बुटवल : बाढीले डाइभर्सन बगाउदा अवरुद्ध भएको बुटवल–बर्दघाट सडकखण्ड संचालनमा आएको छ। बिहीवार राति परेको वर्षाकाकारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल स्थित तुरिया खोला र रूपन्देहीको देवदहस्थित घोडाहा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्याएको थियो। डिभिजन सडक कार्यालय बुटवल कार्यालय प्रमुख जयलाल मरासिनीले तुरिया खोलामा यसअघि बनाइएको बेलिबृज मर्मत गरि कम क्षमताका (२० टन क्षमताका) गाडीहरुलाई अघि बढेको जानकारी दिए।
बेलिब्रिज संचालनमा आए पनि मालबाहक गाडीको लोड थेग्न नसक्ने भएकोले ठूला मालबाहक सवारी संचालन नगर्न उनले आग्रह गरे। घोडाहा खोलाको डाइभर्सन भने मर्मत गरी पुनः संचालनमा ल्याइएको मरासिनीले बताए।
गत भदौ ९ र १० गते परेको बेमौसमी अविरल वर्षाका कारण सुनवलमा रहेको तुरिया खोलाको पुल भाँचिएपछि अस्थाई बेलिब्रिज बनाई यातायात संचालन गरिएको थियो। पछि नयाँ पुल बनाउने क्रममा बेलिब्रिज हल्लीए पछि पुरानो पुलको उत्तरमा डाइभर्सन बनाएर सबै क्षमताका गाडीहरु त्यहीँबाट ओहोरदोहोर गर्दै आएका थिए।
बुटवल–बर्दघाट सडकखण्ड अवरुद्ध हुँदा बुटवलबाट पूर्व जाने गाडीहरू भैरहवा–परासी–भुमही सडक हुँदै आवतजावत गर्दै आएका छन्। बुटवल–नारायणगढ सडक विस्तारका क्रममा रहेकाले रूपन्देही र नवलपरासीका अधिकांश पुलहरु अहिले निर्माणाधिन अवस्थामा रहेका छन्। त्यसैले दर्जनौं खोलाहरुमा सवारी संचालनका लागि अस्थाई डाइभर्सन बनाइएको छ। सडक निर्माणको क्रममा बनाइएका डाइभर्सन बाढीले बगाएपछि गत वर्ष पनि दर्जनौं पटक बुटवल–नारायणगढ सडकखण्ड अवरूद्ध भएको थियो।