
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाल आवद्ध हुने कुनै पनि निर्णय नेपाल सरकारले नगरेको स्पष्ट पारेका छन्।
आज प्रतिनिधिसभामा रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै खाडले सरकारले यसबारे कुनै निर्णय गर्ने सोच पनि नराखेको बताए। यसको बारेमा धेरै कुराहरु उठेको भन्दै उनले अमेरिकाको एसपीपीमा नेपाल आवद्ध नभएको दोहोर्याए।
मन्त्री खाणले भने, ‘यससम्बधि कुनै निर्णय गरेको छैन र कुनै निर्णय गर्ने सोच राखेको पनि छैन।’
उनले नेपालको भूमि मित्र राष्ट्रहरुको विरुद्ध प्रयोग हुन नदिन सरकार पूर्ण प्रतिबद्ध रहेको पनि बताए।
‘नेपालको भूमि कुनै पनि मित्र राष्ट्र विरुद्ध प्रयोग हुन दिँदैनौँ, त्यसमा नेपाल सरकार दृढ छ,’ उनले भने।
एसपीपीमा सहभागी हुन लागेको भन्दै विपक्षी दलहरुले प्रधानमन्त्रीको जवाफ मागेका थिए। एमालेले पनि यो सम्झौताबारे संसद्मा जवाफ मागेको थियो। आजको बैठकमा प्रधानमन्त्री देउवाले नै आएर यस विषयमा प्रष्ट पार्नुपर्ने सांसदहरुले माग गरेका थिए।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री देउवा आफैँ उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए।
'संसद्मा आउनुभन्दा अरु बैठकमा बसेर के काम हुन्छ?' उनले प्रश्न गरेका थिए।