हेटौंडा : हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्षको पदबाट राजीनामा दिएर गठबन्धनकोतर्फबाट जिल्ला समन्वय समिति (जिसस) प्रमुखमा उम्मेदवारी दिएका ललित कुमार घलान विजयी भएका छन्।
१७ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन्। उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए। त्यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका बुद्धिराम डिम्डुङले ३ मत प्राप्त गरेका छन्।
जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन्। महिला सदस्यमा तारा ढुङ्गाना, विष्णुमाया थपलिया र सुमित्रा थिङले १७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनीहरु नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए। एमालेबाट उम्मेदवार बनेका बिना कुमारी थिङ लामाले ३ मत प्राप्त गरेकी छिन्।
सदस्य तर्फमा खड्ग बहादुर पुलामी, सुवर्ण गोपाली र विरेन्द्र कुमार लामा निर्वाचित भएका छन्। पुलामी र गोपालीले १७ मत प्राप्त गरेका छन्। उनीहरु माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए। नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार बनेका लामाले १६ मत प्राप्त गरेका थिए। एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुईटेल निर्विरोध निर्वाचित भइसकेका छन्। पाँच दलीय गठबन्धनको बहुमत भएता पनि निर्वाचन प्रक्रियाबाट जिल्ला समन्वय समितिका पदाधिकारीको लागि निर्वाचन गरिएको थियो।