PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

अमेरिकामा सिरिजपछि लामिछानेको प्रतिकृया : ब्याटिङमा स-साना गल्ती भइरहेको छ, यसलाई सुधारेर अघि बढ्नुपर्छ



पहिलोपोस्ट

अमेरिकामा सिरिजपछि लामिछानेको प्रतिकृया : ब्याटिङमा स-साना गल्ती भइरहेको छ, यसलाई सुधारेर अघि बढ्नुपर्छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा सम्पन्न नेपाल, अमेरिका र ‌ओमनबिचको सिरिज सकिएको छ। सिरिजको पछिल्लो खेलमा अमेरिकासँग पराजय ब्यहोरेको नेपालले ओमनसँग एउटा जित मात्र निकाल्न सक्यो। सुरुको खेलमा ओमनसँगै पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा अमेरिकासँग म्याच टाइ भएको थियो।

पछिल्लो खेलमा अमेरिकासँग पराजित भएपछि सञ्चारकर्मीहरुसँग बोल्दै कप्तान सन्दीप लामिछानेले हारेका सबै खेल जित नजिक पुगेर हारेको बताएका छन्। उनले सबै खेल जित्ने अवसर रहँदा पनि ब्याटिङमा विकेटको नियन्त्रण गर्न नसक्दा हार्न बाध्य भएको बताए।

कप्तान लामिछानेले ब्याटिङमा साना गल्तीहरु भइरहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए। उनले आफूलाई साथ दिन अन्य स्पिनर बलरहरुले विकेट निकाल्न नसक्नु पनि थप समस्या बनेको दाबी गरे।

‘जितको एकदम नजिक पुगेर हारिरहेका छौँ। हामीले सबै गेम जित्नुपर्ने हो। तर, लास्टमा गएर कन्ट्रोल लुज भइरहेको थियो। ब्याटिङमा साना-साना समस्या आइरहेका छन्’, लामिछानेले भनेका छन्, ‘मैले पहिला पनि भनेको थिएँ, यी सबै गेम हामीले जित्नुपर्ने थियो। तर, अन्तिममा आएर चुकेका छौँ। हामीले यसलाई सुधार गर्नुपर्ने कुरा देखाएको छ।’

कप्तान लामिछानेले खेल हार्नुमा अनुभवी खेलाडीको कमी भएको र आफू पनि कप्तानमा नयाँ तथा सबै खेलाडीहरु अनुभवहीन भएकोले सिक्दै अघि बढ्नुपर्ने बताए। उनले आफूले पनि बलिङमा सोचेजस्तो राम्रो गर्न नसकेको भन्दै अबका दिनमा कमजोरीलाई सुधारेर अघि बढ्ने बताए। आगामी खेलमा थप चुनौती रहेको भन्दै उनले खेलाडीहरुलाई थप अभ्यास गराएर खेल राम्रो पस्कने दाबी गरे।

‘मेरो बाहेक अर्को स्पिनरबाट पनि विकेट आयो भने टिमलाई सहयोग हुन्छ। हामी सबै सिक्दैछौँ। एक दुई खेलाडी बाहेक कोहीसँग पनि धेरै अनुभव छैन। म पनि नयाँ नै छु, धेरै कुराहरु सिक्नुपर्ने नै छ’, उनले भने, ‘मैले सोचेजस्तो राम्रो गर्न सकेको छैन। आउँदो गेममा हाम्रो लागि चुनौति हुनेछ।’

अमेरिकासँगको हारसँगै नेपाल १६ खेलबाट १५ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ। ७ देश सम्मिलित समूह चरणमा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ।

ओमानले लिग टू अन्तर्गतका सबै खेल खेलिसकेको छ। त्यस्तै, २० खेलबाट २८ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छ। नेपाल भन्दामुनि छैटौँ स्थानमा १४ खेलबाट १४ अंक जोडेको नामिबिया र २० खेलबाट २ अंक जोडेको पपुवान्युगिनी सातौँ स्थानमा छन्।

नेपालले अहिलेसम्म खेलेको १६ खेलमा ७ मा जित र ८ मा हार व्यहोरेको छ भने १ खेल बराबरी खेलेको छ। यो सिरिज अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो।

त्यस्तै, तेस्रो खेलमा ओमानलाई ७ विकेटले पराजित गरेको नेपालले चौथो खेलमा अमेरिकासँग ३९ रनको हार व्यहोरेको छ। न्युज एजेन्सी नेपालको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell