PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

गोहीको गुँड अनुगमनमा निस्कँदा बाघ बुरुक्क उफ्रिएपछि…



पहिलोपोस्ट

गोहीको गुँड अनुगमनमा निस्कँदा बाघ बुरुक्क उफ्रिएपछि…
फोटो : बेदबहादुर खड्का

  • बेदवहादुर खड्का-

घटना २०७५ साल वैशाख अन्तिमतिरको हो। घडियाल गोहीको गुँड के कस्तो अवस्थामा छ भनी अनुगमन गर्न म र सोमलाल बोटे चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीको सौराहा घाटबाट माथितिर सानो काठको खोपुवा डुङ्गा लिएर सौराहा नजिकैको इचर्नी क्षेत्रको भिमपुर घाटतर्फ लाग्यौं।

पानीको बहावको उल्टो दिशामा डुङ्गा चलाउन कठिन र समय लाग्ने हुन्छ। वैशाख महिनाको, मध्य दिउँसोको चर्को घाममा दुईजना मात्रै डुङ्गा ठेल्दैठेल्दै जाँदा घामको तिरीमिरीले रातो पहेलो जस्तो चिजवस्तु अलि टाढाबाट भिमपुर पुग्ने बेलामा देखियो। एक मनले मलाई लाइफ ज्याकेट पानीमा तैरिएको जस्तो लाग्यो।


सन्दर्भ - विश्व गोही दिवस


अर्को मनले बाघ देखेजस्तो पनि लाग्दै थियो। मैले सोमलालाई सोधें - के हो हेर त? भन्दै डुङ्गा धकेल्न रोकेर आफ्नो दुरबिनबाट हेरें। त्यो रातो पहेँलो पानीमा तैरिएको लाइफ ज्याकेटजस्तो देखिएको वस्तु बाघ नै रहेछ। गर्मीले बाघ पानीमा बसेको रहेछ। हामी उसो भए अगाडि नबढौ कि भन्ने लाग्यो तर सहयोगी सोमलालले केही हुदैन, जाउँ भन्नु भयो र त्यसैअनुसार हामी डुङ्गा ठेल्दै केही अगाडि बढ्दै गर्दा पानीमा लडीवुडी गर्दै गरेको बाघ बुरुक्क उफ्रेर राप्ती नदीको भित्तामा उक्लियो। हामी जाँदै गर्दा राप्तीको भित्तामा काँसघारीमा छेलिएर बाघले हामीलाई हेरेर बसेको रहेछ। बाघलाई उसको अगाडि पुगेपछि मात्र हामीले देख्यौं।

सुख्खा मौसमको राप्ती नदीमा पानी त्यसै पनि कम थियो नै, त्यसमा पनि उत्तरतर्फको किनारतिर पानी सोहरिएर एकै ठाउँमा गएको हुँदा डुङ्गा पनि त्यतैबाट लानु पर्ने बाध्यता थियो। त्यहीं भित्ताको काँसमा लुकेर बाघले माथिबाट हामीतर्फ हेरिरहेको रहेछ। हामी त्यहीं तल पुगेपछी देखियो बाघ। माथि भित्तोमा बाघ र तल पानीमा हामी थियौ। बाघजस्तो दुर्लभ प्राणी भेटेका बेला फोटो खिचौं कि नखिचौ भएँ। तैपनि मनले मानेन। हात कमाउँदै भएपनि फोटो खिच्न क्यामरा बाघतर्फ तेर्साएँ। सहयोगीले ठेल्दै गर्दा डुङ्गा हल्लिएर पनि क्यामाराको फोकस मिलाउन अप्ठ्र्‍यारो महसुस भइरहेको थियो तर पनि दुई वटा फोटो खिच्न भ्याएँ। तेस्रो फोटो खिच्ने आँट गर्न सकिनँ किनकी क्यामराको सटरको आवाजले गर्दा बाघले खतरा महसुस गरी टाउको फुलाई सकेको अवस्था थियो। हाम्रो मन अतालिएको अवस्था थियो तै पनि हल्ला नगरीकन हतारहतार रन्थनिदै झण्डै १०० मीटर अगाडि रहेको भिमपुर घाटको बालुवाको ढिस्कोतिर उक्लियौँ। त्यहींबाट दुरबिनले बाघलाई नियाल्दै घडियाल गोहीको गुँडको पनि अनुगमन गर्‍यौं। सिधै बाघको अगाडिवाट हामी हिड्नु हुदैन्थ्यो। हामी या त फर्किनु पर्दथ्यो, या त परै केहीबेर रोकिनु उत्तम हुन्थ्यो। बाघको आगडिबाटै जानु हाम्रो साँच्चिकै मुर्खता थियो। 'बाघ भागी हाल्छ, केही हुदैन' भनेर संगै रहेका सहयोगीले भनेपछि विश्वास गर्नै पर्‍यो, पछि त्यही साथी नर्भस भए र मैले ढाड्स दिइरहनु पर्‍यो।


घडियालका बच्चा कोरलिँदै गर्दाको अवस्था।


घडियालको गुँड रहेको बालुवाको ढिस्कोबाटै दुरबिनबाट हेर्दा हाम्रो गतिविधि हेरेर बाघ त्यही बसेको देखियो। अव कसरी फर्कने, त्यही बाटो नफर्की अर्को उपाय थिएन। अब फसाद पर्‍यो! यसअघिको सोही किनारै किनार कसरी फर्किने? अघि केही हुदैन भन्ने डुङ्गा चालक सोमलाल आफै आत्तिए। डुङ्गालाई पानीमा छोडिदिउँ आफै बगेर तलतिर जादै गर्छ र हामी राप्तीको दक्षिणी किनारावाट पैदल गएर बाघ भन्दा तल पुगेर डुङ्गा अट्ठ्याउँला भनेर सोमलाल आफैले उपाय निकाले। त्यसै अनुसार त गर्‍यौं तर डुङ्गा बग्दै जाँदा बाघको अगाडि गएर अड्कियो। अब झनै फसाद पर्‍यो। टाढैबाट दुरबिनले बाघ र डुङ्गालाई हेरेर राप्ती किनारमा हामी दुई घण्टा पर्खिे रह्यौँ। भाग्यवस हल्का हावा लाग्यो र अड्केको डुङ्गा फनक्क टेढियो र बग्दै हामी भएकै ठाउँमा आइपुग्यो। खुशीको सिमा रहेन। प्रकृतिले पनि रमाउने अवसरहरु वन्यजन्तु गोठालालाई उपलव्ध गराई दिने रहेछन्। डुङ्गामा कुरा गर्दै आउँदा सोमलाल झनै नर्भस भए।

मैले नै सम्झाउँदै ल्याएर र सौराहा पुगेपछि उनलाई कोक खुवाएर उनको मनलाई शान्त शितल पारें र मेरो पनि अतालिएको मन बल्ल शान्त भयो। बाघको संयमताले हामी बाँच्यौ। बाघले चाहेको भए हामीलाई एक बुर्कुसीमा आक्रमण गर्न सक्दथ्यो, तर गरेन। अपवादबाहेक बाघले त्यस्तो आक्रमण गर्दैन भन्ने विश्वासले हामी जङ्गलमा डुलेका हुन्छौ। तर खतरा कहाँ छैन, के हामी गाडी वा हवाई जहाजवाट यात्रा गर्दा के सुरक्षित छौ? चोटपटक लागेर वा बुढ्यौलीका कारणले शिकार गर्न नसक्ने अवस्थामा पुगेको बाघलेमात्र जङ्गलमा मान्छे मारेको छ। बाघको घर जंगल हो भन्ने कुरा जान्दा–जान्दै हामी किन उसको घरमा जाने?

घडियालको गुँड किन अनुगमन गरिन्थ्यो?

निकुञ्ज भनेको प्राकृतिक खोर हो, जहाँ विभिन्न प्रकारका वन्यजन्तु एवं वनस्पति रहेका हुन्छन। त्यसै मध्येको घडियाल पनि एक जलचर हो। यसले नदीका बगरमा अण्डा पारी बच्चा कोरल्ने गर्दछ। अनुगमनको लागि हामी सधैजसो टण्टालापुर घाममा नदीको बगरमा हिड्थ्यौ। घडियालले बच्चा कोरल्नका लागि उसले पारेका अण्डा बालुवाभित्र खोस्रेर राख्छ। बालुवाको तापक्रमले अण्डाबाट बच्चा कोरलिन्छन् तर कोरल्ने समय भएपछि गुँडका अण्डावाट बच्चाले आवाज निकाल्छ र आवाजको आधारमा माऊले आफ्ना बच्चा खोस्रेर बाहिर निकाल्छ। त्यस समयमा कथमकदाचित नदीमा माछा मार्नेहरुको जालमा घडियाल बेरिन पुगेर वा यस्तै अन्य कारणले घाइते भएको अवस्थामा भने माऊले बच्चा कोरल्न आउन सक्दैन जसले बालुवाभित्र रहेका बच्चाहरु गुँडमै मर्छन्। यस्तो अवस्थामा बच्चाहरु बचाउनु पर्ने परम दायित्व हुन आउँछ। यो पंक्तिकारले कैयौं गुँडहरुमा रहेका घडियालका बच्चाहरुलाई गुँडबाट निकाली बचाएको उदाहरण अनगिन्ती छन्। र कहिलेकाही गुँडका अण्डालाई न्याउरी मुसाले खाईदिने भएकाले गुँड वरपर न्याउरी हिडेको पाईला पहिचान गरी गुँडलाई छेकवार गरी बचाउनु पर्ने हुन्छ। नदीका बगरमा नगई हाकिम पल्टेर कार्यालयमै बसेको भए यी कुराहरु गर्न सम्भव थिएन।


अनुगमनको क्रममा नदीमा खिचिएको घडियाल माउ र बच्चा।


उहिले उहिले पृथ्वीमा मानिसको चाप कम हुदा प्रकृति सन्तुलित रुपमा रहन्थिन्। त्यसबेला वन्यजीवहरु स्वतन्त्र रुपमा बाँच्दथे। तर आज त्यो अवस्था छैन, आज तिनै जीवजन्तु मानवीय सहयोग र भरथेग बिना वाँच्न सक्दैनन्। हो, त्यस्तै हो घडियालको लागि पनि भरथेग गर्नु पर्ने अवस्था आएको छ। त्यसैले हिजोको दिनमा टन्टलापुर घाम, वर्षाको भेल एवं जाडो गर्मी नभनिकन र रातमा समेत नदीका बगरमा बास बसी घडियालको अनुगमन कार्य गरिन्थ्यो भने आजको दिनमा समेत यसलाई निरन्तरता दिन अत्यन्त जरुरी रहेको छ। तर आजकल सम्बद्ध अधिकारीहरुमा यो अनुगमनको काम आफ्नो दायित्व र जिम्मेवारीभित्र पर्दैन भन्ने छ। उसो भए हाम्रा अग्रजले घडियाल गोही संरक्षणका लागि बगाएका पसिना वा गरेका कार्यहरु गलत नै थिए त? आजकल घडियालका गुँडबाट बच्चा कोरलिएको कुरालाई घडियाल संरक्षणको सफलताको रुपमा लिने गरिएको छ र यस सफलतालाई मिडियाहरुले पनि प्राथमिकताका साथ स्थान दिएको पाईन्छ। घडियाल गोही संरक्षणमा गुँडबाट बढीभन्दा बढी बच्चा कोरलिनु महत्वपूर्ण पक्ष त हो तर कोरलिएका घडियालका बच्चाहरुको वर्ष दिनको उमेरमा बाँच्ने दर के कति रह्यो भन्नेकुरा त्यो भन्दा बढी महत्व राख्ने हुन्छ। किनकि वर्ष दिनसम्म विशेष प्रबन्ध र निगरानी नगरेको खण्डमा घडियाल गोहीका गुँडका अण्डाबाट राम्रै परिमाणमा बच्चाहरु कोरलिएता पनि वर्ष दिनको उमेर सम्ममा के कति बच्चाहरु जीवित रही हुर्किए भन्ने कुरा अझ बढी महत्वपूर्ण देखिन आँउछ। यो पाटो जानकारीको अभावले मिडियामा समेत आएको पाईदैन।


घडियाल अनुगमनको सिलसिलामा, नारायणी बगरमा लेखक खड्का।


अन्तमा, हामी संरक्षणकर्मीहरुले माथि उल्लेखित घडियाल गोहीका गुँडहरु समयानुकुल अनुगमन गर्ने, बच्चा कोरल्ने र वर्षदिन सम्म विशेष हेरचाह गरि कोरलिएका बच्चाहरु बच्ने दर वृद्धि गर्ने कार्यहरु गर्न चुक्दै गर्‍यौ भने प्राकृतिक बासस्थानमा पुनर्स्थापना गरिने घडियाल गोहीको संख्या विस्तारै विस्तारै घट्दै जाने निश्चित छ र अन्त्यमा घडियाल गोहीको अस्तित्व बचाउन कठिन सावित हुने छ।

-खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन्। उनी गोही अध्ययन र संरक्षणमा चासो राख्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell