PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भुटानलाई हराउँदै नेपाली महिला क्रिकेट टोलीको सुखद सुरुवात



पहिलोपोस्ट

भुटानलाई हराउँदै नेपाली महिला क्रिकेट टोलीको सुखद सुरुवात
Photo: CAN

काठमाडौं: एसीसी महिला टी २० च्याम्पियनसिपमा भुटानलाई हराउँदै नेपालले सुखद सुरुवात गरेको छ। मलेसियाको क्वाललम्पुरस्थित युकेएम वाइएसडी क्रिकेट मैदानमा सम्पन्न खेलमा भुटानमाथि ५० रनको जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो। नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २४ रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले २१ र इन्दु वर्माले २० रनको योगदान दिए। बलिङतर्फ भुटानको सोनम पाल्डोनले सर्वाधिक ४ विकेट लिँदा अञ्जु गुरुङ र टासी छेकीले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको भुटानको ब्याटिङ जम्न सकेन। भुटानी टोली ४४ रनमा अलआउट हुन पुग्यो। भुटानका लागि छिरिङ ज्याङमोले १५ तथा एनग्वाङ छोदेनले ८ रन बनाउनु बाहेक अन्य ब्याटरको योगदान उल्लेखनीय रहेन। बलिङतर्फ नेपालकी संगिता राईले घातक बलिङ गर्दै २.४ ओभर बलिङगर्दै ६ रन दिएर ४ विकेट लिइन्। त्यस्तै कविता कुँवर र सीता राना मगरले समान २ विकेट लिँदा अस्मिना कर्माचार्य र इन्दु वर्माले समान १ विकेट लिए।

नेपालले अब १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २१ मा हङकङसँग खेल्ने तालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell