PahiloPost

May 14, 2024 | १ जेठ २०८१

स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज



पहिलोपोस्ट

स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज

बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छिन्। मंगलवार राति स्वास्थ्यमा समस्या देखिएको भन्दै बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी राज्यमन्त्री वली बिहीबार दिउँसो डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए।

अहिले स्वास्थ्य अवस्था स्थिर रहेकाले निवासमै आराम गरि औषधी सेवन गर्ने गरि डिस्चार्ज गरिएको उनले बताए। अस्पतालमा मेडिकल विभागका फिजिसियनहरुले परीक्षण गर्दा राज्यमन्त्री वलीको रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको थियो।

दाङको तुलसीपुरमा गत मंगलबार एक महिला र बालिकामाथी हातपात गरेपछि प्रहरीको नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मुख्यमन्त्री कूलप्रसाद केसीको निर्देशनमा दाङबाट बुटवल ल्याइएको थियो। मन्त्री वलीले मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित प्रेमी भनिएका एकराज बस्नेतको घरमा पुगेर श्रीमती मीना भण्डारी र उनकी छोरीमाथि हातपात गरी तोडफोडमा उत्रिएकी थिइन्।

यो घटना छानबिनका लागि लुम्बिनी प्रदेश सरकारले समिति नै गठन गरेको छ। सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती, प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन्। घटनाको सत्यतथ्य छानबिन गरी समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश रहेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री शर्माले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell