभीको १, कान्तिपुर पब्लिकेशनको २, टाइम्स ब्रोडकाष्टिङको १ र स्पेस टाइम नेटवर्कको एक मुद्दा कारबाहीको क्रममा रहेको छ।