काठमाडौं : कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ। प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतको जमिनमा ‘कर्णाली सिंहदरबार’ बनाउने योजना अघि सारिएको हो।
प्रदेश सरकारका प्रवक्ता एवं योजनामन्त्री विन्दमान विष्टले ‘कर्णाली सिंहदरबार’ निर्माणका लागि आगामी आर्थिक वर्ष २०७९-८० मा १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। विष्टले एकीकृत प्रशासनिक सेवा प्रवाहका लागि प्रदेशका आठवटै मन्त्रालय एउटै हाताभित्र रहने संरचना निर्माण गर्न थालिने बताए।
‘हामीले गत आर्थिक वर्षमै प्रदेश सरकारका मन्त्रालयहरू एकै ठाउँमा बनाउन खोजेका थियौँ’, उनले भने, ‘त्यसका निम्ति सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारेको थियो। तर सङ्गठन संरचना फेरबदल हुँदा अब पुनः डिपिआर गरी निर्माणकार्यलाई अघि बढाउँछौँ।’
‘कर्णाली सिंहदरबार’को ढाँचामा संरचना निर्माण गर्दा प्रदेश सरकारका मन्त्रालय र अरु केही सरकारी कार्यालय पनि त्यसभित्र पर्न सक्ने जनाउँदै मन्त्री विष्टले त्यसको चारैतर्फ पर्खाल, त्यसभित्र मन्त्रालयसहित खुलामञ्च, सभाहल निर्माण गरिने बताए। यसका लागि आगामी आर्थिक वर्षको पहिलो महिनामै काम थालनी गरिने उनले जानकारी दिए।
मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यले ‘कर्णाली सिंहदरबार’ भित्र सभाहल बनाउन दुई करोड, पर्खाल निर्माणका लागि पाँच करोड र मन्त्रालय निर्माणका लागि आठ करोड छुट्याइएको बताए। ‘आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडिको जग्गामा ‘कर्णाली सिंहदरबार’ को संरचना निर्माण हुनेछ’, आचार्यले भने, ‘उक्त संरचना बनाउनका लागि साढे दुई बिघा क्षेत्रफलको जमिन छ र त्यसलाई बढाउन पनि सकिन्छ।’ रासस