PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एमाले, माओवादी र समाजवादी एकता गर्ने घनश्यामको सूत्र: माफी सप्ताह मनाउने, गोप्य सम्झौता गलत भन्ने



प्रकाश भण्डारी

एमाले, माओवादी र समाजवादी एकता गर्ने घनश्यामको सूत्र: माफी सप्ताह मनाउने, गोप्य सम्झौता गलत भन्ने
फोटोः भुसालको फेसबुकबाट

काठमाडौं: स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) २०७४ सालको तुलनामा पराजित भएपछि अहिले वाम गठबन्धनको चर्चा छ। सत्ता गठबन्धन कायमै रहे प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा अझ बढी ठाउँमा एमाले पराजित हुने भन्दै एमालेकै नेताहरूले गठबन्धनलाई भत्काएर वाम चुनावी मोर्चाको पक्षमा बोल्न थालेका छन्।

तर, एमाले र अरू कम्युनिस्ट घटक दलका नेतृत्व पङ्क्ति वाम मोर्चा सम्भव नभएको दाबी गरिरहेको छ। यद्यपि, एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता गरेर अघि बढ्न सकिने तर्क गरेका छन्।

राष्ट्रिय सभामा बुधबार आयोजित ‘कम्युनिस्ट आन्दोलन: संकट र अबको बाटो’ विषयक कार्यक्रममा उनले एकताका लागि विभिन्न उपाय सुझाएका छन्। एमाले अनुशासन आयोगले अध्यक्ष केपी शर्मा ओली र पार्टी नीतिको सार्वजनिक रूपमा आलोचना गरेको भन्दै भुसालमाथि कारबाहीको सिफारिस गरेको थियो। आफूमाथि कारबाहीको सिफारिस भएपछि सार्वजनिक मञ्चमा कम्युनिस्ट आन्दोलनमा देखिएको संकटबारे धारणा राखेका भुसालले नेकपा (माओवादी केन्द्र) र एमाले मिलेर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को एकता विचारहीन भएको टिप्पणी गरे।

एमाले अध्यक्ष ‌ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको गोप्य सहमति पालना नहुँदा र नेतृत्वको अहङ्कारका कारण कम्युनिस्ट एकता भत्किएको भुसालको तर्क छ। फेरि पनि कम्युनिस्ट पार्टीबीच एकताको विकल्प नभएको भन्दै भुसालले विभिन्न उपाय सुझाएका छन्। उनले एकताका लागि अहिलेदेखिनै लागेमा आउने चुनावमा राम्रो मत ल्याउन सकिने बताए। एकताका आधार तयार पारेर टिकट वितरणमा समेत संगठनात्मक नीति सिद्धान्त लागू गरिनुपर्ने बताए। अहिले एमालेका अधिकांश नेता कार्यकर्ताहरूले चुनावमा टिकट नपाइने डरले ओलीविरुद्ध बोल्न नसकेको भुसालको भनाई छ। अहिले चुनावमा बाहिरबाट उम्मेदवार ल्याएर चुनाव जित्ने गलत परिपाटी हाबी भएको भन्दै पार्टी कमिटी सिस्टम महत्त्वहीन बनाउन खोजिएको आरोप लगाए।

माफी सप्ताह मनाउने, एकता सिद्धान्तहीन भएको स्विकार्ने

भुसालले नेकपाको एकता सिद्धान्तहीन भएको स्विकार्नुपर्ने बताए। त्यसका लागि प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्रीका लागि भएको सम्झौता गर्नु गलत भएको मान्नुपर्ने भुसालले भनाई छ। भुसालले एकताका लागि सुझाएको अर्को सूत्र हो -प्रतिनिधि सभा विघटन गर्नु गलत थियो भनेर मान्नुपर्ने। भुसालले एकताका लागि तेस्रो उपाय सिद्धान्त अनुसारको कार्यक्रम र नीति बनाउँछौँ भनेर घोषणा गर्नुपर्ने बताए। ‘वाम मोर्चा बनाएर जाने घोषणा’ एकताका लागि भुसालले सुझाएको चौथो उपाय हो। उनले अहिले नेतृत्वमाथि विश्वास नभएको भन्दै एकता गर्ने भए माफी सप्ताह मनाउनुपर्ने बताए।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा सैद्धान्तिक भिन्नता नभएको भुसालको दाबी छ। सैद्धान्तिक भिन्नता नभएकाले एकताको विकल्प नभएको उनको भनाई छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले बैठकहरूमा माओवादी र समाजवादी भन्दा एमालेको भिन्नता के हो? भनेर प्रश्न गर्दा जवाफ नआएको भुसालको भनाई छ।

‘मैले तीन पार्टीका बीचमा सैद्धान्तिक भिन्नता के हो भनेर प्रश्न गर्ने गरेको छु। तर, कसैले पनि यो भिन्नता हो भन्न सकेको छैन,’ उनले भने।

यस्तै माओवादी र समाजवादीका नेताहरूले पनि सैद्धान्तिक भिन्नता देखाउन नसकेको भुसालको भनाई छ।

‘ओलीले कुल्ला गरे कार्यकर्ताले बान्ता गर्छन्’

सैद्धान्तिक भिन्नता नभएकाले नेताहरूले एकले अर्काविरुद्ध विष वमन गरिरहेको भुसालको तर्क छ। नेतृत्वका बीचको अहङ्कारका कारण गाली गर्ने प्रवृत्ति हाबी भएको भुसालले बताए। ‘माधव नेपालको विरुद्ध केपी ओलीले कुल्ला मात्र गरे भने खाँटी कार्यकर्ताले बान्ता गर्छन्,’ भुसालको भनाई छ।

प्रचण्डले एमालेलाई पत्तासाफ गर्छु भन्दा माओवादीका कार्यकर्ताले लाठो लिएर बाटोमा बस्ने गरेको भुसालको टिप्पणी छ। उनले त्यसैलाई माओवादी केन्द्रले आफ्नो योग्यता मानेको आरोप लगाए।

भुसालले कम्युनिस्ट पार्टीको एकता संकटमा परेका कारण लोकतान्त्रिक स्थायित्व संकटमा परेको धारणा व्यक्त गरेका छन्। ‘युवाहरूले सचेतनाका साथ नसोच्ने हो भने खतरामा जाँदैछ, आन्दोलन। नेकपा विभाजनले लोकतान्त्रिक स्थायित्व संकटम पर्‍यो। हामीले गोप्य कुरा पुरा नभएपछि हामीले संसद् हान्यौँ। त्यो हुने कुरा हो?,’ भुसालको प्रश्न छ।

नेकपा एकता कसरी विभाजनमा पुग्यो भन्नेबारेमा अधिकांश समय खर्चिएका भुसालले ओली,प्रचण्ड र नेपालहरू नै समस्याको जड भएको बताए। उनले अहिले कम्युनिस्ट भित्र विभिन्न खालका प्रवृत्ति देखिएको भन्दै एकथरीले कुनै पनि हालतमा एकता हुन नसक्ने भनेर फुटवादको वकालत गरिरहेको आरोप लगाए। भुसालले अहिले एमाले थोरै चिप्लिएको तर समाप्त नभएको बताए। तर, अहिलेकै प्रवृत्तिलाई निरन्तरता दिए आउने निर्वाचनमा समापनको बाटोमा जाने भुसालको भनाई छ।

‘राजनीतिक दबाब हाम्रो खुट्टामुनि आइसक्यो’

नेपालमा भूराजनीतिक दबाब निकै पेचिलो गरी आइसकेको भुसालको तर्क छ। उनले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मार्फत नेपाललाई युक्रेन बनाउन खोजिएको बताए। कम्युनिस्ट विभाजन र बाह्य दबाबलाई लिएर टिप्पणी गरेका भुसालले वाम एकता नभए बाह्य हस्तक्षेप बढेर जाने धारणा व्यक्त गरेका छन्। उनले खम्पा विद्रोहकै बेला नेपाललाई युद्धको मैदान बनाउन खोजिएको भए पनि त्यति बेला बाह्य देश असफल भएको बताए। ‘एसपीपी मार्फत हामीलाई जेलन्सकीतर्फ लैजाँदै छन्। खम्पा विद्रोहकै बेला हामी गइसकेका थियौँ। भूराजनीतिक दबाब हाम्रो खुट्टामुनि आइसक्यो,’ भुसालले भने।

उनले अर्थमन्त्री जनार्दन शर्माको भूमिकालाई लिएर पनि प्रश्न उठाएका छन्। पहिला दलाल पुँजीवादले प्रधानमन्त्री र अर्थमन्त्रीलाई फकाएर आफू अनुकूलका निर्णय गराउने गरेकोमा यसपटक भने बजेट नै दलाल पुँजीवादले बनाउने ठाउँमा पुगेको बताए।

भने, ’अस्ति दलाल पुँजीवाद दरका कर फेर्न आफैँ गयो रे..। यो संकट हाम्रा कारण हो भन्ने बुझ्नुपर्छ। १२२ वाला शेरबहादुरको डोली बोकेर थाकेको छैन।’

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी हारको कारणबारे झुट बोलिरहेको भुसालको आरोप छ। उनले अन्तर्घात र चुनावी धाँधलीका कारण पराजित भएको भन्नु झुट भएको दाबी गरे। पार्टी विभाजनले एमाले पराजित भएको भनेर प्रस्टसँग भन्नुपर्ने भुसालको भनाई छ।

‘हामीले धाँधली भयो अझ अन्तर्घात भयो भनेर झुट बोल्दैछौँ। कुरा के हो भने हामीले झगडा गरेऊ र त्यसको परिणाम राम्रो आएन। आज पनि जोड्दा कम्युनिस्ट मत धेरै छ। आज पनि सम्भावना छ,’ भुसालको भनाई छ।

आफूलाई ओलीको विरोधी र जहिले पनि विभाजनमा रमाउने नेता भनेर एमालेका केही नेताहरूले अन्तर्वार्ता दिइरहेको भन्दै भुसालले आपत्ति जनाए। अब कम्युनिस्ट कार्यकर्ताका अघि एकता वा सत्यानासभन्दा अर्को विकल्प नभएको भुसालले तर्क गरे।

‘एकता वा सत्यानास भनेर दुईवटा कुराभन्दा मान्छेले असम्भव भनेको सुनेको छु। त्यो कस्तो जबज र जनयुद्ध हुन्छ कम्युनिस्ट एकतालाई रोक्छ,’ भुसालले भने।

कम्युनिस्ट पार्टीहरुबीच बेमेल भएकै कारण बेला बेलामा मुलुक संकटमा परेको भुसालको भनाई छ। चुनावदेखि चुनावसम्म जाने परिपार्टीले आमूल परिवर्तन हुन नसकेको बताए।

टंक कार्कीको मत-नेताको चरित्र ठिक भएन भनिरहेका छन्

कम्युनिस्ट एकताबारे नै चर्चा गर्ने अर्का एमालेका नेता हुन टंक कार्की। उनले स्थानीय तह निर्वाचनमा जनताले कम्युनिस्ट नेताको चरित्रमाथि प्रश्न उठाएको बताए। चरित्र ठिक भए मात्रै मत दिन्छौँ नत्र विकल्प खोज्छौँ भन्ने प्रस्ट सन्देश स्थानीय तह निर्वाचनबाट मिलेको उनको भनाई छ।

पार्टी विभाजन हुनुका तीन कारण औँल्याएका कार्कीले मूल कारण भने शासकमा निरङ्कुशता बढ्नु भएको तर्क गरे। नेतृत्वका आकाङ्क्षा र जीवनभरि पार्टी अध्यक्ष हुने चाहनले पनि एकता संकटमा परेको कार्कीको भनाई छ। उनले अहिलेका नेताहरूको नेतृत्वमा एकता सम्भव नभएको बताएका छन्। जियोपोलिटिकल रूपमा कम्युनिस्ट आन्दोलन ध्वस्त भएको उनको भनाई छ।

‘कम्युनिस्ट आन्दोलन चिप्लिएको मात्रै हो समाप्त भएको होइन। जियोपोलिटिक्सले कम्युनिस्ट आन्दोलन ध्वस्त भएको छ,’ कार्कीले भने।

उनले बाह्य हस्तक्षेप बढेर अहिले मुलुकलाई सैन्य गठबन्धनमा सामेल गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन्।

‘सिङ्गो राष्ट्रलाई एमसीसीका पछाडि लगाएपछि के हुन्छ? अब हामीलाई सैन्य गठबन्धनमा जाने। आज युक्रेनको हालत के भयो सानो मिस्टेकले। कोही पनि वामपन्थी एकताका चर्चा नगर्ने। किन? आफ्नो कुर्सीका लागि राष्ट्रघात गर्दै छौँ,’ कार्कीको भनाई छ।

उनले अहिलेको नेतृत्वमा खिया लागिसकेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell