PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसादको नाम जोडिएपछि फेरि विवाद, 'पत्रकार महासंघको विधानले सत्यनारायणलाई चिन्दैन'



पहिलोपोस्ट

आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसादको नाम जोडिएपछि फेरि विवाद, 'पत्रकार महासंघको विधानले सत्यनारायणलाई चिन्दैन'

काठमाडौं : सरकारले सञ्चालनमा ल्याउन लागेको 'आमसञ्चार प्रशिक्षण प्रतिष्ठान' मा कृष्णप्रसाद भट्टराईको नाम जोडिएकोमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले विरोध जनाएको छ। बिहीवार महासंघको कार्यालयमा एक अन्तक्रिया कार्यक्रम आयोजना गरि फोनिजले यसको विरोध जनाएको हो।

सरकारले पत्रकारलाई प्रशिक्षण दिने उद्देश्यका साथ सञ्चार प्रतिष्ठान गठन गर्दा इतिहासको तथ्य कुल्चँदै भट्टराईको नाम जोड्न लागेकोमा आफ्नो आपत्ति रहेको फोनिजका अध्यक्ष गजुरधन राईले बताए। इतिहासले पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको प्रमाणित गर्दा पनि भट्टराईलाई नै पहिलो अध्यक्ष मान्नु ठीक नहुने उनको भनाई थियो।

'पक्षधरसँग हामीले कुरा गरिसकेका छौं। जातीय पत्रकारहरूसँग कुरा गरिसकेका छौं। तथ्यका फेहरिस्त हामीले प्रस्तुत गरिसकेका छौं। इतिहासलाई पत्रकार महासंघले किन नमान्ने?' अध्यक्ष राईले भने, '२०१२ साललाई मान्ने अनि २००८ साललाई किन नमान्ने?'

फोनिजका निर्वतमान अध्यक्ष डण्ड गुरुङले पत्रकार महासंघले सत्यलाई ढाकछोप गरेर किसुनजीको अपमान गरेको आरोप लगाए।

'नेपाल पत्रकार महासंघ कानमा तेल हालेर बस्यो। सत्यलाई ढाकछोप गर्‍यो। यस्तो हेर्दा महासंघप्रति वितृष्णा पैदा हुन्छ,' उनले भने, 'भट्टराईकै अपमान गर्ने काम महासंघले गर्‍यो।' गुरुङले प्रधानमन्त्री भइसकेको र सन्त नेताको रुपमा चर्चित व्यक्तिको नाम प्रतिष्ठानमा जोडेर भट्टराईको अपमान गरेको दाबी गरे।

उनले प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिनै नहुने ठोकुवा गरे। 'त्यसैले पत्रकार महासंघ सच्चिनुपर्छ। व्यक्तिको फाइदामा हामी लागेका हैन। हामी नाम जोड्न दिदैनौ। यति सानो कुरामा भट्टराईको नाम जोड्ने?' 

फोनिजका सल्लाहकार खिम घलेले सत्यतथ्य पत्ता लगाउन तत्काल अध्ययन थाल्नुपर्ने माग गरे। 'अध्ययन गरौं। तथ्यले तथ्य काट्छ। टिमले जे रिसर्च भन्छ,' घलेले भने।

फोनिजलाई चौतारीको साथ

नेपाल प्रेस चौतारीले फोनिजको अभियानमा आफ्नो साथ रहेको जनाएको छ। चौतारीका उपाध्यक्ष राजेश राईले सत्यनाराणय पत्रकार संघको पहिलो अध्यक्ष भएको उल्लेख गर्दै यसलाई बहसको विषय बनाउनु बेकार भएको तर्क गरे।  यसअघि नै प्रतिष्ठानमा भट्टराईको नाम नजोड्ने सहमति भइसकेकोले थप बहस आवश्यक नरहेकोसमेत उनको दाबी थियो।

'२०७३ सालमा सञ्चार नीति बन्यो, शेरधन राई सञ्चारमन्त्री हुँदा। नाम नजोड्ने भन्ने सहमति पहिल्यै भएको थियो,' उनले भने, 'त्यसैले बहस बेकार छ। तथ्यमै आएपछि। कृष्णप्रसाद भट्टराई संस्थापक अध्यक्ष हैनन्।' प्रतिष्ठानमा भट्टराईको नाम जोडेकोमा उनले आपत्तिसमेत जनाए। 'प्रेस चौतारी नेपालको आपत्ति छ, प्रतिष्ठानमा भट्टराईको नाम जोडेकोमा,' उनले भने।

विधानले सत्यनारायणलाई चिन्दैन : महासंघका अध्यक्ष पोखरेल

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले भने विधानले सत्यनारायण श्रेष्ठलाई नचिन्ने बताएका छन्। उनले अध्ययन बिना भट्टराई पहिलो अध्यक्ष त बनेनन् होला नि भनेर प्रश्नसमेत गरे।

'मेरो विधानले १२ सालदेखिको भन्छ। पहिलो अध्यक्ष कृष्णप्रसाद भट्टराई भन्छ। रिसर्चले विधान बन्यो। ८ साल र १२ सालबीचको समस्या के हो?' पोखरेलले भने। यसो त उनले सत्यनारायण पहिलो संगठकका रुपमा आफूलाई हेर्न कुनै अफ्ठेरो नहुने बताए। 'पहिलो संगठन त हो नि सत्यनारायण श्रेष्ठ, उहाँको योगदानलाई नो भन्न त सक्दैन नि,' पोखरेलले भने। यसबारे सत्यतथ्य अध्ययन गर्न महासंघ तयार रहेको र छलफलसमेत गर्न चाहेको उनले बताए।

'रिसर्च गर्न महासंघ ओपन छ। फर्मल डिबेट गर्न पनि तयार छु महासंघमा,' पोखरेलले भने, 'चाँडै टुंगो लगाउ।' यो विषयमा लिएर प्रतिष्ठानको नाम नै परिवर्तन हुने भन्ने विषयमा भने आफूले केही नभनेको बताए।

प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझा प्रतिष्ठानमा भट्टराईको नाम जोडिँदा विवाद गरिरहनुपर्ने विषय नै नभएको बताए। 'आमसञ्चार प्रतिष्ठान कृष्णप्रसाद भट्टराईको नाममा विवाद गर्नुपर्नेमा कुनै कारण देख्दिन,' ओझाले भने, 'यो आपत्ति हुने विषय हैन।'

उनले पत्रकारिताका किताबमा लेखे भन्दैमा पत्याइहाल्नुपर्ने विषय हुन नसक्नेसमेत बताए। कार्यक्रममा ग्रीष्मबहादुर देवकोटादेखि भानुभक्त आचार्यले लेखेको पत्रकारिताका किताबमा पत्रकार संघको संस्थापक अध्यक्ष सत्यनारायण नै उल्लेख भएकोले यो विषयमा विवाद गर्न नहुने बताएपछि ओझाले भने, 'विषय उठान भएको छ। अध्ययन अनुसन्धानमा लागौं। किताब थरीथरीका छन्। तर इतिहास त गम्भीर कुरा हो। इतिहास बङ्ग्याउन हुन्न। २०००८ देखि कन्टिन्यु किन भएन यो खोजम न। २०१२ बाट त कन्टिन्यु छ। सन्त नेता कृष्णप्रसाद भट्टराईको हैसियत हेर्दा प्रतिष्ठानमा नाम जोडिँदा नाक खुम्च्याउनु किन?'

पत्रकारको हकहितको लागि आएको प्रतिष्ठानका लागि यसरी विवादमा उत्रन नहुने उनको भनाई थियो।

'तथ्यांक खोजौ न। पत्रकार हकहितका लागि आएको यो प्रतिष्ठानमा विवाद नगरौं। छिटोभन्दा छिटो प्रतिष्ठान बनाउने काममा लागौ। संस्थापक को हो भनेर पछि खोजौला,' उपाध्यक्ष ओझाले भने।

नेपाल प्रेस सेन्टरका अध्यक्ष जुगल सापकोटाले यस विषयलाई अतिरञ्जित नगरी सबैले एउटै धारणा बनाउनुपर्ने भनाई राखे। 'तथ्य र प्रमाणका आधारमा अघि बढे राम्रो हुन्छ। पत्रकार महासंघ निष्कर्षमा पुगेको छ। ८- १२ सालमा दुविधा छ कि? हामी सबैले एउटै धारणा बनाउनुपर्छ। अतिरञ्जित नगरौं,' उनले भने।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले यो विषय वार्ताबाट टुंगो लगाउनुपर्ने धारणा राखिन्।

'इतिहास गलत लेखियो भने पछिसम्म असर हुन्छ। यो विषयलाई वार्ताबाट टुंगोमा पुर्‍याउ,' उनले भनिन्।  

तथ्य हुँदाहुँदै किन फेरि अध्ययन?

नेवा: पत्रकार राष्ट्रिय दबुका अध्यक्ष सुरजवीर बज्राचार्यले तथ्य हुँदाहुँदै फेरि अध्ययन गर्ने भन्ने कुरा अचम्मलाग्दो विषय भएको बताए। यस विषयमा दबुले महेन्द्र विष्ट पत्रकार महासंघका अध्यक्ष हुँदा नै उठाएको उल्लेख गर्दै शक्तिको आडमा भट्टराईको नाम आएको गुनासो गरे।

'२०५४ सालमा भट्टराई प्रधानमन्त्री हुँदा संस्थापक अध्यक्ष भनी चर्चा भएको हो। त्यतिबेला सत्यनारायणको परिवारलाई यो विषय खासै केही लागेन होला। तर यत्रो तथ्यहरु छ। फेरि शुरुबाट अध्ययन गर्ने? यसो गर्दा कहाँ पुग्ला?,' उनले प्रश्न गरे।

दबुका महासचिव सुनिल महर्जनले भएकै तथ्यका आधारमा पत्रकार महासंघको संस्थापकमा सत्यनाराणयकै नाम हुनुपर्ने र त्यपपछि प्रतिष्ठान उनको नाममा बन्नुपर्नेमा जोड दिए। 'विद्यामान तथ्यका आधारमा फैसला हुन्छ। तथ्यको आधारमा संगठित पत्रकारको अध्यक्ष सत्यनारायण श्रेष्ठ नै हो। सत्यनारायण श्रेष्ठकै नाममा प्रतिष्ठान बनाआौं,' महर्जनले भने।

नेवा: पत्रकार राष्ट्रिय दबुले सत्यनारायणलाई मान्यता दिन दबाबमुलक कार्यक्रम आयोजना गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell