काठमाडौं : सुदाम सीकेको निर्देशन रहेको नाटक ‘ऐया ! माया’ असार ७ गतेदेखि मञ्चन हुने भएको छ। काठमाडौंको टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने यो नाटक असार ३२ गतेसम्म देखाइनेछ।
कलाकार सिकेको निर्देशनमा बनेको यो चौथो नाटक हो। यसअघि उनले च्यातिएको पर्दा, आन्दोलन र ‘पाँच’ नाटक निर्देशन गरिसकेका छन्।
नाटक ‘ऐया! माया’ आफ्नो लागि प्रयोगात्मक काम भएको निर्देशक सुदामले बताए। नाटकमा आफूले विभिन्न घटनामा भोगेका अनुभूतिलाई देखाउन खोजेको उनको भनाई छ। ‘ऐया माया मा केही नयाँ प्रयोग गरेको छु। यो नाटकभन्दा पनि धेरै स्टोरीहरूको कोलाज हो। मैले व्यक्तिगत जीवनमा घटनाहरूको भोगाईबाट आएको अनुभूति नाटकमा समेटेको छ। जसले समाज र राजनीतिलाई छुनेछ’ उनले भने।
शारीरिक हाउभाउ, शब्द र संगीत संयोजन गरेर नाटक तयार पारेको सिकेले बताए। नाटकमार्फत बिर्सिरहेका कुराहरू सम्झाउन खोजिएको उनको तर्क छ।
कथा घेराको प्रस्तुति रहेको नाटक ऐयामा आकाश नेपाली, आयान खड्का, पवित्र राई, सरिता कठायत, शिशिर सिवाकोटी र मुक्तिको अभिनय छ। साथै नाटकमा शिवराज जोशी र शर्मिला गुरुङले संगीत दिएका छन्।