PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मतीको महत्वाकांक्षी बजेटः मुख्यमन्त्री सीप कार्यक्रम, उत्पादनमा आधारित बाहेकका सबै कृषि अनुदान खारेज



निशा गुरुङ

वाग्मतीको महत्वाकांक्षी बजेटः मुख्यमन्त्री सीप कार्यक्रम, उत्पादनमा आधारित बाहेकका सबै कृषि अनुदान खारेज

हेटौंडाः वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा ७० अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।

बजेटमध्ये चालुतर्फ १९ अर्ब २ करोड, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब र वित्तीय व्यवस्थापजमा २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।

अघिल्लो वर्ष ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रदेश सरकारले ल्याएको थियो। चालु वर्षको तुलनामा करिब १३ अर्ब रुपैयाँ बजेट आकार बढेको हो।

भौतिक पूर्वाधारमा बढी

मन्त्रालयतर्फ सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजन गरिएको मन्त्री जम्कट्टेलले बताए। भौतिक पूर्वाधारमा २४ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रादेशिक लोकमार्ग र निर्माणाधीन सडकहरुलाई प्राथमिकतामा राखिएको छ।

सामाजिक विकास मन्त्रालयलाई ३ अर्ब ७७ करोड ३ लाख, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ६५ करोड १५ लाख, कृषि तथा पशुपन्छी मन्त्रालयलाई ४ अर्ब ४९ करोड ३० लाख, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ८२ करोड ३ लाख, संस्कृति तथा पर्यटन मन्त्रालयलाई १ अर्ब ८६ करोड ९१ लाख, वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २३ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणलाई २४ करोड ३७ लाख,  श्रम रोजगार तथा यातायात मन्त्रालयलाई ९४ करोड २४ लाख,  स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब ८९ करोड २३ लाख, युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब २२ करोड ६५ लाख, खानेपानी  उर्जा तथा सिँचाइ मन्त्रालयलाई ९ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको छ।

प्रदेश सरकारले हेटौंडामा निर्माणाधीन दूग्ध पाउडर प्लान्ट सञ्चालनमा ल्याउने भएको छ। सरकारले काभ्रे जिल्लामा पनि मिनी दूग्ध पाउडर प्लान्ट स्थापना गर्नेगरी बजेट विनियोजन गरिएको बताए। यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा बजेटमा गरिएको छ।

यस्तै, जम्कट्टेलले प्रदेश सरकारले ११९ वटा स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन गरेको घोषणा गरे। प्राङ्गरिक मलको प्रयोगमा प्रोत्साहन गर्न ५ करोड ७५ लाख रुपैयाँ बजेट सरकारले छुट्याएको छ।

प्रदेश सरकारले प्रदेश भरका १० हजार युवालाई स्वरोजगार मुख्यमन्त्री सीप विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

प्रतिपक्षको आलोचना

बजेट यथार्थपरक नभएको विपक्षी दलहरूले टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले समय अभावमा सरकारका सबै योजना कार्यान्वयन सम्भव नहुने बताइन।

उनले आफ्नो आयू हेरेर मात्रै योजना ल्याउनुपर्नेमा अहिले गठबन्धनको सरकारले कार्यान्वयन नहुने बजेट ल्याएको आरोप लगाइन।

सांसद रमेश पौड्यालले महङ्गीको समयमा जनतालाई सम्बोधन गर्ने बजेट नआएको बताए । सरकारले खर्च कटौटी नगरी लोकप्रियता मात्र हेरेको टिप्पणी उनले गरे।

सांसद रिना गुरुङले प्रदेश सरकारले ल्याएको बजेट आशा देखाउन मात्रै ल्याएको आरोप लगाइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell