काठमाडौं : नेकपा (एमाले)का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाले काठमाडौं सकल्प जारी गरेको छ। एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिहरूको भेला बिहीवार र शुक्रवार काठमाडौंमा भएको थियो।
जनप्रतिनिधिहरूले आफूहरु शासक नभई जनताका सेवक हुने संकल्प व्यक्त गरेका छन्। आफूहरु नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमूना बन्ने संकल्प पत्रमा उल्लेख छ।
संकल्पमा भनिएको छ ‘हामीहरू सदाचारमा नमूना बन्नेछौँ। आफूले कुनै भ्रष्टाचार गर्ने छैनौँ र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौँ। भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा सङ्लग्नहरूलाई कानुनी कारबाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछौँ।’
त्यस्तै, समाजमा व्याप्त कुरीति, कुसंस्कार र सामाजिक विकृतिविरुद्धको अभियानमा अग्रपङ्क्तिमा उभिएर सामाजिक-साँस्कृतिक
रुपान्तरणको अगुवाइ गर्ने पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको संकल्प छ। पारदर्शिता, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गर्दै आम सरोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्ने जनप्रतिनिधिहरुको बाचा छ।
‘सेवाग्राहीलाई सहज, छरितो र सुलभ सेवा पुर्याउनु हाम्रो कर्तव्य हुनेछ। यसका लागि सेवा प्रवाहलाई प्रविधिमैत्री, बिनाझण्झटिलो र
पारदर्शी बनाउन लागिरहने छौँ। कुनै गुनासो आएमा सकारात्मक रुपमा लिएर तत्काल संबोधन गर्नेछौँ। बेरुजु समयमै फर्छ्योट गर्नेछौँ र जनताबाट प्राप्त हुने सबै प्रकारका राजश्वको पूर्ण एवं प्रभावकारी सदुपयोग गर्नेछौँ,’ संकल्प पत्रमा उल्लेख छ।
त्यसैगरी, पालिकाभित्र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने, आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गर्ने, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षण सुनिश्चित गर्ने र नागरिकका मौलिक अधिकार कार्यान्वयनमा अग्रणी भूमिका खेल्ने उनीहरुको संकल्प छ। नियुक्ति, सरुवा-बढुवा, सेवा सुविधा प्रवाह लगायतका विषयमा निष्पक्षता र योग्यतालाई आधार बनाउने उनीहरुको बाचा छ।