PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बाढी पीडितलाई राहत दिन योगेश भट्टराई र प्रेम सुवालको माग



पहिलोपोस्ट

बाढी पीडितलाई राहत दिन योगेश भट्टराई र प्रेम सुवालको माग
File Photo

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा सांसद योगेश भट्टराईले बिहीबार परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा गएको पहिरामा परी घाइते भएकालाई उद्धार गरी राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा उनले पहिराले घर बगाउँदा तुलसा अधिकारी र यशोदा अधिकारीको निधन भएको र विष्णु अधिकारीको आज बिहान हेलिकप्टरबाट उद्धार गरी कोसी अस्पतालमा उपचार भइरहेको जानकारी गराएका थिए। उनले घाइतेको सम्पूर्ण उपचारको प्रबन्ध गर्न सरकारसँग माग समेत गरेका छन्।

सांसद एकवाल मियाले बारा जिल्लामा नेकपा (माओवादी)का चित्रबहादुर क्षेत्रीको हत्याको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरेका छन्। उनले घटना हेर्दा व्यक्तिगत रिसिइवीका कारण भएको जस्तो देखिएको हुनाले सत्य पत्ता लगाई ३८ वर्षीय क्षेत्रीको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न माग गरे।

निजको हत्या घरभन्दा ५०-१०० मिटरमा मात्र भए पनि हत्या गरेर परिवारलाई जानकारी नगराई अस्पतालमा लगेर मृत घोषणा गरिएकोप्रति थप शङ्का उत्पन्न भएको र हत्यामा संलग्नको आशङ्कामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी गराए।

सांसद प्रेम सुवालले भक्तपुरका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम दिएर दोस्रो र तेस्रो किस्ता नदिएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनले तत्काल रकम उपलब्ध गराउन माग समेत गरेका थिए। उनले हनुमन्ते खोलाको दायाँबायाँका डुबान पीडितलाई क्षतिपूर्ति दिन माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell