काठमाडौं : आलेन भण्डारी जति पटक सार्वजनिक स्थलका शौचालयमा पुग्छन् त्यति नै पटक गह्रौं मन बनाएर पस्छन्। सार्वजनिक स्थलका शौचालय प्रयोग गर्न जाँदा त्यहाँभित्र छिरेदेखि उनमा एक किसिमको मानसिक दबाव पैदा हुन्छ। अझ महिनावारीको समय त बाहिरका शौचालयहरु उनका लागि सकसपूर्णै छ। कारण आलेन एक ट्रान्स म्यान हुन्।
छोरीका रूपमा जन्मिएका उनले हुँर्किँदै जाँदा आफूलाई 'मेल आइडेन्टिफाइ' गरे। त्यसपछि उनले बाहिरी आवरण परिवर्तन गरेर पुरुषजस्तो त बने तर यौनाङ्ग भने महिलाकै छ। लामो समय हार्मोन थेरापी गरेकाले उनको स्वर पहिलेभन्दा बदलिएको छ तर उनका शारीरिक अंग पूर्ण रुपमा पुरुषको जस्तो अझै पनि बनिसकेको छैन।
उनी सकेसम्म पानी कम पिउँछन् ताकि कम पिसाब लागोस्। अनि सहज ठाउँ नभेटेसम्म पिसाब च्यापेरै बस्छन्। यसकारण उनलाई युरिनरी ट्रयाक इन्फेक्सन धेरै हुन्छ। यो सबै सहन उनलाई गाह्रो छ किनभने सार्वजनिक स्थलमा रहँदा यसको सहज विकल्प अझै पाइसकेका छैनन्।
पुरुषको शौचालयमा राखिएका युरिनलहरु उनी प्रयोग गर्न सक्दैनन्। कुनै पनि पुरुष शौचालयमा प्याड फाल्ने फोहोरदानी हुँदैन जसले गर्दा महिनावारीको समयमा 'पुरुष' शौचालयमा प्याड फेर्नु आलेनका लागि सारै ठूलो सकसको विषय हो।
'हार्मोन थेरापी गरेर म पुरुषजस्तो सुनिन र देखिन थालेँ। तर, महिनावारी भैरहेको हुन्छु। पुरुषको शौचालय नै छिर्छु तर महिनावारीको समयमा न प्याड फेर्न सजिलो हुन्छ न त्यहाँभित्र प्याड फाल्ने राम्रो ब्यबस्था नै छ। मलाई सहज महसुस हुँदैन। सधैँ तनाब लाग्छ,' आलेन भन्छन्। आलेन सार्वजनिक स्थलका मात्र नभई स्कुल, अस्पताल र कार्यालयहरुका ट्वाइलेट लैंगिक अल्पसंख्यक मैत्री नभएको गुनासो गर्छन्।
आलेनलेझैं सार्वजनिक शौचालय प्रयोगमा समस्या भोगिरहेकी छिन् पिंकी गुरुङले पनि। उनी सकेसम्म एउटामात्र शौचालय भएको ठाउँ खोज्छिन्। किनभने एउटा ढोकाभित्र धेरै ट्वाइलेटहरु भएको स्थानमा जान उनलाई असहज महसुस हुन्छ।
पिंकी जन्मदाँ पुरुष यौनाङ्ग लिएर जन्मेकी हुन्। तर समयसँगै उनलाई आफू भित्रैदेखि महिला भएको आभाष भयो। लैंगिक अल्पसंख्यक समुदायमा पर्ने उनी हाल महिलाकै भेषभूषामा हुन्छिन्। हार्मोन थेरापी र यौनांग परिवर्तनपछि उनी पिंकी त बनिन् तर आफ्नो आवाजकै कारण सार्वजनिक शौचालय प्रयोगमा समस्या परिरहने बताउँछिन्।
'म पब्लिक ट्वाइलेट प्रयोग गर्दा 'महिला' लेखिएकोमा जान्छु। तर त्यहाँभित्र रहँदा बोल्न त पर जाओस् खोकी लाग्दा पनि खोकी दबाएर बस्छु।'- उनलाई आफ्नो आवाज पुरुषको जस्तो भएकाले त्यहाँ आएका अन्य महिलाहरु तर्सिएर हेर्ने गर्दा निकै असहज हुने रहेछ।
सन् २०११ को जनगणनाअनुसार देशभर लैंगिक अल्पसंख्यकको संख्या जम्मा १५ हजार मानिन्छ। तर लैंगिक अल्पसंख्यकहरुका लागि काम गरिरहेका संस्थाहरुले भने यस तथ्यांकलाई नकार्दै आएका छन्। नेपालमा करिब ८ लाखको हाराहारीमा लैंगिक अल्पसंख्यकहरु हुनसक्ने उनीहरुको अनुमान छ। ती मध्ये करिब १२५/१३० जना जतिले मात्र आफ्नो यौनाङ्ग परिवर्तन गरेको हुनसक्ने पिंकीको अनुमान छ।
तर सन् २०२१ को जनगणनामा महिला र पुरुषबाहेक अन्य लैङ्गिक र यौनिक पहिचान भएकाहरूलाई समावेश गरिए पनि प्रारम्भिक नतिजामा उनीहरूको सङ्ख्या सार्वजनिक गरिएन।
सरकारले पहिलो पटक जनगणनामा महिला र पुरुषबाहेक अन्य लैङ्गिक र यौनिक पहिचान भएकाहरूलाई समावेश गरिएको भनिरहँदा आफूजस्ता धेरै साथीहरु शौचालयसम्बन्धी समस्यासँग जुधिरहेको पिंकी बताउँछिन्।
ती समस्या समाधानका लागि उनीहरुले पहल थालिरहेका छन्। उनीहरू पटकपटक काठमाडौं महानगर पुगिरहेका छन् र हालै चुनिएर आएका मेयर वालेन्द्र साह बालेनलाई आफ्नो समुदायका समस्याहरु सुनाइरहेका छन्।
पिंकीका अनुसार हाल काठमाडौंमा भएका सार्वजनिक शौचालयहरुको संरचनागत रुपमै पूर्वाधार परिवर्तन गर्नुपर्ने देखिन्छ। संरचनागत सुधारका क्रममा आफ्नो समुदायका समस्या सम्बोधन होस् भन्ने उनलाई लागेको छ। हाल महानगरको चक्कर काट्नुलाई आफ्नो दिनचर्या नै जस्तो बनाइरहँदा सार्वजनिक शौचालयहरु 'जेन्डर फ्रेन्ड्ली' पूर्वाधार तयार होस् भन्ने उनको माग हो।
'सार्वजनिक शौचालय कसैको लागि पनि सुलभ नभएको अवस्थामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका लागि बेग्लै ट्वाइलेट कहाँबाट पाउनु? तर पनि नयाँ नेतृत्वले हाम्रो समुदायको समस्यालाई सम्बोधन गर्नु हुन्छ भन्ने विश्वासका साथ हामीले यो गम्भीर मुद्दालाई उठाएका हौं,' पिंकीको भनाई छ।
उनीहरु चाहन्छन् सार्वजनिक शौचालयहरुमा पुरुष महिलाका लागि मात्र नभई लैंगिक अल्पसंख्यक र अपांगहरुलाई समेट्ने किसिमको पूर्वाधार बनिदेओस्। जहाँ पस्दा लैंगिक अल्पसंख्यकहरुलाई सहज वातावरण होस्, मनोवैज्ञानिक दबाव खेप्नु नपरोस्। अनि 'ह्यारेसमेन्ट'को शिकार बन्नु नपरोस्।
शरीरको आवरण बदलिसकेको र हर्मोन थेरापीमा गइसकेकोलाई भन्दा पनि संक्रमणकाल (ट्रान्जिसन पिरियड) वा- आवरण परिवर्तन र थेरापीको प्रक्रिया जारी रहेका लैंगिक समुदायलाई सार्वजनिक शौचालयको प्रयोग कष्टकर रहेको पिंकी बताउँछिन्।
उनी भन्छिन्, 'कति साथीहरुमा पुरुषको जस्तो व्यवहार तर शारीरिक अंगहरु महिलाको हुन्छ। कतिले महिलाको रुपमा भेषभूषा बदलेपनि पुरुषकै शारीरिक अंगहरुका साथ हुनुहुन्छ। स्वर पनि फरक पर्ने भएकाले सार्वजनिक शौचालयहरुमा छिर्नुअघि धेरै पटक सोच्नपर्ने अवस्था हुन्छ। जाँदा कतातिर जाने?'
पुरुष वा महिला लेखेर छुट्याइएको स्थलले मात्र लैंगिक अल्पसंख्यकका मागलाई सम्बोधन गर्न नसक्ने उनीहरु बताउँछन्। धेरै पुरुष वा महिला एकैपटक जान सकिनेभन्दा पनि अलि 'प्राइभेट' किसिमको शौचालय होस् भन्ने उनीहरुलाई माग हो। ट्वाइलेटभित्र प्याड, डस्टबिन र पानीको व्यवस्था हुनुपर्ने र पुरुषको पिसाब फेर्ने ट्वाइलेटमा युरिनलहरुमात्रै नभई बन्द ढोका र अपांगमैत्री तथा सबैले प्रयोग गर्न मिल्ने प्यान राखेमा सबै वर्गको समस्या समाधान हुन्छ भन्छन् उनीहरु।
'बालेनसँग हामीले भेट्दा, ट्वाइलेटको संरचनाको कुरा गर्दा पब्लिकली नै हामीलाई सम्बोधन गरी बोल्नुभएको छ। हामीलाई यसकारण आश पनि पलाएको छ,' पिंकीले भनिन्।
लामो समयदेखि रत्नपार्कस्थित सार्वजनिक शौचालयमा पैसा उठाउने काम गरिरहेका राजन देउला कमैमात्र लैंगिक अल्पसंख्यकले यहाँ शौचालय प्रयोग गरेको थाहा पाएको बताउँछन्। दुई जनाले सिफ्ट अनुसारको 'डिउटी' गर्ने उनी आफ्नो सिफ्टमा शौच गएर फर्केकासँग पाँच र १० रुपैयाँका दरले पैसा उठाउँछन्। अझ यहाँ व्यवस्था गरिएको स्नानघरमा त कसैले नुहाएको उनले देखेकै छैनन्।
बिहान ५ बजेदेखि राती ९ बजेसम्म संचालन हुने यस शौचालयमा जति ताँती पुरुषको लाग्छ महिलाहरु कमै छिर्ने उनको अनुभव छ। निकै भीडभाड रहने रत्नपार्क क्षेत्रमा लैंगिक अल्पसंख्यकहरुको संख्या बाक्लै देखिए पनि शौचालयको सेवा लिन भने कमै पस्ने गरेको उनले सुनाए।
काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार हाल महानगर अन्तर्गत यस्ता सार्वजनिक शौचालयहरु ५८ स्थानमा रहेका छन्। सार्वजनिक निजी साझेदारी मोडलमा संचालित यस्ता शौचालयहरुको व्यवस्थापनका लागि विभिन्न संस्थाहरुसँगको सहकार्य महानगरले गरिरहेको छ। तर ५८ मध्ये सबै शौचालयहरु प्रयोगमा आउन सकेका छैनन्।
भद्रकाली मन्दिर दर्शन गर्न जोरपाटीदेखि आएकी कुन्ती शेर्पा कमै मात्र सार्वजनिक शौचालय प्रयोग गर्छिन्। फोहोर हुने भएकाले आफू सकेसम्म सार्वजनिक शौचालय नपस्ने उनको भनाई छ। मन्दिर दर्शनको लागि लामो समय लागेपछि भने उनले धेरैबेर पिसाब रोक्न सकिनन्। मन्दिर परिसरमै रहेको शौचालयमा पसिन् ।
शौचालयबाहिर निस्केपछि उनले भनिन्, 'यतिको ट्वाइलेटलाई सफा नै मान्नुपर्छ। यहाँ फोहोर राख्ने भाँडो पनि रहेछ। पानी होस् गन्ध नआओस्। कम्तीमा यति त चाहिन्छ। तर यहाँ अशक्तहरुलाई भने आउन अलि समस्या रहेछ।'
कुन्तीको बिचारमा महिला, पुरुष, अशक्त वा लैंगिक अल्पसंख्यक जो सुकै भएपनि घर बाहिर निस्केपछि सफा शौचालय प्रयोग गर्न पाउनु पर्छ। 'यो सबैको न्यूनतम आवश्यकता र अधिकार पनि हो,' उनले भनिन्।
मितिनी नेपालकी कार्यक्रम संयोजक तथा एमफिलको अध्ययनका क्रममा लैंगिक अल्पसंख्यक समुदायलाई नै आफ्नो शोधको विषय बनाएकी बिमला गुरुङका अनुसार सार्वजनिक शौचालयको प्रयोगमा लैंगिक अल्पसंख्यकमध्ये पनि 'ट्रान्स म्यान'हरुलाई सबैभन्दा बढी समस्या छ।
उनी भन्छिन्, 'झट्ट हेरेरमात्र लैंगिक अल्पसंख्यकहरु कस्तो प्रकार अन्तर्गतका रहेछन् भनेर पहिचान गर्न गाह्रो हुन्छ। ट्रान्स म्यानको गेटअप पुरुषको हुन्छ तर यौनांग महिलाको। यौनांग परिवर्तन महंगो भएकाले सबैको सहज पहुँचमा पनि हुँदैन। बाहिर पुरुष जसरी हिँडेपनि वहाँहरुको महिनावारी भैरहेको हुन्छ। वहाँहरुलाई त्यो समयमा हुने रक्तश्राव व्यवस्थापन गर्न मद्दत पुग्ने खालको शौचालय हुनैपर्छ।'
काठमाडौं महानगरपालिकाका निर्देशक नुरनिधि न्यौपानेका अनुसार महानगर अन्तर्गतका ५८ शौचालयमध्ये १५/२० स्थानका शौचालयहरु मर्मत गर्नुपर्ने अवस्थामा छन्। केही त टुटफुट भएका कारण प्रयोग नै गर्न नमिलेर बन्द गरिएका समेत छन्। जति संचालित छन् त्यो पनि व्यवस्थित नभएको उनले स्विकारे। महानगरले अबको बजेटमा यसलाई सम्बोधन गर्ने तयारी गरेको उनको भनाई छ।
'नीतिगत रुपमै यस समस्यालाई सम्बोधन गर्ने कोसिस गर्नेछु,' उनले भने।
न्यौपानेले महानगरले पहिलो चरणमा दुई तीनवटा नमुना शौचालयहरु तयार पार्ने र त्यसमा लैंगिक अल्पसंख्यक र अपांगहरुलाई विशेष ध्यानमा राखेर डिजाइन गरिने योजना बनाएको जानकरी दिए। उनका अनुसार सुरुमा केही शौचालयहरु सबै बर्गका मागलाई सम्बोधन हुने गरी मोडलका रुपमा निर्माण हुनेछ।
'हामी लैंगिक अल्पसंख्यकलाई कसरी सहज हुन्छ त्यो विषयमा संवेदनशील भएर नमुना शौचालय निर्माण गर्नेछौं। साथै अपांगमैत्री हुनेछौं। अब महानगरले बजेट छुट्याउँदा यस कुरालाई ध्यानमा राखिनेछ,' न्यौपानेले भने।