PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

मोटरसाइकल दुर्घटनापछि उपचारको लागि अस्पतालमा तिरेको नोट नक्कली, मामा-भान्जा नै नक्कली नोट कारोबारमा समातिए



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनापछि उपचारको लागि अस्पतालमा तिरेको नोट नक्कली, मामा-भान्जा नै नक्कली नोट कारोबारमा समातिए

काठमाडौं : नक्कली नोटको कारोबारमा प्रहरीले धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ घर भएका २१ वर्षीय रामदास राना र १८ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको हो।

उनीहरु मामा-भान्जा रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। राना बि युनिक फोटो स्टुडियो संचालन गरी बस्दै आएका छन्।

धनगढी उपमहानगरपालिका-३ स्थित सडकमा अभियुक्त किशोरले चलाएको लु ८५ प ५१८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका साइकलयात्री र मोटरसाइकल चालकलाई मायामेट्रो अस्पतालमा उपचार गराई दुवै जना डिस्चार्ज भएकोमा मोटरसाइकल चालक किशोरले उपचार गरेको पैसा तिर्ने क्रममा १ थान नक्कली नोट फेला परेको थियो। त्यसपछि प्रहरीले ती किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।

थप सोधपुछको क्रममा उक्त नोट मामा रामदास रानाले छाप्ने गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो। फोटो स्टुडियोबाट १ हजार दरको २ थान नक्कली नोट, ५ थान रंगिन मसिका डिब्बाहरू, १ थान रंगिन प्रिन्टर, १ थान मनिटर, १ थान सीपीयू, १ थान लेमिनेसन मेसेन, १ थान किबोर्ड, १ थान कैँची, २ थान ब्लेड, एक हजार दरको १ थान बिग्रेको नक्कली नोट र एक सय दरका २ थान बिग्रेका नक्कली नोट समेत प्रहरीले बरामद गरेको जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell