PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

लुम्बिनी सरकारको बजेटः कुन क्षेत्रमा कति विनियोजन?



रमेश पराजुली

लुम्बिनी सरकारको बजेटः कुन क्षेत्रमा कति विनियोजन?

बुटवलः लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट सार्वजनिक गरेको छ। बजेट चालू वर्षको भन्दा १ अर्ब ६७ करोड ६० लाख रुपैयाँले बढी हो।

आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेश सभामा बजेट प्रस्तुत गरे।

विनियोजनमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख (३१.२६ प्रतिशत) र पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख (५७.४१ प्रतिशत) रहेको छ।

वित्तीय समानीकरण अनुदान, समपुरक अनुदान, सशर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब  ८३ करोड १० लाख विनियोजन गरिएको छ। वित्तीय हस्तान्तरणको अंश ११ दशमलव ३३ प्रतिशत रहेको छ।

आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमका लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ३ अर्ब १० करोड,  संघ र स्थानीय सरकारबाट प्राप्ति हुने राजस्व बाँडफाँटबाट १५ अर्ब ३५ करोड ३४ लाख, रोयल्टी बाँडफाँटबाट ७० करोड रुपैयाँ प्राप्त हुने सरकारले अपेक्षा गरेको छ।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५४ करोड १७ लाख,  सशर्त अनुदानबाट ८ अर्ब ७१ करोड २२ लाख, समपुरक अनुदानबाट ७३ करोड ९० लाख,  विशेष अनुदानबाट ४८ करोड ३५ लाख, चालु आर्थिक वर्षको बचत रकमबाट ४ अर्ब रहने र आन्तरिक ऋणबाट १ अर्ब रुपैयाँ परिचालन हुने अनुमान गरिएको छ।

बजेटमा प्रदेशका गौरवका योजनाका लागि १ अर्ब ६९ करोड छुट्याइएको छ भने रुपन्देहीमा रहेका प्रदेश मन्त्रालय एक वर्षभित्र स्थायी राजधानी दाङमा सार्न, राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण र सरस्वती माविको स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै प्रदेशभित्र एक स्थानमा कम्पोस्ट मल र ७५ वटा गड्यौले मल उत्पादन केन्द्र स्थापना गर्न ४ करोड २५ लाख छुट्याइएको छ।

सिँचाइसहितको व्यावसायिक कृषि बाली विकासका लागि २९ करोड बजेट विनियोजन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell