PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अफ्रिकाबाट सेतो हेरोइन बोकेर दुबई हुँदै काठमाडौं : होटेलमा लागूऔषध बिसाएर सुकुटे बिचमा 'रिफ्रेसमेन्ट'



सविन ढकाल

अफ्रिकाबाट सेतो हेरोइन बोकेर दुबई हुँदै काठमाडौं : होटेलमा लागूऔषध बिसाएर सुकुटे बिचमा 'रिफ्रेसमेन्ट'

काठमाडौं :  जेठ २६ गते २९ वर्षीया म्हलाको मौरीन माथिबा साँझ ६ बजेतिर काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिन्। दक्षिण अफ्रिकी नागरिक मौरीन दुबई हुँदै काठमाडौं आइपुगेकी थिइन्। पहिलो पटक भिजिट भिसामा नेपाल आएकी देखिन्छन् उनी।

त्यसपछि विमानस्थलबाट उनी सोझै ठमेलको एक होटेलमा पुगिन्। उनी काठमाडौं ओर्लिनुअघि नै ठमेलको होटेल बुक गरिएको थियो। उनै मौरिन, जसलाई ठीक एक साता नबित्दै लागूऔषध केसमा लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेका सात जना विदेशीसहित सार्वजनिक गरेको थियो।

बिहीवार ब्युरोले ५१ किलो हेरोइनसहित विभिन्न मितिमा समातिएका सात जना विदेशी नागरिकलाई सार्वजनिक गरेको थियो। जसमध्ये सबैभन्दा पहिले विदेशबाट सेतो हेरोइन बोकेर नेपाल आउने मौरीन थिइन्। जेठ २६ गते नेपाल आएकी उनलाई चार दिन पछिमात्र प्रहरीले पक्राउ गरेको थियो। यद्यपि काठमाडौंको विमानस्थलदेखि नै प्रहरीले मौरिनको 'रेकी' गरिरहेको थियो।

उनले विदेशबाट ल्याएको सात किलो सेतो हेरोइन कसलाई बुझाउँछिन्? लागू औषध कारोबारमा अरु कस कसको कनेक्सन छ? खोजी गर्नु प्रहरीका लागि चुनौती थियो। त्यसको लागि प्रहरीले लगातार चार दिन मौरीनको 'फलो' गरेको थियो।

होटेलमा आएपछि मौरीनले आफ्नो काम सफल भएको भन्दै नेपालका विभिन्न ठाउँमा घुम्न गएको देखिएको थियो। उनी सिन्धुपाल्चोकको सुकुटेबिच समेत पुगेकी थिइन्। उनीसँगै अर्की विदेशी महिलासमेत पुगेकी थिइन्।

'उसलाई रेकी गर्दै हाम्रो टोली पनि सुकुटेबिच पुगेको थियो। हामीले उनी चार दिन कहाँ - कहाँ जान्छिन् भनेर हेरिरहेको थियो,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

५१ किलो हेरोइन प्रकरणमा प्रहरीले अन्य ६ जना महिलालाई पनि पक्राउ गरेको छ। उनीहरू पनि मौरिनजस्तै दक्षिण अफ्रिकाबाट दुबई हुँदै हेरोइन बोकेर नेपाल आएका थिए। तर उनीहरू मैरिकनभन्दा तीन दिन पछिमात्र नेपाल ‌ओर्लिएका थिए। मौरिनलाई भने जेठ ३० गते ठमेलको एक होटेलबाट पक्राउ गर्न प्रहरी सफल भयो।

पक्राउ गर्नुअघि मौरिनले अन्य दुई जना विदेशी महिलालाई भेटेर साथी बनाएका थिइन्। ती दुई महिला पनि विदेशबाट लागूऔषध बोकेर आएका थिए। केही दिनसम्म होटेलमा बस्दा पनि लागूऔषध रिसिभ गर्ने मानिस नआएपछि विदेशबाट कारोबारीले नै अन्य दुई जना महिलासँग भेट गर्न मौरीनलाई भनेका थिए। जेठ ३० गते दुबई हुँदै काठमाडौं आएकी ३९ वर्षीय दक्षिण अफ्रिकी महिला तसबला खानयिसिल यवोन र ३६ वर्षीय रोसीना नोकले जत्जी थिए। उनीहरू दुबै जनाले ८ - ८ किलो हेरोइन बोकेर नेपाल आएका थिए। नेपालमा बस्दा उनीहरूबिच चिनजान भएको थियो। उनीहरूलाई लागूऔषध तस्करले केही रकम दिएर नेपाल पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

'उनीहरू फरकफरक तस्कर समुहबाट परिचालित भएको देखिन्छ। उनीहरुको ६ वटा समूहमध्येका ७ जनालाई नियन्त्रणमा लिन सफल भएका हौं,' लागूऔषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख एसपी जीवनकुमार श्रेष्ठले भने।

ब्युरोको टोलीले जेठ ३० गते ठमेलबाट अन्य दुईजना अफ्रिकी नागरिकलाई लागूऔषधसहित पक्राउ गर्न सफल भयो। २९ गते दुबईबाट काठमाडौं आएका सिबिसी थडेकिले र मुरियल भन्ने एक महिलालाई १८ केजी हेरोइनसहित ठमेलबाट समातेको हो। उनीहरुको एक आपसमा चिनजान थियो। मुरियल यसअघि पनि दुई पटक नेपाल आएको देखिएको छ। मार्च र फेब्रअरी महिनामा उनी नेपाल आएकी थिइन्।

ब्युरोको टोलीले अन्य दुई दक्षिण अफ्रिका महिलालाई ६/६ केजी हेरोइनसहित समातेको हो। उनीहरू भने पहिलोपटक नेपाल आएको खुलेको छ। उनीहरूले लगेजमा फल्स बटम बनाएर हेरोइन ल्याएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले ल्याएको हिरोइन नेपाललाई ट्रान्जिट बनाएर भारत लग्न लागिएको खुलेको छ।

'अघिल्लो घटनाको प्रकृति र केही कुराले यो लागूऔषध पनि भारततिर तस्करी गर्न खोजिएको देखिन्छ,' एसपी श्रेष्ठले भने।

लागूऔषध ब्युरोको रेकर्डमा नै यो एकैपटक सबैभन्दा धेरै बरामद गरेको हेरोइनको परिमाण हो। प्रहरीको दाबीअनुसार बरामद लागूऔषधको बजार मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबरको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell