काठमाडौं : यतिखेर प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजि भइरहेको छ। रक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयको तर्फबाट उनले जवाफ दिनुपर्ने भन्दै सांसदहरुले माग गरेका छन्। देउवा संसदमा उपस्थित नहुँदा विपक्षी सांसदहरु आक्रोशित सुनिए आज।
नेकपा (एमाले)का सांसद भीम रावलले संसदमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रालय र कार्यालयको बारेमा जवाफ दिनु पर्ने बताएका छन्। आजको प्रतिनिधिसभा बैठकका क्रममा सांसद रावलले यस्तो माग गरेका हुन्।
प्रधानमन्त्री देउवा आजको संसद् बैठकमा अनुपस्थित थिए। रक्षा मन्त्रालय समेत सम्हालिरहेका देउवाले आफूप्रति सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्णलाई लगाएका थिए। संसदमा बोल्दै रावलले प्रतिनिधिसभा नियमावली वमोजिम र लोकतन्त्र अनुसार प्रधानमन्त्री सदनप्रति जिम्मेवार र उत्तरदायि हुनुपर्ने बताए।
‘अघि त मैले के ठान्याथे भने उहाँ कतै उपचार गर्दैहुनुहुन्छ भन्ने हल्ला सुनेको थिएँ। कपाल कि पेट दुख्यो के भन्दै हुनुहुन्थ्यो त्यो मन्त्रीजीलाई थाहा होला। प्रधानमन्त्री सिकिस्त बिरामी हुनुहुन्छ भने उहाँ कुन अस्पतालमा हुनुहुन्छ त्यो जानकारी पाउँ, होइन उहाँ विदेश जाने कुरा थियो एसपीपीको सन्दर्भमा अमेरिका जाने कुरा थियो। अब गृहमन्त्रीजीले होइन हामी त्यता जान्नौँ भनेपछि उहाँको भ्रमण त रद्द भइसकेको हुनुपर्छ। उहाँ कुन देश जानु भो कि उहाँ नेपालमै हुनुहुन्छ कि? यो लोकतन्त्रको उपहास नगरियोस् यो संसद्को अपमान नगरियोस्। जनप्रतिनिधि व्यवस्थाको खिल्ली नउडाइयोस्।’
प्रधानमन्त्री कार्यालयको जवाफ दिन नसक्नेलाई त्यो पदमा बसिरहन नैतिकताले दिन्छ? भन्दै उनले प्रश्न समेत गरेका थिए।
‘प्रधानमन्त्री स्वयं आएर यो प्रतिनिधिसभामा आफ्नो कार्यालयको, कमसे कम प्रधानमन्त्री कार्यालयको जवाफ दिन नसक्नेलाई त्यो पदमा बसिरहन नैतिकताले दिन्छ? त्यसकारण न्यूनतम पनि नैतिकताको प्रदर्शन गरेर प्रधानमन्त्रीजीले आएर यहाँ आफ्नो मन्त्रालय आफ्नो कार्यालयको जवाफ दिनुस्, यदि उहाँ गम्भीर बिरामी हुनुहुन्छ भने कुन अस्पतालमा हुनुहुन्छ या कुनै विदेशीसँग वार्तामा हुनुहुन्छ भने कुन देशको राजदूतसँग कुन देशमा जानको लागि वार्तामा हुनुहुन्छ जानकारी पाउँ,’ उनले भने।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि प्रधानमन्त्री देउवा आफैँ उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए।
‘संसद्मा आउनुभन्दा अरु बैठकमा बसेर के काम हुन्छ?’ उनले प्रश्न गरेका थिए।
प्रधानमन्त्री देउवा भने केहीबेर अघि मात्रै गैरआवसिय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार सेमिनारमा सहभागी हुन लाजिम्पाट पुगेका छन्। संसदमा उनको खोजी भइरहँदा देउवा भने लाजिम्पाट पुगेका हुन्।